१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक छः अर्थविद्हरु

अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।  

मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । उनीहरुले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औंल्याएका छन् ।

अर्थविद्हरुले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भएपनि पूरक बजेट आवश्यक रहेको बताए ।

उनीहरुले अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए। उनीहरुले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षामार्फत आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए।  

अर्थविद् डा.डिल्लीराज खनालले अहिलेको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य समेट भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए। उनले वर्तमान सरकारले  कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ब्रेक थ्रु गर्नेगरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्ने बताए।

उनले भने,‘अर्थतन्त्रमा समस्या रहेकाले सरकारले खर्च कटौती गर्नु आवश्यक छ भने बजेटको आकार घटाउनुपर्छ । वर्तमान सरकारले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम ल्याएको छ । सरकारका साझा कार्यक्रमलाई पूरा गर्नुपर्छ। अहिलेको बजेटमा सबै कुराहरु छैन। साझा न्युनतम साझा कार्यक्रमलाई पूरा गर्ने गरी पूरक बजेट ल्याउनु आवश्यक छ । तर सरकारले पूरक बजेटको नाममा जथाभाबी,मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पैसा उभारेर सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम ल्याएको छ । त्यतातिर जाने गरी पूरक बजेट ल्याउदा मात्रै औचित्य पुष्टि हुन्छ नत्र अन्य समस्या ल्याउन सक्छ । अहिले पूरक बजेटको आवश्यकता हो । किनकी बजेटले लक्ष्य लिएको राजश्व संकलन नपुग्ने भयो। २ खर्ब बढीले राजश्व नभेटिन नसक्ने आँकलन आएको छ । खर्च कटौती गर्न पनि पूरक बजेट आवश्यक छ। वर्तमान सरकारले  कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति र विकृति,भ्रष्टाचार हाबी छ त्यसलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटिलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्छ । अन्यथा सरकारले परिणाम ल्याउन सक्दैन ।’

पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए। नेपालले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए।  

उनले भने,‘ सरकारले जसरी सकिन्छ बजारमा पैसा पठाउने काम गर्नुपर्छ । सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्छ। अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्छ । वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने अवस्था छैन । मुद्रास्फिति लक्ष्य अनुसार कायम राख्ने अवस्था छैन । अहिले सरकारले अर्थतन्त्रलाई जबरजस्ति दबाएर राखेको छ । बजारमा लगानीयोग्य रकम नभएर मान्छेले चाहेर पनि लगानी गर्न पाएको छैन । सरकारले बजारमा लगानीयोग्य रकम आउने उपाय गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले क्षमता अनुसार गरिरहेको छ । त्यसैले सरकारले बजारमा पैसा पठाउनको लागि पूरक बजेट ल्याउनै पर्छ । सरकारले पुरक बजेट ल्याएन भने मुलुकको अर्थतन्त्र चलायमान बनाएर अगाडि जान गाह्रो हुन्छ । सरकारले अनौपचारिक रुपमा हुने खर्च बढ्न दिनु भएन । बजारमा पैसा छैन तर कामहरु भइरहेको छ । औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र बढ्दै गएको छ। त्यसलाई बढ्न नदिनलाई रोक्नुपर्छ । त्यसको लागि भएपनि पुरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना,कार्यक्रम र निजी क्षेत्रलाई सहयोग हुनसक्छ ।’  

त्यस्तै,नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए। उनले वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको बताए। पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो,भत्किहाल्यो भन्ने गरिएपनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताउनु भयो। डा.नेपालले ८ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने देखिए बताए पनि क्षेत्रीले भने सरकारले तिब्ररुपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आँकलन गरे। उनले पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने,व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितीमा सुधार भएको बताए।

उनले भने,‘वर्तमान सरकार गठन गरेपश्चात एकताबद्ध भएर प्रधानमन्त्रीलाई साथ दिए । अब यो अपूर्व मौकालाई प्रधानमन्त्रीले पनि चुकाउन दिनुहुँदैन उपयोग गर्नुपर्छ । अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो,भत्किहाल्यो भन्ने अवस्था थियो । तर अर्थतन्त्रमा केही सकारात्मक पक्षहरु देखिएका छन् । रेमिट्यान्स बढेको छ । व्यापार घाटा केही घटेको छ । विदेशी मुद्रा सञ्चिती पनि बढेको छ । त्यसैले सरकारले आयातमा प्रतिवन्ध लगाएका वस्तुहरु खोलेको छ । घाटामा गएको शोधनान्तर पनि ३६ अर्ब नाफामा गएको छ । यही अवधिमा अघिल्लो वर्ष चालु खाता २ खर्ब २२ अर्ब घाटामा रहेछ ।  अहिले सुधार भइरहेकाले सरकारले दिलो ज्यान दिएर भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनशिलतामा सरकारले अगाडि बढ्नुपर्छ । सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च कसरी खर्च बढाउने भनेर ट्यास फोर्स नै बनाउनुपर्छ । अनुगमन गर्ने निकायले पनि रफ्तारमा काम गर्ने हो भने विश्व बैंकले ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । सरकारकानिकायले तिब्रताका साथ काम गरे ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्छ ।’

पूर्वगभर्नर क्षेत्रीले  सरकारले भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनसिलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए। उनले सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च बढाउने गरी ट्यास फोर्स नै बनाएर सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे। तर, अर्थमन्त्री विष्णुप्रसाद पौडेल पूरक बजेट ल्याउने पक्षमा देखिएका छैनन् । उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने दाबी गर्दै बजेट समिक्षामार्फत चालु खर्च अझै घटाइने संकेत गरेका छन्।

 

 

 

प्रकाशित: २३ माघ २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App