यसअघि एनआरएनए आईसीसीको वैठकले भूकम्प पीडितलाई राहत प्रदान गर्न संघ अध्यक्ष शेष घलेको अध्यक्षतामा राहत समिति गठन गर्दै विश्वाभरका एनआरएनलाई राहत संकलन अभियानमा सहभागी हुन आह्वान गरेको थियो। बैठकले केन्द्रीकृत राहत रकम संकलन अभियान संचालन गरी एनआरएनकै पहलमा पीडितहरुसमक्ष राहत समाग्री पुग्नेगरी अभियान संचालन गर्ने निर्णय पनि गरेको थियो।
भूकम्प पीडितका लागि अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनमार्फत् २ करोड रुपैयाँ प्रदान गर्ने जनाइसकेका छन्। उपाध्यक्ष भवन भट्टले एक करोड रुपैयाँ प्रदान गरेका छन्। अन्य पदाधिकारी र बिभिन्न देशहरुबाट संकलित रकम करिव ७ करोड रुपैयाँ भइसकेको अध्यक्ष घलेले जानकारी दिए।
'हामीले कम्तीमा १० देखि १२ करोड रुपैयाँ जम्मा गरी राहत प्रदान गर्ने तयारी गरिरहेका छौं' अध्यक्ष शेष घलेले भने– 'तत्काल रहातका लागि पाल, कम्बल, खाद्यान्न तथा आधारभूत औषधी लगायतका सहायता प्रदान गर्दैछौं।'
सातवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने र गाविसको छनौट गरी राहत वितरण गर्ने तयारी भइरहेको जनाइएको छ। बैठकले सातवटै जिल्लाहरुका लागि समन्वयकर्ता चयन गर्दै स्थानीयतहमा समन्वय गर्ने जिम्मेवारीसमेत दिएको छ। सबै जिल्लामा राहत बितरणको नेतृत्व स्वयं अध्यक्ष घलेले गर्नेछन्।
एनआरएनहरुले गैरआवासीय नेपाली संघमार्फत पहिलो चरणमा सातवटा जिल्लाहरुमा प्रारम्भिक राहत प्रदान गर्ने र दोस्रो चरणमा केही गाविसमा पुर्ननिर्माणमा सहभागी हुने बताइएको छ।
प्रकाशित: १६ वैशाख २०७२ ०७:२६ बुधबार





