करिब १० हजार नेपालीहरु बस्ने पोर्चुगल र नेपालको सम्बन्ध बिस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको पोर्चुगलका लागि नेपाली अवैतनिक बाणिज्य दुत मुकर हमालले बताए। ‘दुई देशका नागरिकको सम्बन्ध बृद्धि गर्न कार्यक्रम आयोजना गरेका हौँ,' हमालले भने, ‘नेपाल प्रवर्द्धनको लागि पनि विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छौँ।'
कार्यक्रममा नेपालका पर्यटकीय स्थलको बारेमा प्रचार गरिएको थियो। भिडियो मार्फत काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय स्थलसँगै नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक विविधताको बारेमा विदेशीलाई जानकारी गराइएको थियो।
काठमाण्डौका पर्यटकीय स्थल बसन्तपुर दरवार स्क्वायर, विश्वकै अग्लो सगरमाथा, बुद्धको जन्मभूमी लुम्विनी, विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको बारेमा समेत विदेशीले चासो राखेका थिए। सो कार्यक्रममा ३५ पटक नेपाल भ्रमण गरेका जोओ गार्सियोले नेपाल घुम्नको लागि उपयुक्त गन्तव्य भएको बताए। ‘नेपालको प्राकृतिक सौन्दर्यताले मोहित पारेर म ३५ पटक नेपाल पुँगेँ,' उनले भने, ‘सबैलाई नेपालको सौन्दर्यतामा रमाउन आग्रह गर्ने गरेको छु।' नेपाल प्रति हुरुक्क हुने रुजीले नेपालीमै बोलेर नेपालीहरु माझ लोकप्रिय भएकी छिन्।
करिब १० हजार नेपाली रहेको पोर्चुगलमा लामो समय देखि नेपालीहरु कामदार र त्यहाँको राष्ट्रिय परिचय पत्र (आवासीय भिसा)लिएर बसेका छन्। कार्यक्रममा सहभागी सभासद गगन थापाले विदेशीहरु ीवदा मनाउन नेपाल भ्रमण गर्न निम्ता दिए। ‘हाम्रो मुलुक संविधान निर्माणसँगै शान्ति र स्थिरताको बाटोमा लागेको छ,' थापाले विदेशीलाई आग्रह गर्दै भने, ‘घुम्नसँगै यहाँहरुलाई लगानी गर्न पनि आग्रह गर्दछु।' थापाले नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।
पुरानो अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य पोर्चुगलमा नेपालप्रतिको आकर्षण बढाउनको लागि कार्यक्रम आयोजना गरिएको छ। नेपाली बाणिज्य दूतको कार्यालयले आयोजना गरेको कार्यक्रममा पोर्चुगल लगायत अन्य युरोपियन युनियनका मुलुकहरु बेल्जियम, स्पेन, नेदरल्याण्ड, फ्रान्स लगायत मूलुकका नागरिक सहित करिब एक दर्जन देशका विदेशी राजदुत पनि कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा पोर्चुगल विदेश मन्त्रालयका एसिया डेस्क प्रमुख डा. पेद्रो भियरालाई हमालले गौतम बुद्धको मुर्ती उपहार प्रदान गरिएको थियो। भियराले नेपालसँगको सम्बन्ध बढ्दै गएको बताउँदै आगामि दिनमा सहकार्य गरेर अघि बढ्ने बताए।
पोर्चुगलका विभिन्न शहरमा नेपालीहरुले रेस्टुरेन्ट, सुपरमार्केट,कृषि लगायतका क्षेत्रमा व्यवसाय समेत गर्दै आएका छन्। रेस्टुरेन्ट मार्फत पनि नेपालको खाना र पर्यटकीय स्थलको बारेमा प्रवर्द्धन गरिरहेको नेपाली व्यवसायी नरेन्द्र हमालले बताए। ‘नेपाली खाना मार्फत पनि पोर्चुगलका नागरिकलाई आकर्षित गरिरहेका छौँ,' उनले भने, ‘सेवा लिन आउनेलाई नेपालको बारेमा जानकारी गराएर घुम्न जान अभिप्रेरित गछौँ।'
बाणिज्य दुतकको कार्यालयले नेपालीको राहदानी निर्माण, भिसा प्रक्रिया, कागजात प्रमाणिकरणसँगै त्यहाँ रहेका नेपालीको व्यवसाय संचालन लगायतका काममा सहजिकरण गर्दै आएको छ। दुतावासले समय—समयमा विदेशीहरुसँग छलफल अन्तरक्रिया, नेपाल प्रवर्द्धनको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा फ्रान्सका लागि नेपालका सहायक राजदुत रामबाबु ढकालले पनि विश्वकै अग्लो सगरमाथा भएको देशमा आउन निम्ता दिए। ‘सगरमाथाको देशमा यहाँहरुलाई स्वागत छ,' पण्डितले भने।
पोर्चुगलका जनतालाई नेपालसँग नजिक बनाई पर्यटन सहित सहयोग आदान प्रदानमा टेवा पुर्याअउन नेपाल पोर्चुगल मैत्री संघ गठन गरेर दुवै देशका नागरिकलाई आबद्ध बनाएको हमालले बताए। मैत्री संघका अध्यक्ष समेत रहेका हमालले दुई देशको पारस्परिक सम्बन्ध बृद्धिसँगै व्यापारमा पनि बृद्धि गर्न पहल भैरहेको उनले बताए। गैर आवासीय नेपालीहरुले पोर्चुगलमा नेपाली दुतावास स्थापना गर्न पनि माग गरेका छन्। नेपालीको संख्या बढ्दै जाँदा दुतावास नहुँदा फ्रान्स जाने समस्यालाई अन्त्यगर्नको लागि दुतावास स्थापना गर्नको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित: १९ चैत्र २०७१ २१:५५ बिहीबार





