८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव

पोखरामा बुधबार सुरु भएको पोखरा सडक महोत्सव। तस्बिरः नागरिक

आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।  

महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे। पोखरामा पाँचदिनसम्म चल्ने यो महोत्सवले ठुलो संख्यामा आन्तरिक पाहुना भिœयाउने अपेक्षा गरेको महोत्सव संयोजक तथा रेबान अध्यक्ष नरेश भट्टराईले बताए। ‘पोखराको यो महोत्सवले कम्तिमा तीनलाख आन्तरिक पाहुना भिœयाउने अपेक्षा छ,’ उनले भने, ‘पोखरामा आन्तरिक पाहुना भिœयाउन यो महोत्सवको ठुलो योगदान रहेको छ।’  

व्यवसायीका अनुसार कोरोनाकालमा पनि यो महोत्सवले निरन्तरता पाएको थियो। एकै समय र अवधिका लागि हुने गरेको यो महोत्सव अघिल्ला दुइवर्ष कोरोना त्रासका कारण तिनदिनमा झारिएको थियो। अहिले भने पाँचैदिन महोत्सव आयोजना गर्ने तयारीमा आयोजक भट्टराईले बताए। अध्यक्ष भट्टराईले पोखराको यो महोत्सवको सबैभन्दा बढी लाभ मझौला र साना आकारका होटललाई हुने गरेको बताए।  

महोत्सवका लागि अहिले पोखराको पर्यटकीय क्षेत्र लेकसाइड पुरै रंगीएको छ। पोखरालाई  आन्तरिक तथा बाह्य पर्यटकको ‘अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल’ बनाउनको उद्देश्यले पनि यो महोत्सव हुँदै आएको मेला संयोजक भट्टराईले बताए। लेकसाइड क्षेत्रको करिव ३ किमि क्षेत्रमा महोत्सव चल्नेछ। यो बेला विदेशी पाहुना अभाव हुने भएकोले पनि आन्तरिक पाहुना आउँदा व्यवसायीलाई सहज हुने गरेको उनले बताए।

‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सव ५ दिनसम्म फिस्टेल गेटदेखि खहरेचोक हुदै जरेवर लेकसाइडसम्म संचालन हुनेछ। ‘कोरोना महामारीबाट सुस्ताएको पर्यटन बिस्तारै लयमा फर्किन थालेको अवस्था छ। पर्यटक लोभ्याउने यो मौसममा हामी पनि पर्यटनमैत्री वातावरण तयार पार्न जुटिरहेका छौं,’ उनले भने।  

कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले महोत्सवमा आन्तरिक पाहुना भित्र्याउन सबैको सहयोग जरुरी रहेको बताए पोखराको यो महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका निभाउने उनले बताए। महोत्सव सुरु हुनुअघि लेकसाइडमा विभिन्न व्यवसायिक संघ संस्था,समुह, क्लव लगायतले झाँकी प्रस्तुत गरेका थिए। महोत्सवका लागि अहिले लेकसाइडको मुख्य सडकमै रेस्टुरेन्ट संचालन गरिएको छ। कोरोना संक्रमणले महोत्सवका अघिल्ला संस्करण अलि खल्लो अनुभूति भएकोमा यो पटक भने केही सहज हुँदा पाहुना आगमन अझै बढ्ने व्यवसायीको भनाई छ।

प्रकाशित: १३ पुस २०७९ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App