१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र पोखराका होटलको अग्रिम बुकिङ उत्साहप्रद छैन

पोखरा फेवातालमा डुंगा सयर गर्दै विदेशी पर्यटक। फाइल तस्बिर: नागरिक

अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी-अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखरामा यही सिजनमा विदेशी पाहुनाको आगमन बढ्ने गथ्र्यो। फेब्रुअरी १५ पछिको समयलाई त व्यवसायीले मुख्य सिजन नै मान्दै आएका थिए। त्यही अनुसार पाहुनाले अग्रिम बुकिङ गर्दा व्यवसायी मक्ख पर्दथे। यस पटक भने पाहुनाको अग्रिम बुकिङ उत्साहप्रद नभएको व्यवसायीले बताएका छन्।

यस सिजनको सुरुआतमा बुकिङ अपेक्षानुसार नहुँदा व्यवसायी उत्साही हुन नसकेको उनीहरूको भनाइ छ। टेम्पल ट्री रिसोर्टका सञ्चालक बसन्त गौतमका अनुसार १५ फेब्रुुअरीदेखि पर्यटनको मुख्य सिजन सुरु हुन्छ। त्यसपछि विस्तारै बढ्दै गएर मार्चको पहिलो साता उचाइमा पुग्ने गरेको थियो तर कोरोना भाइरस संक्रमणपछि त्यो गति बदलिएको छ। त्यसैमा पनि यो पटकको गति त झन् कमजोर रहेको उनले बताए।  

उनका अनुसार अहिले पोखराका होटलमा यस सिजनको अग्रिम बुकिङ ५० प्रतिशत पनि हुन सकेको छैन। यो निकै थोरै हो। ‘यतिबेलासम्म त अग्रिम बुकिङ ७० प्रतिशत भन्दामाथि उक्लिनुपर्ने थियो तर मुस्किलले करिब ५० प्रतिशत नजिक छ,’ उनले भने, ‘यो सुखद होइन। व्यावसायिक क्षेत्रमा ठूलो मार खेपेको पर्यटन क्षेत्रले अझै सकस खेप्नुपर्ने संकेत देखाएको छ।’

गौतमका अनुसार अहिलेको पोखराको होटलको अकुपेन्सी अनुपात बढीमा २० प्रतिशत मात्र रहेको छ। समय अनुसार यो ’अकुपेन्सी रेट’ पनि निकै कम हो। ‘अग्रिम बुकिङले ७० प्रतिशत र अकुपेन्सी ५० प्रतिशत रहेको भए बल्ल हामीले केही सहज अनुभूति गर्न पाउँथ्यौं तर अहिले अकुपेन्सी बढीमा २० प्रतिशत मात्र छ। अग्रिम बुकिङ ५० प्रतिशतभन्दा तल छ,’ गौतमले भने, ‘व्यवसायी सन्तुुष्ट हुने ठाउँ नै रहेन।’

उनका विचारमा कोभिड संक्रमण सुरु हुनुअघिको जस्तो अग्रिम बुकिङले गति लिन नसकेकै हो। २०२३ को अर्काे सिजन (सेप्टेम्बर-नोभेम्बर) देखि पर्यटनमा निकै सुधार हुने अपेक्षामा व्यवसायी रहे पनि त्यो समय अझै पछाडि धकेलिने देखिएको गौतमले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली सिजन सुरु भए पनि अग्रिम बुकिङले सन्तुष्टि दिने छाँट नदेखाएको बताउँछन्। ‘सिजन सुरु भइसक्दा पनि अग्रिम बुकिङ राम्रो र सन्तोषजनक हुन सकेन। यतिबेला पर्यटक बढ्ने र बुकिङ पनि बढ्दै जानुपर्ने समय हो तर त्यो अनुसार देखिएको छैन,’ पराजुलीले भने, ‘यो मार्च र अप्रिलका लागि पनि राम्रो बुकिङ हुने बेला हो तर अहिलेसम्म त्यसरी पाहुना आउने संकेत देखिएको छैन।’

उनले पनि पोखराका होटलको यो बेलाको अकुपेन्सी करिब २० प्रतिशत मात्र रहेको बताए। ‘यो बेला ५० प्रतिशत अकुपेन्सी पुुग्न सकेको भए बल्ल सिजनको लाभ पाउन सकिन्थ्यो तर खर्च पनि धान्न सकस हुने गरी २० प्रतिशतमै रोकिएको छ,’ पराजुलीले भने, ‘होटलको सञ्चालन खर्च धान्न कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा त्यो हुन सकेन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि पदयात्राका लागि आउने पर्यटकको अग्रिम बुकिङ कमजोर रहेको बताउँछन्। ‘चिनियाँ पाहुना आउनै पाएनन्, त्यसले गर्दा पनि मार परेको छ। चिनियाँ पाहुना आउँदा व्यवसायीलाई राहत मिलेको थियो तर कोभिडपछि चिनियाँले नेपाल आउने अनुमति पाएका छैनन्,’ सुवेदीले भने, ‘पदयात्राका लागि आउने पर्यटकको सिजन भए पनि अहिले पर्यटकको संख्या बढेको छैन। यसले व्यवसायीलाई निराश बनाएको छ।’ मुख्य सिजनमा पनि विदेशी पाहुना नआँउदा पर्यटन क्षेत्र उत्साही हुन नसकेको उनले बताए।

हवाई दुर्घटनापछि एकाएक घटे विदेशी पर्यटन व्यवसायीका अनुसार हवाई दुर्घटनाले कुनै पनि मुलुकको पर्यटनमा नराम्रो असर पार्छ। माघ १ गते पोखरामा भएको हवाई दुर्घटनाका कारण पर्यटन क्षेत्रमा पनि उत्तिकै असर परेको छ। जहाज दुर्घटनाको समाचार अन्तर्राष्ट्रिय मिडियामा छाएकाले पनि त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीले बताउँदै आएका छन्।

होटल संघका केन्द्रीय सदस्य पराजुली पोखरामा हवाई दुर्घटना हुँदा जापानमा थिए। दुर्घटनाको सन्देश फैलिएलगत्तै जापानमा सञ्चारमाध्यमले पोखराको हवाई दुर्घटनाबारे निकै नै बहस चलाएका थिए। दुर्घटनाको सम्भावित कारणबारे विज्ञ पाइलट र प्राविधिक बोलाएर सञ्चारमाध्यममा बहस चलाएका थिए।

‘स्थलमार्गको दुर्घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई उत्तिसारो चाँसो हुँदैन तर हवाई दुर्घटना बाह्य मुलुकको चर्चाको विषय बन्छ,’ पराजुली भन्छन्, ‘पोखरामा भएको दुर्घटनाको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बहसको विषय बनेको थियो। त्यसले पोखराको छवि विगारेको छ। समग्र नेपालको हवाई उड्डयन क्षेत्रमाथि नै प्रश्नचिह्न खडा भएको छ।’

टेम्पल ट्री रिसोर्टका सञ्चालक गौतम पनि हवाई दुर्घटनापछिको सुरुको तीन साता त विदेशी पर्यटकको आगमन शून्यमा झरेको बताउँछन्। ‘हवाई दुर्घटनाको सुरुको तीन सातासम्म त पाहुना आगमन शून्य नै भयो। अब बढ्छ कि जस्तो देखिएको छ तर त्यो गति उत्साहजनक देखिन्न,’ उनले भने, ‘आन्तरिक र भारतीय पाहुना पनि दुर्घटनापछि प्रभावित भएका छन्।’

युद्ध र आर्थिक मन्दी कारण हुनसक्छ

व्यवसायीको अनुमानमा अहिले तेश्रो मुलुकका पाहुनाको घुमफिर पहिले भन्दा कम भएको छ। घुम्नै चाहेका पाहुना पनि नजिकका गन्तव्यसम्म मात्र गएका छन्। टाढा र खर्चिला गन्तव्यसम्म पाहुना नजाँदाको मार अहिले नेपालको पर्यटनले खेपिरहेको व्यवसायीको विश्लेषण छ। पर्यटन व्यवसायी बसन्त गौतम भन्छन्, ‘विभिन्न मुलुकमा युद्ध भइरहनु, कतिपय देशमा प्राकृतिक प्रकोप घट्नु, त्यसबाहेक कोरोना संक्रमणपछि रोजगार गुमाउँदा आयश्रोत कमजोर हुनु लगायतका कारणले पर्यटकीय गतिविधि कम भएको अनुमान छ।’

‘ट्राभल एजेन्सीले पनि अहिले बुकिङ नपाउनुको कारणबारे पर्यटकले लामो दूरीको यात्रा गर्नै नरुचाएको बताउने गरेका छन्,’ गौतमले भने, ‘अत्यावश्यक र नगई छाड्दिन भन्ने गन्तव्यमा मात्र पाहुना गएका छन्। नत्र खर्चिला र धेरै समय लाग्ने गन्तव्यसम्मको यात्रा गर्न पर्यटक इच्छुक छैनन्।’

लामो यात्रामा खर्च बढी हुने भएकाले पनि नेपालसम्मको यात्रा प्रभावित भएको उनको अनुमान छ। ‘नेपालसम्मको हवाई यात्रा पनि निकै नै महँगो हुँदा असर पारेको छ। कोरोनापछि आम्दानी गुमाउँदाको असर पनि प्रभाव परेको हो,’ उनले भने, ‘विश्वव्यापी रूपमा आर्थिक मन्दी लागेको छ। महँगी बढेको छ। त्यसको कारणले घुमघाममा कन्जुस्याँइ गरेको देखिन्छ।’

होटल संघका केन्द्रीय सदस्य पराजुली पनि आर्थिक मन्दीका कारण पर्यटकको घुमफिर कम भएको अनुमान गर्छन्। ‘कतिपय मुलुकमा युद्ध छ। ती मुलुक जलिरहेका छन्। विश्वव्यापी रूपमा महंगी बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढी आर्थिक गतिविधि नै कमजोर बनेका छन्। युद्ध, प्राकृतिक प्रकोप र महँगीका कारणले गर्दा पर्यटन क्षेत्र प्रभावित भएको अनुमान छ।’

प्रकाशित: ७ फाल्गुन २०७९ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App