'सरकारसँग एक हजार स्थाई घर निर्माण गर्ने सम्झौता भएपछि हामी घरको डिजाइनसँगै त्यो परियोजनाका लागि आवश्यक पर्ने तेत्तीस करोड रुपैयाँ जुटाउने अभियानमा छौँ', सम्मेलनमा सहभागी हुन काठमाडौँ उड्नुअघि हङकङमा यम कुमार गुरुङ (त्रिलोक) ले भने, 'एक हजार घरमा सहयोग स्वरुप सोलार प्रणाली जडान गरिदिन हङकङकै एउटा कम्पनी तयार भएको छ ।'
एनआरएनएमा दुई कार्यकाल हङकङको अध्यक्ष तथा एसिया प्यासेफिक क्षेत्रको संयोजक रहिसकेका गुरुङ अहिले अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकार छन् । काठमाडौँमा एनआरएनए भवन निर्माणका लागि अर्थ संकलन तथा भूकम्पपछि राहत संकलनका लागि गुरुङले एसिया प्यासेफिक क्षेत्रको संयोजन गरेका थिए । हङकङ, मकाउमा व्यावसायिक सफलता पाइरहेको र जापानमा विस्तार हुने क्रममा रहेको गोर्खा एकता इन्टरनेशनल ग्रुपका अध्यक्ष गुरुङ एनआरएनएको कोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
७३ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनए सञ्जालमा हङकङ र बेलायत बढी सक्रिय देशमध्ये पर्छन् । एनआरएनले निर्माण गर्ने घरमा सोलार जडान गर्न तयार भएको हङकङको कम्पनीले घर बनाउन समेत सहयोगको प्रस्ताव ल्याएको जानकारी गुरुङले दिए । हङकङकै एक गैरसरकारी संस्थाले भूकम्पबाट प्रभावित बालबालिकालाई काउन्सिलिङ, शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने प्रस्ताव राखेको र त्यो सहयोग कसरी लिने भन्नेबारे एनआरएनएमा छलफल भइरहेको उनले बताए ।
गुरुङका अनुसार संविधानले गैरआवासीय नेपालीको नागरिकताको माग सम्बोधन गरेकाले यसपटकको सम्मेलन बढी उत्साहजनक देखिएको छ । यो उत्साहसँगै पुनर्निर्माण र पूर्वाधार निर्माणमा गैरआवासीय नेपालीको सहयोग र लगानी निकै बढ्न सक्ने गुरुङले बताए।
प्रकाशित: २५ आश्विन २०७२ ०३:४६ सोमबार





