१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

हङकङका नेपालीलाई एसिया लिडरशीप अवार्ड

हङकङ— हङकङका नेपाली व्यावसायी वाईबी राई एसिया लिडरशीप अवार्डबाट सम्मानित भएका छन्। बुधबार हङकङमा आयोजित समारोहमा व्यावसायी राईसँगै उनको कम्पनी अंकल रस कफी सम्मानित भएको हो।बुधबार आयोजित विशेष समारोहमा नोवल पुरस्कार विजेता प्रोफेसर आकिरा सुजुकीले 'एसियन सोसल केयरिङ लिडरशीप अवार्ड' बाट वाईबी राईलाई सम्मान गरेका हुन् । जापानी नागरिक सुजुकीले २०१० मा रसायशास्त्रमा नोवल पुरस्कार पाएका थिए । हङकङमा अंकल रस ब्राण्डको कफी व्यावसाय गर्ने राईको कम्पनी डानिकाले 'आउटस्ट्याण्डिङ सोसल केयरिङ अर्गनाइजेशन अवार्ड' पाएको छ ।

एसियाका प्रोफेसरहरू सम्मिलित छ सदस्यीय निर्णायक मण्डलले छनोट गरेको सूचीमा पहिलो पटक नेपालीलाई समावेश गरिएको हो । नेपाल घर भोजपुरमा हुर्केर अहिले हङकङमा व्यावसाय गर्दै आएका राईले एसियाली अवार्ड पाउँदा गर्व लागेको बताए । 'मैले यो स्तरको अवार्ड पाउँछु भन्ने सोचेको थिइन', उनले भने, 'नोवल पुरस्कार विजेता प्रोफेसर आकिरा सुजुकीको हातबाट अवार्ड लिँदा ठूलो सम्मान पाएको महशुस गरेको छु ।'

संयुक्त राष्ट्रसंघ ग्लोवल कम्प्याक्ट तथा प्रिन्सिपल्स फर रेस्पोन्सेवल इन्भेष्टमेन्टसँग आवद्ध सोसल इन्टरप्राइज रिसर्च इन्स्टिच्यूटले अवार्ड प्रदान गरेको हो । डानिका लिमिटेडका प्रबन्ध निर्देशक राईले १७ वर्षदेखि अंकल रस ब्राण्डको कफी व्यावसाय गर्दै आएका छन् । हङकङको यूरोप मानिने डिस्कभरी वे र सेन्ट्रलमा उनका पाँच वटा कफी पसल र एउटा बार सञ्चालनमा छन्।

हङकङको पहिलो कफी ब्राण्ड मानिने अंकल रसले स्टारबक्स, प्यासेफिक कफी जस्ता अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । राईले होलसेल कफी रोष्टिङ कम्पनी तथा अंकल रस कफी एकेडेमी समेत सञ्चालन गरेका छन् । सामाजिक भेदभाव नगरी उनले आफ्नो कम्पनीमा नेपाली, थाई, चिनियाँ, फिलिपिनो, अष्ट्रेलियन, ब्रिटिश, पाकिस्तानी मूलका नागरिकलाई काम दिएका छन् ।

वातावरण संरक्षण, जातीय समावेशिता, सामाजिक उत्तरदायित्व, श्रम अधिकारको सम्मान, ग्राहकसँग राम्रो व्यवहारका आधारमा अंकल रस कफी तथा यसका सञ्चालकले एसियाकै प्रतिष्ठित यो अवार्ड पाएका हुन् । आफ्नो कम्पनीमा अहिले लगभग ४० जना कामदार रहेको उल्लेख गर्दै राईले भने, 'जाती वा नागरिकताको आधारमा हामी कसैलाई भेदभाव गर्दैनौँ, क्षमता र दक्षता हेरेर अवसर दिन्छौँ ।'

हङकङमा व्यावसाय गर्दै अमेरिकन सिटि युनिभर्सिटिबाट डिस्टेन्स लर्निङ एमबिए गरेका राईले दुई वर्षअघि हङकङ सरकारको प्रमुख सचिव क्यारी लामबाट 'फेमेलि फ्रेण्डली इम्प्लोयर्स अवार्ड' पाएका थिए । कफी व्यावसायी राई हङकङका उत्कृष्ट गल्फ खेलाडी हुन् । डिस्कभरी वे गल्फ सोसाइटीमा छ वर्षसम्म अध्यक्ष रहिसकेका उनी अहिले मानार्थ अध्यक्ष छन् । टेनिस खेलाडी राई हङकङ नेपाली टेनिस सोसाइटीको संरक्षक पनि हुन् । नेपाल चेम्बर अफ कमर्श हङकङका पूर्व उपाध्यक्ष उनी अहिले प्रमुख सल्लाहकार हुन् ।

हङकङमा यति प्रतिष्ठित अवार्ड पाउने राई पहिलो नेपाली हुन्, जसले यहाँको पुरै नेपाली समुदायलाई खुसी तुल्याएको बुधबार समारोहमा सहभागी भएका चेम्बरका अध्यक्ष डासुराम पराजुलीले बताए । सम्मान समारोहका अर्का सहभागी गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष ललित लिम्बुले भने, 'हङकङका सफल व्यावसायी राई एसियाली अवार्डबाट सम्मानित हुनु हाम्रा लागि गौरवको विषय हो, राईसँगै म हङकङका सबै नेपालीलाई बधाई दिन चाहन्छु ।'

नयाँ वर्षको अवसरमा बुधबार साँझ चेम्बर र एनआरएनएले आयोजना गरेको समारोहमा वाईबी राईलाई विशेष सम्मान गरिएको थियो ।

प्रकाशित: ३ वैशाख २०७३ २३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App