यसैबीच नेपाली दूतावास लन्डनले समेत कार्यालय परिसरभित्र दीपावली गरेर नयाँ संविधानको स्वागत गरेको छ। बेलायतको लन्डन, रेडिङ, अल्डशरलगायतका क्षेत्रका नेपाली समुदायले हर्ष उल्लास मनाएका छन्।
गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी एजेण्डा समेटेर ल्याएको संविधान स्वागतयोग्य भएको बताए। पूर्वगोर्खासमेत रहेको गुरुङले बेलायतस्थित भूपूगोर्खाको नागरिकताको मुद्दालाई नयाँ संविधानले समेट्न प्रयास गरेको बताए।
यस्तै प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडाले एक प्रेश विज्ञप्ति जारी गर्दै नयाँ संविधानलाई नेपाली जनताको जीतको रुपमा लिनुपर्ने बताए। हन्स्लो काउन्सिलका भूपू उपमेयर तथा काउन्सिलर बिष्णुबहादुर गुरुङले देशमा नयाँ संविधान आएकोमा खुसी ब्यक्त गरे।
गैरआवासीय नेपाली संघका पूर्व प्रवक्ता हेमराज शर्माले मूलुकले नयाँ मोड लिएको बताए। उनले नयाँ संविधानले सबै नेपालीलाई स्वातन्त्रताको ग्यारेन्टी गरेकोमा खुसी ब्यक्त गर्दै संविधानको कार्यान्वन पक्षमा जोड दिन आग्रह गरे। गोर्खा आन्दोलन अभियान्त ज्ञानराज राईले नयाँ संविधान आउनु आफैमा स्वागतयोग्य कदम भए पनि पछाडी परेका समुदायलाई पूर्ण रुपमा संविधानले नसमेटेको प्रतिक्रिया दिए।
मर्गेज एडभाइजर ऋषि खनालले नयाँ संविधानमा ९० प्रतिशतभन्दा बढीको समर्थन पाउनु र मुख्य दलबीच एकता कायम गरेर आएको संविधान स्वागतयोग्य भएको बताए। उनले नयाँ संविधानले सबै पक्षलाई समेटर कार्यान्वन गर्नुपर्ने बताए। पत्रकार सुमन खरेलले नयाँ संविधानलाई शिशुको सँज्ञा दिए। शिशुका जन्म हुँदा केही स्वास्थ्य समस्या आइपर्छ नै। सही उपचारसहित शिशु हुर्कदै जाओस्, सिंगो परिवारमा खुसियाली छाओस् भनेका छन्। बेलायतस्थित डुराम युर्निभर्सिटीबाट विधावारिधि गरिरहेका विष्णु शर्माले लामो प्रतिक्षापछि संविधानसभाबाटै संविधान जारी हुनु स्वागतयोग्य कदम भए पनि संघीयतामा जानु राष्ट्रका लागि खतरा हुनसक्ने औंल्याए। उनले राष्ट्र लामो समयसम्म अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै नमिलेका कुरालाई जनसर्मथन लिएर आगामी दिनमा परिवर्तन गर्दै लैजान सक्ने बताए।
यसैबीच गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न पदाधिकारी बैठकले विश्वभरि छरिएका आफ्ना राष्ट्रिय समितिलाई विदेशस्थित नेपाली नियोगसँग सहकार्य गरी दीपावली गरी नयाँ संविधानको स्वागत गर्न निर्देशन दिएको छ।
नेपालका मुख्य दलहरुले बेलायतस्थित विभिन्न राजनीतिक दलका भातृसंस्थाहरु नयाँ संविधानको स्वागतका लागि विशेष कार्यक्रमको आयोजना गर्न निर्देशन दिएका छन्। नेपाली समुदायको बाक्लो बस्ती रहेको अल्डशट, फानबरो, पलम्बस्टेट, वेम्लीलगायतका क्षेत्रमा बस्ने नेपाली समुदायले नयाँ संविधानको स्वागतका लागि घरघरमा दीपावली गरेर स्वागत गर्ने तयारी गरेका छन् ।
प्रकाशित: ३ आश्विन २०७२ १०:३३ आइतबार





