'युरोपमा नेपाली अभियान, नेपाल र नेपालीको पहिचान' भन्ने नाराका साथ सुरु हुनेे सम्मेलनको उद्घाटन फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, स्थानीय अध्यायगमन विभाग प्रमुख चाविर वोस र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको जानकारी उपसंयोजक सापकोटाले दिए।
शनिबार र आइतबार दुई दिन चल्ने बैठकमा युरोप क्षेत्रका नेपाली कामदारका समस्या, आर्थिक कूटनीति, नेपालमा लगानी प्रवर्द्धनको सम्भावना, नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीलगायत विषयमा छुट्टाछुट्टै छलफल गरिने उपसंयोजक सापकोटाले बताए।
उद्घाटनसत्रलाई गैरअवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, प्रमुख संरक्षक रामप्रताप थापा, कानुनविद् विश्वकान्त मैनाली, स्पेनका लागि नेपाली कन्सुलर लुइस बेलबिसलगायतले सम्बोधन गर्नेछन्।
कार्यक्रममा युरोपस्थित नेपाली राजदूतहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, स्पेन सरकारका प्रतिनिधिलगायतको उपस्थिति रहने छ। बैठकलाई सफल पार्न सम्पूर्ण तयारी पूरा भइसकेको गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले जनाकारी दिए।
स्पेनमा धेरै नेपालीमा अध्यागमनसम्बन्धी समस्या छ, गिरीले भने, 'बैठकमा प्रान्तीय सरकारका अध्यागमन विभागका प्रमुख स्वयं बैठकमा उपस्थित हुने कार्यक्रम भएकाले स्पेनबासी नेपालीका लागि थप उपलब्धिमूलक हुने विश्वास गरिएको छ।'
गैरआवासीय नेपाली संघको विधानमा क्षेत्रीय संयोजकको अवधारणा आएपछि हरेक वर्ष युरोप क्षेत्रमा गठन भएका राष्ट्रिय समितिको संयुत्क बैठक वार्षिक रूपमा बस्दै आएको छ।
यस अघि क्षेत्रीय बैठकहरु सन २००७ को जुलाईमा लन्डनमा पहिलोपटक र त्यसपछि बेल्जियम (सन् २००८ जुलाई) मा, फ्रान्स (सन् २००९,अगष्ट)मा, प्रोतुगल (सन् २०१० अगष्ट) मा, नेदरल्यान्ड ( जुन २०१२) मा र स्विटजरल्यान्ड (सन् जुलाई २०१३ ) मा सम्पन्न भएका थिए।
यस्ता क्षेत्रीय बैठकहरु खर्चिला र कम उपलब्धि हुने गरेको गुनासो सुनिँदै आएको छ। गैरआवासीय नेपाली संघका विभिन्न क्षेत्रीय बैठक तथा सम्मेलनबाट गरिने निर्णय औपचारिकता मात्र सीमित रहने र कार्यान्वयन पक्ष फितलो हुने गरेको आलोचाना हुँदै आएको छ। क्षेत्रीय बैठकले गरेका निर्णयले गैरआवासीय नेपाली संघको भावी नीति तथा कार्यक्रम तय गर्न मद्दत पुग्ने बताइन्छ।
सन् २००३ मा औपचारिक रुपमा सुरु भएको एनआरएनका राष्ट्रिय समन्वय परिषद् नेपाली समुदाय बसोबास रहेको विश्वका ६९ मुलुकमध्ये युरोप क्षेेत्रमा मात्र २७ राष्ट्रिय समिति सक्रिय छन्। गैरआवासीय नेपाली संघभित्र करिब ४० लाख नेपाली र नेपालीमूलका व्यक्ति समेटिएको बताइन्छ।
प्रकाशित: २१ जेष्ठ २०७१ २०:०७ बुधबार





