७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: बिहीबार देखी चार सहरबाट पोखरामा रात्रिकालीन उडान हुने

काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट जहाज आउँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै बुद्ध एयर। तस्बिरः उमेश पुन/नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार देखि रात्रिकालीन उडान सुरु हुने भएको छ। रात्रिकालीन उडानका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सेड्यूल पास गराएको छ। बिहीबार पहिलो दिन चारवटा रात्रिकालीन उडान हुने विमानस्थलले बताएको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार रात्रिकालीन उडान गरेर विहीबार बेलुकी पोखरा आएका जहाजको पोखरामै रात्रि विसान हुनेछ। उनका अनुसार काठमाडौं, भद्रपुर, नेपालगञ्ज र भैरहवाबाट विहीबार बेलुकी जहाज पोखरा आउनेछन्। ती जहाजको पोखरामै रात्रि विसान हुने उनले बताए। कर्णका अनुसार विहीबार काठमाडौंबाट पोखराका लागि बेलुकी ७ः३५, भद्रपुरबाट ६ः५५, नेपालगञ्जबाट ७ः३० र भैरहवाबाट ७ः२५ मा जहाज पोखराका लागि उड्नेछन्। ती जहाज पोखरामै बास बस्नेछन् भने भोलिपल्ट विहानै विभिन्न गन्तव्यका लागि उडान थाल्नेछन।

‘विहीबार चारवटा जहाजको पोखरामा रात्रि विसान हुन्छ। विभिन्न गन्तव्यबाट पोखराका लागि जहाज उड्नेछन,’ कर्णले भने, ‘यसले पोखरामा जाने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुनेछ।’ रात्रिकालीन उडानले पोखरा घुम्न जाने पाहुनाको यात्रालाई सहज बनाउने उनले बताए। दिनभरको काम सकेर बेलुकी पोखरा पुग्ने पाहुनालाई यो उडानले सहज हुने उनले बताए।

‘दिनभर कार्यालयको काम सक्ने र बेलुकी पोखरा फर्किनेका लागि सहज हुन्छ। बिदा सदूपयोग गर्न पोखरा जाने पर्यटकलाई पनि रात्रिकालीन उडानले सहज बनाउनेछ,’ उनले भने। पोखराबाट अहिले काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज दिउँसोको समयमा मात्र उडान हुँदै आएको थियो। अहिले पोखराबाट विभिन्न सहरमा दिउँसोको समयमा मात्र उडान भईरहेकोमा अब भने रात्रि विसान गरेका जहाजबाट बिहानै उडान थालिने कर्णले बताए।

पोखरा विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विहीबार बुद्ध एयरले विभिन्न गन्तव्यबाट पोखरामा बिसान हुनेगरि जहाजको उडान तालिका तयार पारेको बताईन। ‘विभिन्न चारवटा सहरबाट विहीबार बेलुकी पोखरामा बुद्धका जहाज आउँदैछन,’ सुवेदीले भनिन्, ‘विहीबारदेखि औपचारिक रुपमा रात्रिकालीन उडान सुरु हुँदैछ।’ अहिलेसम्मको उडान तालिका अनुसार अहिलेसम्म बुद्ध एयरले मात्र रात्रिकालीन उडान गर्नेगरि सेड्यूल तयार पारेर स्वीकृत गराएको छ। बुद्धका सबै उडान बेलुकी ८ बजेभित्रै सकिने उनले बताईन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध बाहेक यती, सौर्य, श्री लगायतका एयरलाइन्सले पनि उडान गरिरहेका छन्। तर बुद्धले मात्र अहिले रात्रिकालीन उडानका लागि सेड्यूल स्वीकृत गराएको सुवेदीले जानकारी दिईन

अहिलेसम्म दिउँसोको समयमा मात्र पोखराबाट उडान हुने गरेकोमा अब रात्रिकालीन उडान पनि हुने उनले बताईन। ‘अहिलेसम्म दिउँसो चारबजेपछि पोखराबाट उडान हुँदैन वा पोखरा जान पाइदैन भन्ने सन्देश फैलिएको थियो। तर, अब भने रात्रिकालीन उडान हुन्छ भन्ने सन्देश फैलाउन जरुरी छ। अत्यावश्यक कामले आउजाउ गर्नेलाई यसले सहज बनाउनेछ। त्यसबाहेक पर्यटनमा पनि उत्तिकै योगदान दिनेछ।’ उनले पनि बुद्ध एयरले पोखरामा जहाजको रात्रिकालीन विसान हुने जानकारी दिईन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ देखि संचालनमा आएको हो। विमानस्थल अहिले दिउँसोको समयमा चारबजेसम्म मात्र संचालन हुँदै आएको थियो। तर, अब भने रातीको समयमा आवश्यक अनुसार उडान र अवतरण संचालन गर्न सकिने त्यसको अभ्यास पनि भईसकेको उनले बताईन।

पोखरा–भद्रपुर रुटमा शुक्रबार पहिलो उडान 

बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी अनुरुप शुक्रबार बिहान पोखरा–भद्रपुर रुटमा उडान थाल्दैछ। पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वि भेगबाट पोखरासम्म आउजाउ गर्ने आन्तरिक पर्यटकलाई सहज हुने बुद्ध एयरका प्रवक्ता कर्णले बताए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन बिसान हुने गरि बुद्धले जहाज पोखरामा राख्दैछ। तिनै जहाजबाट विभिन्न गन्तव्यसम्म बिहानै उडान गर्ने तयारी थालेको कर्णले बताए।

कर्णका अनुसार पोखराबाट शुक्रबार बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ। भद्रपुरबाट पोखराका लागि भने विहीबार बेलुकी नै ६ः५५ मा उडान भइसक्नेछ। ‘विहीबार बेलुकी भद्रपुरबाट पोखराका लागि जहाज आउनेछ। पोखरामै बास बसेको जहाज शुक्रबार पहिलो उडानमार्फत पोखराबाट भद्रपुरका लागि उड्नेछ,’ कर्णले भने। अहिले भद्रपुरसम्म हवाईजहाजबाट आउजाउ गर्नुपर्दा काठमाडौं हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो हट्ने उनले बताए।  

प्रकाशित: २४ फाल्गुन २०७९ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App