सत्तारुढ दलका समर्थक पनि सडक प्रदर्शनमा उत्रे विपक्षीसँग फेरि झडप हुनसक्छ। विपक्षी दलका समर्थक र कार्यकर्ता ६ महिनायता यिङलक सरकारको राजीनामा माग्दै राजधानीमा सडक प्रदर्शन गरिरहेका छन्। विपक्षी प्रदर्शनकारीले फेब्रुअरीमा भएको आम चुनाव वहिष्कार गरी मतदानमा समेत अवरोध गरेका थिए। आम चुनावमा अधिकांश सिट यिङलकको दलले जिते पनि कैयौं चुनाव क्षेत्रमा भने विपक्षीको अवरोधका कारण मतदान हुन सकेको थिएन।
थाइल्यान्डमा राजधानीका राजावादी मध्यम वर्ग र दुर्गम ग्रामीण क्षेत्रका गरिब सर्वसाधारणबीच ६ महिनायता शक्ति संघर्ष चर्किएको छ। दुर्गम ग्रामीण क्षेत्रका बासिन्दा यिङलकको दललाई समर्थन गर्छन् भने विपक्षी दलका समर्थक बैंककका राजावादी मध्यम वर्ग छन्। राजधानीका राजावादी मध्यम वर्ग आफ्नो हातबाट राज्य शक्ति गुम्ने र गरिब ग्रामीण बासिन्दाको पहुँचमा जान सक्ने सम्भावनाका कारण त्रसित छन्।
यिङलक र उनका दाजु पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा दुवैलाई थाइल्यान्डका ग्रामीण गरिब सर्वसाधारण समर्थन गर्छन्। थाक्सिनलाई पनि सन् २००६ मा सेनाले प्रधानमन्त्रीबाट अपदस्थ गरेको थियो। उनीविरुद्ध पनि सन् २००८ मा अदालतले पद दुरुपयोग र भ्रष्टाचारको अभियोगमा जेल सजायको फैसला सुनाएपछि उनी विदेश पलायन भएका थिए।
थाई अदालतले सन् २००८ मा थाक्सिन मन्त्रिपरिषदका दुई मन्त्रीलाई बर्खास्त गरेको थियो। यसपल्ट पनि अदालतले बुधबार यिङलकविरुद्ध पनि त्यस्तै फैसला दोहोर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री यिङलकले मंगलबार अदालतमा उपस्थित भएर बयान दिँदै आफूमाथि लगाइएका आरोप अस्वीकार गरिन्। अदालतमा प्रधानमन्त्री सिनावात्राले आफूले कुनै कानुन नतोडेको र यस नियुक्तिबाट कुनै फाइदा नलिएको बताउनुभयो।
उनीविरुद्ध संसदको माथिल्लो सभाका सदस्यले मुद्दा दायर गरेका थिए। सांसदले तत्कालिन राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लाइश्रीलाई यिङलकले सन् २०११ मा प्रधानमन्त्री भएपछि आफ्नो दल प्यु थाईको फाइदाका लागि हटाएर नयाँ नियुक्ती गरेको आरोप लगाएका थिए।
अदालतका अध्यक्ष चारुन इन्टाचानले नौ सदस्यीय बेञ्चले मुद्दाबारे पर्याप्त सुनुवाइ गरेको र अदालत फैसला गर्न तयार रहेको मंगलबार बताए। उनले सुनुवाइ सकिएकाले बुधबार दिउँसो फैसला सुनाउने बताए।
सरकारविरोधी प्रदर्शनकारी अझै पनि सानै संख्यामा भए पनि राजधानीका सडकमा जम्मा भएका छन्। यिङलकका समर्थकले उनको पक्षमा प्रदर्शन गर्ने चेतावनी दिएका छन्। उनीहरुले प्रधानमन्त्री यिङलकविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी गरेका छन्। उनीहरुले प्रधानमन्त्रीको बयान लिने अधिकार अदालतसँग नरहेको पनि जिकीर गरेका छन्।
प्रकाशित: २३ वैशाख २०७१ २१:५४ मंगलबार





