५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

उत्तर कोरियाद्वारा क्रुज मिसाइल निर्माण

सोल– आणविक हतियार निर्माणको आशंका गरिएको उत्तर कोरियाले क्रुज मिसाइल विकास निर्माण गरेको छ। उत्तर कोरियाली प्रोपोगन्डा मानिएको एउटा फिल्मले हालै विकास गरिएको क्रुज मिसाइलको दृश्य समेटेको छ।फिल्म हेरेपछि रक्षा विशेषज्ञले उत्तर कोरियाले क्रुज मिसाइल निर्माण गरेको जनाएका हुन्। उत्तर कोरियाली क्रुज मिसाइल ठ्याक्कै रुसको केएच–३५ मिसाइलजस्तै रहेको विश्वास गरिएको छ। आफूले विकास गरेको केएच–३५ क्रुज मिसाइल सन् २००३ यता रुसले प्रयोग गरिरहेकेा छ। 
क्रुज मिसाइल कम्प्युटर नियन्त्रित छोटो दुरीमा विशेष लक्ष ध्वस्त पार्न प्रहार गरिन्छ। उत्तर कोरियाले विकास गरेका र उसँग भएका अधिकांश मिसाइल ठूला र लामो दुरीका छन्। आणविक कार्यक्रम सञ्चालन र मिसाइललगायत शस्त्रास्त्र विकासका कारण संयुक्त राष्ट्र संघले उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दी लगाएको छ। अमेरिकासहित उसका पश्चिमा सहयोगी राष्ट्रहरू उत्तर कोरिया आणविक हतियार विकास र निर्माण गरिरहेको आशंका गर्छन्।
रक्षा विश्लेषकहरू भने उत्तर कोरियाले अहिलेसम्म मिसाइलमा जडान गरी प्रहार गर्न सकिने सानो आकारका आणविक शस्त्र निर्माण गर्न सफल नभएको बताउँछन्।
भर्खरै विकसित उत्तर कोरियाको सम्भावित क्रुज मिसाइल ५० मिनेट लामो फिल्ममा केही क्षणका लागिमात्र देखिएको थियो। मिसाइल सैनिकको होहल्ला, ट्यांकको गोलाप्रहार र नेता किम जोङ ऊनको हाँसोबीच झलक्क देखिएको थियो। फिल्ममा झलक्क देखेका भरमा रक्षा विश्लेषकले उत्तर कोरियाली क्रुज मिसाइल रुसको केएच–३५ मिसाइलको सुधारिएको संस्करण भएको बताएका छन्। केएच–३५ मिसाइलको प्रयोग पानीजहाज र युद्धपोत ध्वस्त पार्नका लागि गरिन्छ।
उत्तर कोरिया विशेषज्ञ जेफरी लेविसले नयाँ क्रुज मिसाइल उत्तर कोरियाली शस्त्र भण्डारको विनासक मिसाइलका रुपमा गरेको टिप्पणी बेलायती सञ्चारमाध्यम बिबिसीले उल्लेख गरेको छ। यसअघि उत्तर कोरियासँग यस्ता क्रुज मिसाइल भए नभएको प्रष्ट छैन। दक्षिण कोरियाली सञ्चारमाध्यमले आफ्नो देशको जलसेनाका लागि उत्तर कोरियाली क्रुज मिसाइल नयाँ सुरक्षा चुनौती भएको जनाएका छन्।

प्रकाशित: ३ असार २०७१ १९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App