७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहजै बिक्री हुन्छन् घरेलु उपकरणबाट बुनिएका कपडा

शुक्लाफाँटा नगरपालिका-७ जुडाका जगतबहादुर सिंहले कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाएका छन्। बाउबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उनले पनि निरन्तरता दिँदै आएका छन्।

अल्लो, ढाका, बेम्बो र सुती धागोबाट कपडा बुनेर पोसाक तयार गरी बिक्री गर्ने कार्यमा सिंह लागेका छन्। ‘बाउबाजेले दार्चुला छँदा तान (हाते लुम) मा कपडा बुनाई गरी बेच्ने कार्य गर्दै आएका थिए’, उनी भन्छन्, ‘तराई झरेपछि केही वर्ष यस कार्यले निरन्तरता पाउन सकेन। कृषि प्राविधिकको पढाइ सकी विभिन्न संघसंस्थामा कार्य गरें तर त्यसबाट खासै सन्तुष्टि मिलेन। अहिले कृषिसँगै परम्परागत पेसालाई निरन्तरता दिने कार्यमा जुटेको छु।’

आफैंले तयार गरेको हाते लुमबाट कपडा बुनाइ काम हुने गरेको छ। परिवारका ६ जनाले कपडा बुनाइको काम गर्दै आएका छन्। दुई वर्षदेखि सञ्चालन हुँदै आएको जय लटिनाथ घरेलु कपडा उद्योगमा हाल उनले चार लाख लगानी गरी विस्तार गरेका छन्।

‘घरेलु उद्योगबाट उत्पादन गरिएका कपडा बजारमा सहजै बिक्री हुन थालेका छन्’, उनी भन्छन्, ‘उद्योगलाई आवश्यक पर्ने धागोलगायत कच्चा पदार्थ अभाव छ। धनगढी, बुटवललगायत क्षेत्रबाट धागो ल्याउनुपर्ने बाध्यता छ।’ बाह्य क्षेत्रबाट धागो र कच्चा पदार्थ ल्याएर कपडा तयार गर्दा मूल्य उच्च हुने गरेको छ।

यसैकारण पहाडी क्षेत्रबाट अल्लो ल्याएर घरमै प्रशोधन गर्ने उपकरण राखी धागो उत्पादन गर्ने सोच बनाएका सिंहको उद्योगबाट पुरुषका लागि कोट, पाइन्ट, सर्ट, महिलाका लागि दोपट्टा, कुर्ता, सुरुवाल, फ्रकलगायत कपडा उत्पादन हुने गरेको छ।

व्यापारीले अर्डर गरेअनुसार तयारी पोसाकका लागि सिलाइ मेसिन राखेर एकजनालाई रोजगार दिइएको छ। घरका छसहित सातजनाले उद्योगमा प्रत्यक्ष रूपमा रोजगार पाएका छन्। उद्योगबाट हाल दुई लाखभन्दा बढीको कपडा उत्पादन भइसकेको छ।

‘ग्राहकले उत्पादित कपडा रुचाउन थालेका छन्’, सिंह भन्छन्, ‘ग्राहकको मागअनुसार सस्तो कपडा उत्पादन गर्न कच्चा पदार्थ पाउन सकेका छैनौं।’

घरेलु उद्योगमा उत्पादन भएको कपडाबाट तयार गरिएको कोट पाँच हजार, पाइन्ट दुई हजार पाँच सय, सर्ट एक हजार दुई सय रूपैयाँमा बिक्री हुने गरेको छ। बिक्री मूल्यमा ३० प्रतिशतजति नाफा हुने गरेको छ।

‘स्वदेशी कच्चा पदाप प्रयोग गरी परम्परागत तरिकाले तयार गरिने कपडाको माग धेरै छ’, सिंहका बुबा विष्णुबहादुर भन्छन्, ‘घरमै तयार गरिएका पुरानै उपकरणको सहायताले कपडा बुन्दा ढिलो हुनाका साथै उत्पादन पनि थोरै हुने गरेको छ।’

आधुनिक तरिकाले कपडा बुन्ने उपकरणको व्यवस्था गर्न सकिए उत्पादन बढाउन सकिने उनको भनाइ छ। ‘स्थानीय स्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ।

त्यसका लागि मेसिन चाहियो’, उनी भन्छन्, ‘तत्काल आधुनिक मेसिन खरिद गर्न लगानी छैन। पुरानै पद्धतिमा काम गर्दै आएका छौं।’

विभिन्न सरकारी निकायमा अनुदान र आधुनिक तरिकाले कार्य गर्न तालिमको व्यवस्था मिलाइदिन आग्रह गरिए पनि कुनै पनि निकायले चासो नदिएको उद्योग सञ्चालक सिंहको गुनासो छ।

सिंह परिवारले परम्परागत रूपमा घरमै निर्माण गरिएका उपकरण प्रयोग गरी कपडा बुन्ने गरेको नगरपालिका क्षेत्रमै पहिलो भएको नगरपालिकाको उद्योग शाखा प्रमुख डिबी कुश्मी बताउँछन्।

यस कार्यलाई प्रोत्साहित गर्न प्रस्तावसहित आए शाखाका तर्फबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको उनी बताउँछन्। ‘घरेलु उद्योगलाई आधुनिक बनाउन नयाँ प्रविधि हस्तान्तरणमा घरेलु तथा साना उद्योग कार्यालयबाट पनि कार्यक्रम सञ्चालन भइरहेका छन्’, उनी भन्छन्, ‘नगरपालिकाले पनि घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ।’

घरेलु उद्योगबाट उत्पादित कपडाका तयारी पोसाक स्थानीय बजार झलारीसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ। रासस

प्रकाशित: ११ पुस २०७९ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App