७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

दक्षिण कोरिया र उत्तर कोरियाबीच गोलाबारी

सोल,(एजेन्सी)– दक्षिण कोरिया र उत्तर कोरियाबीच विवादित पश्चिमी जल सीमा क्षेत्रमा सोमबार आपसमा गोलाबारी भएको छ।पश्चिमी सामुद्रिक सीमा क्षेत्रमा दुवै कोरियाबीच गोलाबारी भएको दक्षिण कोरियाले जनाएको हो। उत्तर कोरियाले दुवै देशबीचको लामो जल सीमा क्षेत्रमा सात चरणमा ‘लाइभ फायर' युद्धाभ्यास गर्ने आइतबार जनाएको थियो। यस्तो युद्धाभ्यासमा वास्तविक युद्धमा जस्तै गोलाबारी गरिन्छ। 
उत्तर कोरियाली युद्धाभ्यासका दौरान प्रहार गरिएका गोलाबारुद आफ्नो जल सीमा क्षेत्रभित्र खसेपछि आफूले पनि उत्तर कोरियाली क्षेत्रमा गोलाबारी गरेको दक्षिण कोरियाले जनाएको छ। 
पश्चिमी जल सीमा क्षेत्र दुवै कोरियाबीच विवादको विषय बन्दै आएको छ। कोरियाली युद्धपछि संयुक्त राष्ट्र संघले दुवैबीच पश्चिमी सीमा रेखा निर्धारित गरे पनि उत्तर कोरियाले त्यसलाई मान्यता दिएको छैन। सन् २०१० नोभेम्बरमा एउटा सीमावर्ती टापुमा उत्तर कोरियाली सेनाको गोलाबारीमा चार जना दक्षिण कोरियाली मारिएका थिए। त्यसबेला उत्तर कोरियाले सीमावर्ती टापु योआङपियोङमा गोलाबारी गर्दा दक्षिण कोरियाका दुई जना जल सैनिक र दुई जना सर्वसाधारण मारिएका थिए। उत्तर कोरियाले दक्षिण कोरियाली सैन्य अभ्यासको जवाफ दिएको जनाएको थियो।
उत्तर कोरियाले लाइभ फायर युद्धाभ्यासको सूचना दक्षिण कोरियाली जलसेनालाई फ्याक्सबाट दिएको थियो। फ्याक्समा उत्तर कोरियाले लाइभ फायर युद्धाभ्यास पश्चिमी जल सीमाका सात ठाउँमा गर्ने उल्लेख गरेको थियो। दक्षिण कोरियाले उत्तरबाट युद्धाभ्यासबारे पूर्व जानकारी दिइएको बताएको थियो। 
दक्षिण कोरियाले उत्तर कोरियाबाट आफ्नो सीमा क्षेत्रभित्र कुनै पनि विस्फाटक प्रहार भए तत्काल जवाफी कारबाही गरिने चेतावनी दिएको छ। दक्षिण कोरियाका सैनिक प्रवक्ताले उत्तर कोरियाबाट प्रहार गरिएका केही विस्फोटक आफ्नो क्षेत्रमा खसेपछि जवाफी गोलाबारी गरेको बताए। उनले दुवै देशबीच केही समय गोलाबारी भएको जानकारी दिए। गोलाबारीपछि दक्षिण कोरियाले सीमा क्षेत्रस्थित आफ्ना बासिन्दालाई अन्यत्र सारेको छ। 
यसै वर्षको सुरुमा विवादित जल सीमा क्षेत्रमा दक्षिण कोरियाको एउटा पानीजहाज डुबेको थियो। पानीजहाज डुब्दा ४६ जनाको मृत्यु भएको थियो। दक्षिण कोरियाले आफ्नो जहाज उत्तर कोरियाद्वारा डुबाइएको आरोप लगाएको थियो। उत्तर कोरियाले आरोप अस्वीकार गरेको थियो।
गएको बुधबार मात्र उत्तर कोरियाले मध्यम दुरीका रोडोङ ब्यालेस्टिक मिसाइलको परीक्षण देशको पूर्वी समुद्रमा गरेको थियो। परीक्षणको भोलिपल्टै १५ सदस्यीय सुरक्षा परिषदले परीक्षणबाट राष्ट्र संघीय प्रस्ताव उल्लंघन भएको भन्दै भर्त्सना गरेको थियो। भर्त्सनाबाट आक्रोशित उत्तर कोरियाले फेरि नयाँ आणविक परीक्षण गर्ने धम्की आइतबार दिएको थियो। 
अमेरिकालाई प्रत्युत्तर दिनका लागि उत्तर कोरियाले फेरि गर्ने युद्धाभ्यासमा मध्यम र लामो दुरीसम्म मारक प्रहार गर्नसक्ने आणविक मिसाइल अझै धेरै परीक्षण गर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको थियो। उत्तर कोरियाले नयाँ स्वरुपका आणविक हतियारको परीक्षण हुन सक्ने पनि उल्लेख छ। 
उत्तर कोरियाले चार वर्षयता जापानसम्म प्रहार गर्न सक्ने मध्यम दुरीका मिसाइल परीक्षण गरेकाछ। उसले दुई महिनायता लगातारजस्तै छोटो दुरीका मिसाइल परीक्षण गरिरहेकेा छ। राष्ट्र संघीय प्रस्ताव बेवास्ता गर्दै उत्तर कोरियाले सन् २०१३ फेब्रुअरीमा तेस्रो आणविक परीक्षण गरेको थियो। परीक्षणपछि उसले केही वर्षदेखि बन्द रहेका आणविक भट्टी फेरि सञ्चालनमा ल्याउने घोषणा समेत गरेको थियो।

प्रकाशित: १७ चैत्र २०७० २१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App