मस्को, (एजेन्सी)– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता चीन भ्रमणमा जाने भएका छन्। पुटिनको भ्रमणमा रुस–चीनबीच ऐतिहासिक मानिएको ग्यास सम्झौता हुने अपेक्षा गरिएको रुसले मंगलबार जनाएको छ।
चीन भ्रमणका क्रममा पुटिन मे २० मा शंघाइ पुग्ने र त्यहाँ व्यापार तथा ऊर्जाबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने रुसले जनाएको छ। यसबारे विस्तृत विवरण भने दिइएको छैन। रुसका उपप्रधानमन्त्री अर्कादी दिभोर्काेभिचले गत महिना रुस–चीनबीच रुसको प्राकृतिक ग्यास चीनलाई बिक्री गर्ने वार्ता निष्कर्षमा पुग्ने जानकारी दिएका थिए।रुसको पेट्रोलियम कम्पनी गाजप्रोमले विज्ञप्तिमार्फत मेमा सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएको छ। गाजप्रोम तथा चाइना राष्ट्रिय पेट्रोलियम कर्पोरेसनबीच सन् २००९ मा रुसले चीनलाई वर्षेनी ७० अर्ब घनमिटर ग्यास ३० वर्षसम्म उपलब्ध गराउने विषयमा आधारसम्झौता भएको थियो।
ग्यासको मूल्यबारे मतभेद भएपछि वार्ता रोकिएका थियो। हालका वर्षमा रुसले चीनसँग निकट सम्बन्ध कायम गर्न खोजीरहेको छ। अमेरिका र उसका सहयोगी देशले रुसका अधिकारीलाई युक्रेन मामिलाका कारण प्रतिबन्ध लगाएपछि रुस–चीनले ग्यास खरिदबिक्री सम्झौता गर्ने प्रयास तीव्र बनाएका छन्।
दुवै देशले पूर्वी चीन समुद्रमा यसै महिना संयुक्त जलसैनिक अभ्यास गर्ने अनुमान छ। मे २१ मा पुटिनले एसियामा विश्वासिलो वातावरण बनाउन अन्तरक्रियात्मक सम्मेलन नामको क्षेत्रीय मञ्चमा भाग लिने भएका छन्। तर सम्मेलन आयोजना स्थलबारे भने केही पनि उल्लेख गरिएको छैन।
प्रकाशित: ३० वैशाख २०७१ २२:१८ मंगलबार





