८ वैशाख २०८१ शनिबार
अर्थ

भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’

पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्। भारतको ग्रेटर नोयडामा आयोजना गरिएको अटो एक्स्पो २०२३ मा प्रसिद्ध मोटर उत्पादक कम्पनीहरूले विद्युतीय सवारी साधन प्रर्दशनीमा राखेर प्रयोगकर्ताको ध्यान तान्ने प्रयास गरेका थिए।

भारतका यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गड्करीले उद्घाटन गरेको अटो एक्स्पोमा टाटा लगायतका कम्पनीले विद्युतीय सवारीलाई प्राथमिकता दिएका थिए। विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण देखिन्थ्यो।

पेट्रोलियम पदार्थबाट गुड्ने गाडी उत्पादन गर्दै आएका कम्पनीहरूले विद्युतीय सवारी उत्पादन गरिरहेका छन्। कम्पनीहरूले एक्स्पोको अवसर पारेर विद्युत्बाट चल्ने सवारी साधन सार्वजनिक गरेका छन्।

टाटा, हुन्डाई, एमजी, बिवाइडी, किया, टोयोटा, मारूती सुजुकी, लेक्सस लगायतका दर्जनौं कम्पनीले विद्युतीय कार प्रर्दशनीमा राखेका थिए। अटो एक्स्पोमा भारतसहित विश्वका विभिन्न सवारी उत्पादक कम्पनीका करिब पाँच दर्जन सवारी साधन लञ्च गरिएको छ। अहिले सार्वजनिक गरिएका सवारी क्रमशः २०२५ सम्ममा बजारमा आउने गाडी उत्पादक कम्पनीले जनाएका छन्। ‘एक्सप्लोर द वल्र्ड अफ मोबिलिटी’ भन्ने नारासहित जारी एक्स्पोमा गाडी उत्पादक कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन्। ११ जनवरीबाट सुरु भएको एक्स्पो १८ तारिखसम्म चल्नेछ।

विश्वप्रसिद्ध टाटा मोटर्स कम्पनीले मात्रै एक्स्पोको अवसर पारेर करिब एक दर्जनभन्दा धेरै नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। टाटाले कर्भ एसयुभी इभी, अभिन्या सियारा इभी, टियागो इभी, सफारी र ह्यरियरको डार्क एडिसन, अल्ट्रोच, पन्च सिएनजी लगायतका नयाँ गाडी एक्स्पोमा राखेको छ। सार्वजनिक भएका गाडीहरूमध्ये केही तुरुन्तै बिक्रीका लागि बजारमा पठाइने छ भने केही आगामी वर्ष बिक्री सुरुवात गर्ने कम्पनीले जनाएको छ।

सुजुकीले एक्स्पोमा तीन वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ। कुप एसयुभी, ५ डोर जिम्नी र वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरेको हो। सुजुकी कम्पनीले वाईवाई–८ को कन्सेप्ट सार्वजनिक गरे पनि २०२५ सम्ममा मात्र बिक्रीमा ल्याउने जनाएको छ।

गाडी सार्वजनिक गर्न प्रसिद्ध सिने कलाकार पनि एक्स्पोमा आएका थिए। हुन्डाइको इलेक्ट्रिक कार आयोनिक–५ को अपग्रेडेट भर्सन भारतीय प्रसिद्ध सिनेकर्मी साहारुख खानले सार्वजनिक गरेका छन्। टोयटा कम्पनीले पनि विद्युतीय सवारीलाई प्राथिमकता दिएको छ। टोयटाले विजेडफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस गाडी ल्याएको छ। मारुती सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससँगै ग्रान्ड भिटारा, ब्रेजा नयाँ भर्जन सार्वजनिक गरेको छ। त्यसैगरी, एमजीले पनि एक्टर, मार्भल आर विद्युतीय गाडी ल्याएको छ।

अटो एक्स्पोे २०२३’ मा कम मूल्यका विद्युतीय गाडी सार्वजनिक गरिएको थियो। ‘ईभीए’ मोडलको सानो कार रोजाइमा परेको थियो। चालकसहित तीन जनाले यात्रा गर्न सकिने यो विद्युतीय कारमा सोलार जडान गरिएको छ। छतमा जडान गरिएको सोलार प्यानलले दैनिक १० किलोमिटर यात्रा गर्न पुग्ने ब्याट्री चार्ज गर्ने कम्पनीले जनाएको छ।

यो कारमा ४ किलोवाट आवरको ब्याट्री प्याक छ भने लिक्विड कुल्ड टेक्नोलोजी प्रयोग भएको अधिकतम मोटर पावर क्षमता १२ किलोवाट रहेको कम्पनीले जनाएको छ। ईभीए मिनी कारमा उत्कृष्ट ब्याट्री टेक्नोलोजीको प्रयोग गरिएको छ।

अटो एक्स्पोमा एमजीको युनिक–७ नामको हाइड्रोजन फ्युल सेल एमपीभीले सबैको ध्यान तानेको थियो। न्यु इनर्जी सवारीको रूपमा ब्याट्री इलेक्ट्रिक भेहिकलमा पहिलो पटक हाइड्रोजन फ्युल सेल भेहिकल एक्स्पोमा राखिएको थियो। एमजीको युनिक–७ मा ६.४ केजीको हाइड्रोजन सिलिण्डर जडान गरिएको छ। एक सिलिन्डिरले ६ सय ५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। ७ सिटे यो गाडीमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिएको छ।

एक्स्पो सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले आयोजना गरेको हो। सियाम भारतमा प्रमुख सवारी साधन र सवारी साधन इन्जिन उत्पादकहरूको प्रतिनिधित्व गर्ने संस्था हो। सियामले अटोमोबाइल उद्योगलाई प्रवद्र्धन गर्न द्विवार्षिक रूपमा ‘अटो एक्स्पो–द मोटर सो’ आयोजना गर्दै आएको छ। यसले भारतीय अटोमोबाइल उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, सवारी साधनको लागत घटाउन, उत्पादकत्व बढाउन र गुणस्तरको विश्वव्यापी मापदण्डहरू हासिल गर्न काम गर्दै आएको छ।

प्रकाशित: १ माघ २०७९ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App