१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: फेब्रुअरी२३ पछि रात्रीकालीन उडानका लागि बाटो खुल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाज। तस्बिरः उमेश पुन÷नागरिक

गत जनवरी एकदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी २३ पछि बल्ल रात्रीकालिन उडान गर्न पाइने भएको छ। हाल दिउँसोको समयमा मात्र संचालनमा रहेको यो विमानस्थल फेब्रुअरी २३ पछि रात्रीकालिन समयमा पनि संचालन गर्न सकिने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले बताएको छ।  

प्राधिकरणका पोखरास्थित प्रमुख बिक्रम गौतमका अनुसार वायुसेवा कम्पनिले चाहेमा फेब्रुअरी २३ पछि रात्रीकालिन उडानका लागि बाटो खुल्ने बताए। ‘वायुसेवा कम्पनिले चाहने हो भने रात्रीकालिन उडानका लागि अब धेरै समय कुर्नुपर्दैन, अहिलेसम्म दिउँसो ४ बजेपछि उडान नहुने थियो। अब त्यो समस्या हट्दैछ,’ गौतमले भने, ‘जनवरी १ देखि विमानस्थल संचालनमा आएको भएपनि रात्रीकालिन समयमा पनि उडान गर्न योग्य रहेको भन्ने पक्का गर्नका लागि फेब्रुअरी २३ सम्म कुर्नुपरेको हो।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी १ देखि व्यवसायिक उडान सुरु भएको थियो। तर, ती सबै उडान आन्तरिक थिए। त्यसबाहेक अहिलेसम्मका सबै उडान भिएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधि अनुसार संचालित थिए। भिएफआरमा ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा उडान र अवतरण गराइन्छ। तर, प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर (इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स) अनुसार भने फेब्रअरी २३ देखि मात्र उडान र अवतरण सुरु हुनेछ। आईएफआर प्रविधिमा उडान र अवतरण गराउँदा रातीको समयमा पनि विमानस्थल संचालन हुन्छ। त्यो बेला उडान र अवतरण गराउँदा उपकरणको प्रयोग गरिन्छ। प्राविधिक रुपमा भने विमानस्थल तयार रहेको उनले बताए।

‘रात्रीकालिन उडान संचालन गर्नका लागि अहिले कर्मचारीलाई प्रशिक्षण पनि दिईरहेका छौ,’ पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रको अवस्थाबारे सरोकारवालासँग बुधबार गरेको छलफलमा गौतमले भने। गौतमका अनुसार जनवरी १ देखि व्यवसायिक रुपमा विमानस्थलबाट उडान संचालन गरेपछि गत जनवरी १२ मा मात्र विमानस्थल सबैखाले हवाई उडानका लागि उडानयोग्य रहेको भन्दै प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो।  

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एआईपी प्रकाशन गरेको ४२ दिन नपुुगेका कारण रात्रीकालिन उडानका लागि समय पर्खिनुपरेको गौतमले बताए। प्राधिकरणले प्रकाशन गर्ने एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनिले आफ्नो उडानलाई पोखरासम्म बिस्तार गर्न सक्ने उनले बताए। प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधान अनुसार एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा त्यसलाई प्रकाशन गरेको ४२ दिनपछि मात्र विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य मानिने उनले बताए।

‘४२ दिनभित्र अन्तर्राष्ट्रिय समुदायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा सबै कुरा बुझिसकेको हुन्छ भन्ने मान्यता हो। विमानस्थलबारे अन्तर्राष्ट्रियस्तरमा जानकारी दिन सम्बन्धित मुलुकको हवाई सेवाको नियमनकारी निकायले एआईपी प्रकाशन गर्ने चलन छ। यो एकप्रकारको जर्नल जस्तै प्रतिवेदन प्रकाशन गरिने गौतमले जानकारी दिए। विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिने उक्त प्रतिवेदनमा उल्लेख गरिएका तथ्यांकका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने वा नसक्नेबारे जानकारी पाउने गर्छन।  

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि केही अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनिले चाँसो देखाईरहेको गौतमले जानकारी दिए। उनका अनुसार पछिल्लो समय पोखरामा उडान गर्नका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनिले चाँसो बढाईरहेका छन्। गौतमका अनुसार कोरियन एयर, फ्लाई दुबई, कतार, थाइ स्माइल, जजिरा, हिमालयन, बुद्ध एयरले चाँसो दिएका छन्। ‘सुरक्षाका हिसाबले हामी अब्बल छौ। हामीसँग अन्तर्राष्ट्रिय उडान संचालनका लागि सबै सुविधा छन। अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने भन्सार, अध्यागमन, क्वारेन्टिन, मनिचेन्जर देखि सबैखाले सुविधा रहेको छ,’ उनले भने।  

पछिल्लो समय पोखरामा भएको हवाई दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाप्रति आशंका गरिएको भएपनि केहीदिन अघि प्रकाशित दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदनले विमानस्थलको कारण दुर्घटना नभएको उल्लेख गरेकोले विमानस्थल सबै हिसाबले सुरक्षित रहेको सन्देश प्रवाह भएको गौतमले बताए। ‘विमानस्थलको कमजोरीका कारण दुर्घटना भएको होईन भनेर प्रमाणित भईसकेको छ,’ उनले भने।  

छलफलमा पोखराका व्यवसायीले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि दवाव दिनुपर्ने बताए। पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले लामो समयको मेहनत, आन्दोलन र दवावका कारण विमानस्थल बनेको भएपनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए। ‘अहिले आन्तरिक मात्र उडान भईरहँदा पोखराको पुरानो विमानस्थलको विकल्प मात्र बनेको तर, अन्तर्राष्ट्रिय स्वरुप नपाएको भन्ने सन्देश पुगेको छ,’ भट्टराईले भने, ‘कम्तिमा नजिकका र छिमेकी मुलुकसँग पोखरालाई हवाई सञ्जालमार्फत जोड्न सकियो भने त्यसले सफलता दिलाउने थियो।’ आन्तरिकका लागि नभइ अन्तर्राष्ट्रिय उडान संचालनका लागि विमानस्थल बनाउन पोखरेली लडेको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई अन्य ६ वटा प्रदेशसम्म सिधा हवाई माध्यमबाट जोड्ुनपर्ने बताए। हवाई दुर्घटना र स्थलमार्गको झन्झटले पोखरामा आन्तरिक पाहुना समेत नआएको र हवाईजहाज चढ्न पनि यात्रु डराएकोले अब त्यो त्रास कम गर्न सबै प्रदेशमा प्रवद्र्धनात्मक गतिविधि गर्न जरुरी रहेको श्रेष्ठले बताए।  

प्रकाशित: २५ माघ २०७९ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App