जापानका रक्षामन्त्री इत्सुनोरी ओनोदेराले शनिबार पश्चिमी टापु योनागुनीमा राडार स्टेसन निर्माणको सिलान्यास गरेका थिए। योनागुनीले देशको मुख्य टापुबाट दक्षिण पश्चिमी टापु समूहमा सैनिक विस्तार गरिने सिलान्यासका क्रममा जानकारी दिए। रक्षामन्त्री ओनोदेराले भने, ‘सन् १९७२ मा अमेरिकाले ओकिनावा फिर्ता गरेपछि यस क्षेत्रमा गरिएको मुख्य सामरिक कार्यक्रम राडार केन्द्र स्थापनाका लागि गरिएको पहल हो। अब जापानको सुरक्षाका लागि टापु समूहमा बलियो सैन्य उपस्थिति रहनेछ।'
जापानको प्रधानमन्त्री निर्वाचित भएपछि सिन्जो आबेले जापानको रक्षा र सामरिक नीति परिवर्तन गर्दै लगेका छन्। चीनसँग टापु विवाद चर्कन थालेका बेला भएको चुनावमा उनले आक्रामक सुरक्षा रणनीति अपनाउनुपर्ने भन्दै आफू जापानको रक्षा गर्ने एजेन्डा अघि सारी चुनाव जितेका थिए। त्यसैअनुरुप उनले बनाएको नयाँ दीर्घकालीन रक्षा योजनाअनुसार योनागुनीमा सैनिक राडार स्टेसन स्थापना गरिन लागेको हो।
राडार स्टेसन स्थापनाबाट जापानको प्रतिरक्षा र जासुसी क्षमता वृद्धि हुनेछ। जापानले राडार स्टेसन निर्माण गर्न लागेको योनागुनी टापु चीन–जापान विवादित टापुबाट एक सय ५० किलोमिटर (९३ माइल) मात्र पर छ। योनागुनीमा राडार स्टेसन निर्माणपछि जापानले चीनको मुख्य भूमिमाथि र चिनियाँ लडाकु जहाजका साथै युद्धपोतको अनुगमन सजिलै गर्न सक्नेछ।
करिब ३० वर्ग किलोमिटरको योनागुनी टापुमा करिब १५ सयजतिको बसोबास छ। योनागुनी खासगरी जाँड, वस्तुभाउ, उखु र स्कुबा डाइभिङका लागि जापानमा चर्चित छ। योनागुनीमा सैनिक राख्ने प्रधानमन्त्री आबेको निर्णय हजारौं जापानी टापुमाथि चीनले कब्जा गर्नसक्नेतर्फ केन्द्रित भएको संकेत गर्छ।
सामान्यतया जापानले सुरक्षा रणनीतिबारे कुरा गर्दा उसका सत्रु राष्ट्र कुन कुन हुन् नकिटे पनि चीनबाट आफूलाई सुरक्षा चुनौती भएको भने लुकाउँदैन। तीव्र गतिमा आर्थिक र सामरिक शक्तिका रुपमा उदाइरहेको चीन कुनै दिन आफ्नो सहयोगी राष्ट्र अमेरिकाकै प्रतिस्पर्धामा उत्रने जापानको बुझाइ छ।
गएको वर्ष चीनले पूर्वी चीन समुद्रमा विवादित टापुसमेत समेटेर वायु रक्षा क्षेत्रको घोषणा गरेपछि जापान निकै आक्रोसित भएको थियो। त्यसपछि चिनियाँ जहाज तथा युद्धपोत र जापानी जहाज तथा युद्धपोतको लुकामारीजस्तै भएको थियो। जापानी रक्षा मन्त्रालयले यस वर्ष मार्चसम्म चिनियाँ जहाजले ४ सय १५ पल्ट विवादित टापुको चक्कर लगाएका जनाएको छ। चीनसँग बढ्दो टापु विवादबीच प्रधानमन्त्री आबेले ११ वर्षयता जापानको रक्षा बजेट निकै वृद्धि गरेका छन्। रक्षा बजेट वृद्धिबाट जापानी सेनामा जलसेनाको नयाँ एकाइ, लामो दुरीसम्म प्रहार गर्ने लडाकु जहाज, सामरिक हेलिकप्टरलगायत सामग्री थपिनेछ।
योनागुनीमा राडार स्टेसनको सिलान्यास अमेरिकी राष्ट्रपति बाराक ओबामाको जापान भ्रमणभन्दा ठिक चार दिनअघि भएको छ। ओबामा जापानी प्रधानमन्त्री आबेसँग विभिन्न विषयमा छलफल गर्न टोक्यो जान लागेका हुन्। १८ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले जापान भ्रमण गरेका छैनन्।
प्रकाशित: ६ वैशाख २०७१ २१:४२ शनिबार





