२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

गण्डकीका मुख्यमन्त्रीको प्रश्न: लेकसाइडमा मात्र किन गाडी चेक गर्ने ?

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग पर्यटनको अप्ठेरो सुनाउँदै व्यवसायी। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पर्यटकीय सिजनको मुखमा तीन साता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग अहिले बिस्तारको क्रममा छ। 

हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।

प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग छलफल गर्दै व्यवसायीले पाहुनालाई पोखरा आउने माहोल बनाइदिन प्रदेश सरकारसँग आग्रह गरे। पोखराको पर्यटन व्यवसाय गम्भीर संकटमा फसेको भन्दै व्यवसायीले प्रदेश सरकारले पहल गर्न सके आन्तरिक पाहुना भएपनि  भित्र्याउन बल पुग्ने बताए। त्यसबाहेक छिमेकी मुलुकबाट पाहुना भित्र्याउन पनि प्रदेश सरकारको भूमिका आवश्यक रहेको व्यवसायीले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन ठप्प हुँदा अर्बैको लगानी धराशायी हुने बाटोमा लागेको बताए। 

‘विमान दुर्घटनापछि त भारतीय पाहुना पनि आएनन्। दुर्घटनाबारे अफवाह फैलाउँदा भारतीय पाहुना पनि नेपाल आउन तर्सेका छन्,’ श्रेष्ठले भने, ‘भारतीय पाहुना  भित्र्याउनका लागि मुख्यमन्त्रीकै भ्रमण आवश्यक परेमा पनि तयार भइदिनुपर्‍यो।' 

त्यसबाहेक भारतका विभिन्न प्रदेशका मुख्यमन्त्रीलाई समेत सिधै पोखरा भ्रमण गराउन सके पर्यटन प्रवर्द्धन हुने व्यवसायीले मुख्यमन्त्रीसँग प्रस्ताव पनि राखेका थिए।  

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि कम्तीमा चीन र भारतका सहरसम्म सिधा हवाई उडान विश्वास हो। तर, त्यो पनि हुन सकेन,’ उनले भने, ‘चिनियाँ पर्यटक पनि आएका छैनन्। चिनियाँ पाहुना  भित्र्याउनउने हो भने पनि राहत पुग्थ्यो।’ श्रेष्ठले राजमार्ग बिस्तारमा ढिलासुस्ती भएको र राजमार्गको सबैजसो खण्ड भत्काएर भताभुंगा बनाउँदा यात्रा असहज भएकोले बिस्तारको कामलाई गति दिनका लागि दबाब दिन  प्रदेश सरकारले भूमिका निभाउनुपर्ने बताए।  

व्यवसायीको गुनासो सुनेपछि प्रदेशका मुख्यमन्त्री अधिकारीले राजनीतिमा तत्काल परिवर्तन हुने भएपनि अर्थतन्त्र परिवर्तन हुन समय लाग्ने बताए। 

‘राजनीति फेरबदल भइरहन्छ, तर, अर्थनीति र अर्थतन्त्र तत्काल फेरिँदैन। यसका केही नियम र सीमा हुन्छन्।’ उनले पनि हवाई दुर्घटनापछि यात्रु आधाको संख्यामा घटेको भन्दै आफुले पनि महसुस गरेको बताए। 

मुख्यमन्त्री अधिकारीले भारतको बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा घुम्न आउनका लागि निम्ता दिने सोच बनाएको जानकारी दिए। तर, आफ्नो भारत भ्रममा भने संघीय सरकारले अनुमति दिनुपर्ने बताए।  

अधिकारीले राजमार्ग बिस्तार हुँदै गर्दा पनि यात्रुले तोकिएकै समयमा यात्रा गर्न पाउनुपर्ने बताए। उनले राजमार्ग बिस्तारमा सघाएको एसियाली विकास बैंकका प्रतिनिधिसँग कुरा गरेको पनि जानकारी दिए। 

पाँच किलोमिटरको काम सकेर थप पाँच किलोमिटरमा काम गर्नुपर्ने हो, तर, यहाँ सबै खण्ड भताभुङ्ग पारिएको छ,’ उनले भने, ‘राजमार्ग बिस्तारबारे छलफल चलिरहेको छ।’

छलफलमा पदयात्रा व्यवसायीको संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का गण्डकी अध्यक्ष धर्मराज पन्थीले डाँडाकाँडामा भ्यूटावर ठड्याउनुको साटो त्यो बजेटले पदमार्ग व्यवस्थापन गर्नुपर्ने बताए। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोनापछि अरु सबैजसो क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको भएपनि पर्यटन क्षेत्र फर्किन नसकेको बताए। उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले पनि चासो दिनुपर्ने सुझाए।  

परिषद्का पूर्व अध्यक्ष सूर्य भुजेलले पछिल्लो समय पर्यटकीय क्षेत्र लेकसाइडमा सवारी चेकिङको नाममा पर्यटकलाई दुःख दिएको गुनासो सुनाए। ‘मादक पदार्थ सेवन गरेको निहुँमा हरेक दिन पर्यटकीय क्षेत्रमा सवारी चेकिङ हुन्छ। यसले पर्यटक अत्तासिएका छन्,’ उनले भने, ‘लेसाइडमा आतंककारी नै आएर बसेजस्तो व्यवहार गरिएको छ। भुजेलले पोखराबाट बाहिरिने नाकामा कतै सवारी चेकिङ नहुने तर, भित्रिने नाका र लेसाइडमा मात्र सवारी चेक गरेर दुख दिएको बताए।

भुजेलको कुरा सुन्नासाथ मुख्यमन्त्री अधिकारीले तत्कालै कास्कीका एसपी अजय केसीलाई फोन गरे। अधिकारीले एसपीलाई भने, ‘लेसाइडमा मात्र गाडी चेक हुने रहेछ, पोखराबाट बाहिरिने नाका दमौली, स्याङजा र पर्वततिर जाने सवारी चेक हुँदैनन् भन्ने गुनासो आयो। होटलका सटर पनि नौ बजे नै तान्न लगाउने गरिएको छ भन्ने पनि गुनासो छ। यसलाई समाधान गर्नुपर्‍यो।’ सबै पक्ष बसेर छलफल गरेर व्यवसायमा सहजीकरण गर्न मुख्यमन्त्री अधिकारीले प्रहरी प्रमुख केसीलाई निर्देशन पनि दिए। मुख्यमन्त्रीको सोधपुछपछि एसपी केसीले आफू काठमाडौं रहेको र फर्केपछि समस्या समाधान गर्ने बताए।

प्रकाशित: २१ माघ २०७९ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App