७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

आन्तरिक पाहुनाः कोठाको मुल्यमा ‘बार्गेनिङ’ तर, खानपिनमा निस्फिक्रि

व्यवसायी भन्छनः पोखराको पर्यटनमा ४० प्रतिशत हिस्सा

पोखरा घुमघाममा रहेका आन्तरिक पाहुना। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमण पछि पर्यटन व्यवसायीको मुखबाट बढिजसो सुनिने शब्द हो–आन्तरिक पाहुना। हुन त व्यवसायीले कोरोना संक्रमण अघि पनि आन्तरिक पाहुनाको खुबै चर्चा गर्दथे, कोरोना पछि त आन्तरिक पाहुना भन्ने शब्दले झनै ‘भ्यालु’ पाएको छ। व्यवसायीका अनुसार आन्तरिक पाहुनाको महत्व पहिले भन्दा पनि अझै बढ्दै जानुमा आन्तरिक द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना भाइरस संक्रमण जस्ता कारक मुख्य हुन्।  

पछिल्लो समय कोरोनाले गर्दा विदेशी पाहुनाको आगमन शुन्यमा झ¥यो। विदेशीको अभावमा पर्यटन क्षेत्र सुनसानै बन्यो। कोरोनाले निम्त्याएको विदेशी पाहुनाको त्यो अभावलाई समेत आन्तरिक पाहुनाले केही हदसम्म पुरा गरिदिएको व्यवसायीले बताउने गरेका छन्। आन्तरिक पाहुनाको यही साथले पर्यटन क्षेत्र टिकिरहेको व्यवसायीको भनाई छ।

पर्यटन व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रुपमा ठुलो आकार मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मुल्यमा ‘बार्गेनिङ’ गर्छन, तर, खानपिनमा खुलेर खर्चन्छन्, पटक्कै कन्जुस्याँइ गर्दैनन्। पोखरेली व्यावसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको छ।  

पर्यटनमा यतिधेरै साथ दिने र व्यवसायीले पछिल्लो समय असाध्यै रुचाएका आन्तरिक पाहुना कति संख्यामा घुम्न आउँछन् त? यसको जवाफ कतै पाँइदैन। पर्यटन व्यवसायीले आन्तरिक पाहुनाकै भरमा पर्यटन क्षेत्र टिकेको बताएपनि कति संख्यामा घुम्न आउँछन् भन्ने यकिन तथ्यांक कतै राखेका छैनन। व्यवसायीले मात्र नभई सरोकारवाला निकायले पनि तथ्यांक राखेका छैनन। सबैले अनुमानको भरमा आन्तरिक पाहुनाको अनुमानित आँकडा बताउँदै आएका छन्।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र टिकेको हो, त्यसमा द्विविधा छैन, तर, कति संख्यामा आउँछन् भनेर भन्न सकिन्न। पोखराको पर्यटनको करिब ४० प्रतिशत हिस्सा आन्तरिकले ओगटेको हाम्रो अनुमान हो।’ सुवेदीका अनुसार आन्तरिक पाहुनाको त्यो हिस्सा कुनै बेला त ८० प्रतिशत हाराहारी पनि पुग्छ। दसै–तिहार र अंग्रेजी नयाँवर्ष जस्ता गतिविधिमा यहाँ आन्तरिक पाहुनाको हिस्सा निकै नै माथि उक्लिने उनले सुनाए।  

सुवेदीका अनसार सन् २००१ सम्म पोखरा क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा बढीमा पाँचप्रतिशत थियो। ‘मुलुक द्वन्द्वमा थियो, त्यो बेला विदेशी पाहुना निकै कम थिए, आन्तरिक भन्ने थिएनन्। पोखरा आएका स्वदेशी पनि लेकसाइडका होटलमा बस्दैनथे,’ उनले भने, ‘आफन्तकहाँ र पृथ्वीचोकका होटलमा पाहुनाको बास हुन्थ्यो। अहिलेजस्तो घुम्ने संस्कार पनि थिएन। व्यवसायी पनि लेकसाइड झरेका स्वदेशीलाई पाहुना मान्दैनथे। तर, जब द्वन्द्वका कारण विदेशी अभाव भयो, त्यसपछि बल्ल आन्तरिकले महत्व पाउन थालेका हुन्।’ उनका अनुसार द्वन्द्वले निम्त्याएको विदेशीको अभाव स्वदेशीको भरमा मात्र पुरा हुने भएपछि व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सन् २००१ देखि ‘जाउँ है पोखरा’ अभियान थालेका थिए।  

होटल संघको अगुवाइमा मुलुकका विभिन्न भागमा पुगेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आउ भनेर अभियान मार्फत बोलाउन थालिएको थियो। त्यही गतिविधिपछि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको उनले बताए। 

‘आन्तरिक पाहुना चिनाउनमा द्वन्द्वको भूमिका छ। द्वन्द्व नहूँदो हो त आन्तरिक पाहुनाले महत्व पाउन अझै ढिला भइसक्थ्यो,’ उनले भने, ‘अभियान थाल्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी बढीमा ५ प्रतिशत थियो, अहिले ४० प्रतिशत हाराहारीमा उक्लेको छ।’ विदेशीलाइ मात्र पाहुना देख्ने पोखराले द्वन्द्वको त्यो समयमा होटल खालि भएपछि बल्ल स्वदेशी पाहुनाको महत्व बुझेको थियो। त्यसपछि आन्तरिक पाहुना भिœयाउने गरि अभियान थालेको उनले बताए।  

पर्यटनमा यति ठुलो हिस्सा ओगटेको आन्तरिक पाहुनाको आउजाउलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा पर्यटन बोर्डले पोखरेली व्यवसायीसँग चलाएको छलफलमा पनि पाहुनाको यकिन संख्याबारे व्यवसायी र विज्ञले चिन्ता जनाए। बोर्डको आयोजनामा आन्तरिक पर्यटन प्रवद्र्धन रणनीतिक कार्ययोजना निर्माण विषयक छलफलमा बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘अहिले आन्तरिक पाहुनाको भरमा पर्यटन टिकेको छ। तर, कति संख्यामा पाहुना घुमफिरमा निस्कन्छन भन्ने यकिन छैन।’ उनले अगाािम दिनमा आन्तरिक पाहुनाको आगमन बढाउन के गर्ने भनेर अहिले सरोकारवालासँग छलफल चलाएको बताए।  

बोर्डका पोखरास्थित वरिष्ठ निर्देशक काशिराज भण्डारी पनि नेपाली नागरिकलाई आन्तरिक पाहुनाको पहिचान दिलाउनमा पोखराको भूमिका रहेको बताउँछन। ‘कुनैबेला पर्यटक भन्नाले विदेशी मात्र भनिन्थ्यो, अहिले त स्वदेशी झनै अब्बल पर्यटक बनेका छन,’ भण्डारीले भने, ‘कोरोना भाइरस पछि त आन्तरिकको महत्व झनै बढेको छ। विदेशी पर्यटक नहूँदा लगानी बचाउने आधार आन्तरिक पाहुना बनेका छन।’ उनले पनि तत्कालै कुनै न कुनै प्रक्रिया अपनाएर आन्तरिक पाहुनाको आगमन संख्या यकिन गर्नुपर्ने बताए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि सन् २००१ पछि बल्ल आन्तरिक पाहुनाले पहिचान पाउन थालेको बताउँछन। ‘सन् २००१ अघि त पोखरा आएका नेपाली पाहुना लेकसाइडका होटलमा बस्न पनि मान्दैनथे। व्यवसायीले पनि उनीहरुलाई पाहुनाको रुप दिँदैनथे,’ पराजुली भन्छन, ‘द्वन्द्वका कारण विदेशी अभाव भएपछि बल्ल पर्यटन क्षेत्रले आन्तरिक पाहुना पर्यटन चल्दैन भन्ने सोच बनाएको हो। त्यसपछि बल्ल आन्तरिक पाहुनालाई पनि बास बस्न दिन थालेका हुन।’

उनले पनि त्यो बेला निकै नै कम संख्यामा रहेको आन्तरिक पाहुनाको आगमन अहिले करिब ४० प्रतिशतमा उक्लेको बताए। ‘आन्तरिक पर्यटकको ४० प्रतिशत हिस्सा नियमित आकार हो। कुनै कुनै बिदाका दिन त ८० प्रतिशत पाहुना आन्तरिक नै हुन्छन। आन्तरिक पर्यटकको भरमा यो व्यवसाय टिकेको हो,’ उनले भने, ‘भूकम्प, नाकाबन्दीका बेला पनि आन्तरिक पाहुनाले नै पर्यटन बचाए।’ उनका भनाईमा अहिले व्यवसायीले विदेशीलाई जत्तिकै महत्व आन्तरिकलाई पनि दिन्छन। ‘पहिलो रोजाईका पाहुना आन्तरिक बनिसकेका छन्,’ पराजुलीले भने।  

पर्यटन बोर्डका कार्यकारी समिति सदस्य मदन आचार्य कुनैपनि कारणले अन्तर्राष्ट्रिय पर्यटनमा समस्या आउन सक्ने भएकोले अबको भरपर्दाे माध्यम भनेको आन्तरिक नै रहेको बताउँछन्। ‘विदेशी पाहुनाको कुनै भर छैन। सानोतिनो बाधा अवरोधले पनि विदेशीको आगमन प्रभावित हुन सक्छ,’ उनले भने, ‘अबको आधार भनेकै आन्तरिक हुन्। बरु कोरोनापछि दक्ष जनशक्ति अभावमा पर्यटन चलाउन समस्या भएको छ। अबको ध्यान आन्तरिक पाहुना भिœयाउनैमा दिनुपर्छ।’  

आचार्यका अनुमानमा नेपालमा वर्षभरिमा २० लाख हाराहारीमा आन्तरिक पाहुना घुम्छन। ‘अब त दसैंमा अतिरिक्त खर्च दिएजस्तै घुम्न जानका लागि सबै क्षेत्रले कर्मचारीलाई बिदा दिनुपर्छ, त्यो भएमा पर्यटन क्षेत्रलाई राहत पुग्छ,’ उनले भने, ‘पर्याप्त आन्तरिकलाई घुम्ने माहोल बनाउने हो भने विदेशी कुर्नै पर्दैन।’

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पनि अब आन्तरिक पाहुनाको आगमनलाई नै व्यवस्थित गर्नुपर्ने बताए। ‘विदेशीको भरमा मात्र रहँदा पहिला वर्षमा दुइवटा सिजन चल्थे। तर, अहिले आन्तरिका पाहुनाका कारण बाह्रैमास पाहुना पाइन थालेका छन,’ उनले भने, ‘हामीले विदेशी बिर्सेका होइनौ, तर, अब त आन्तरिकलाई अघि सार्नुको विकल्प छैन।’  

पर्यटन मन्त्रालयका पूर्व सचिव शंकरप्रसाद अधिकारीले पनि नेपाल मात्र नभई विश्वकै पर्यटन आन्तरिकको भरमा थेगिएको बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक भन्दा ६ गुणा बढी हिस्सा आन्तरिक पाहुनाले ओगट्छ। ‘आन्तरिक पाहुनाकै भरमा कोरोनापछि नेपालको पर्यटनले छिटो गति लिएको हो,’ अधिकारीले भने, ‘संख्या मात्र ठुलो नभई अन्तर्राष्ट्रिय पाहुनाबाट हुने भन्दा बढी आम्दानी पनि स्वदेशीबाटै छ।’ अधिकारीले पनि अब तत्कालै सबै सरोकारवाला निकाय मिलेर आन्तरिक पाहुनाको संख्या यकिन गर्नुपर्ने बताए।  

प्रकाशित: २५ मंसिर २०७९ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App