‘बेलायतको पछिल्लो स्याटलाइट विश्लेषणअनुसार २ सय ३९ जना यात्रुसहित उडेको एमएच३७० जहाज अन्तिमपटक अस्ट्रेलियाको पर्थभन्दा पश्चिममा पर्ने हिन्द महासागरको मध्यभागमा देखिएको थियो,' मलेसियाली प्रधानमन्त्रीले सोमबार आफ्नो वक्तव्यमा भनेका छन्।
‘जुन ठाउँमा जहाज अन्तिमचोटि देखियो, त्यहाँबाट टाढाटाढासम्म अवतरण गर्ने सम्भावित ठाउँ भेटिन्न,' उनले भने, ‘त्यसैले, अत्यन्त दुःखसाथ म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु कि, यो पछिल्लो स्याटलाइट तथ्यांकका आधारमा एमएच३७० उडान दक्षिणी हिन्द महासागरमा गएर दुर्घटना भयो।'
मलेसियाको यस राष्ट्रिय ध्वजावाहक उडानमा रहेका सबै यात्रुको परिवारलाई यसबारे जानकारी गराइसकेको उनले बताए।
यसअघि अस्ट्रेलिया, चीन र फ्रान्सका भूउपग्रहले अस्ट्रेलियाको पर्थबाट २ हजार ५ सय किलोमिटर दक्षिण–पश्चिमस्थित हिन्द महासागरको जलक्षेत्रमा केही यस्ता तस्बिर खिचेको थियो, जुन बेपत्ता जहाजको ‘सम्भावित अवशेष' हुनसक्ने आँकलन गरिएको थियो। त्यही तस्बिरका आधारमा अस्ट्रेलियाको सैन्य जहाज उक्त सम्भावित अवशेष भएको ठाउँतिर अघि बढेकै समयमा मलेसियाली प्रधानमन्त्रीबाट यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।
अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले सोमबार दिउँसो उक्त जलक्षेत्रमा ‘खैरो वा हरियो गोलाकार' तथा ‘सुन्तला रङको चारपाटे' वस्तु फेला परेको बताएका छन्। तीनवटा जहाज त्यस क्षेत्रतर्फ अघि बढेको उनले जानकारी दिए।
गत फागुन २४ गते शनिबारदेखि बेपत्ता मलेसिया एयरलाइन्सको उक्त जहाज क्वालालम्पुरबाट बेइजिङका लागि उडेको थियो। बोइङ ७७७ जहाजसँग मलेसिया र भियतनामबीच समुद्रमाथि ३५ हजार फिटको उचाइमा रहेका बेला अन्तिम सम्पर्क भएको थियो। उडान भएको एक घन्टाभन्दा कम समयमै उक्त जहाज राडारको सम्पर्कबाट बाहिरिएको हो। त्यसयता जहाजको अवस्थितिबारे विभिन्न अड्कल काटिए पनि यही ठाउँमा दुर्घटना भएको हुनसक्छ भनी किटान गरिएको थिएन। जहाज दुर्घटनाग्रस्त हुनुका कारण भने खुलाइएको छैन।
सुरुमा भूमध्य रेखाको उत्तरतर्फ जहाजको खोजी गरिएको थियो। यसबीच जहाज बेपत्ता हुनुअघि क्वालालम्पुरतर्फ फर्केको संकेत सैनिक राडारमा पाइएको थियो। त्यसपछि पनि लगातार फरक–फरक खालका सूचना आउने क्रम जारी रह्यो। अन्ततः आफ्नो नियमित उडान रूटभन्दा दसौं हजार किलोमिटर पर दक्षिणी हिन्द महासागरमा खोजी थालियो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार चीनको एक जहाजले त्यस ठाउँमा दुईवटा ‘अत्यन्त ठूलो' वस्तु र थुप्रै स–साना सेता टुक्रा थुप्रै किलोमिटरको दायरामा फैलिएर तैरिरहेको सूचना दिएको थियो। जहाजमा रहेका यात्रुमध्ये १ सय ५० जनाभन्दा बढी चिनियाँ छन्।
यसबीच अमेरिकी सैन्य विमान पनि दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स' खोजीमा जुटेको छ। ककपिट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडिआर) को संयुक्त रूपलाई ब्ल्याकबक्स भनिन्छ। सिभिआरले ककपिटमा पाइलटबीच भएको कुराकानी र टावरसँग भएको कुरा रेकर्ड गर्छ भने एफडिआरले जहाजको प्राविधिक समस्याबारे रेकर्ड गर्छ। यसबाट जहाज दुर्घटना हुनुको कारण पत्ता लगाउन सजिलो पर्छ।
मलेसिया एयरलाइन्सले पनि सोमबारै विज्ञप्ति जारी गर्दै एमएच३७० दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको अनुमान सार्वजनिक गरेको छ। ‘यो घडीमा यात्रुका परिवार र आफन्तको दुःख कम गर्न सक्ने हामीसँग कुनै शब्द छैन,' विज्ञप्तिमा भनिएको छ, ‘जहाज बेपत्ता भएको समयदेखि हालसम्म जुन किसिमको सहायता हामीले उपलब्ध गराउँदै आएका छौं, त्यसलाई निरन्तरता दिनेछौं।' जहाज खोजीमा जुटेको बहुराष्ट्रिय अभियान जारी रहने एयरलाइन्सले जनाएको छ।
बेपत्ता जहाजको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाले गरेको छ। उसले आफ्ना ६ जहाज खोजीका लागि त्यसतर्फ पठाएको छ। चीन, जापान र बेलायतका पानीजहाज पनि त्यसतर्फ खोजीमा छन्।
चालक दलका १२ जनासहित उक्त जहाजमा १४ देशका २ सय ३९ जना थिए। तीमध्ये दुई जना शिशु थिए। यात्रुमध्ये १ सय ५२ जना चिनियाँ, ३८ मलेसियाली, १२ इन्डोनेसियाली, ७ अस्टे्रलियाली र ३ जना अमेरिकी थिए। फ्रान्सका ३ , न्युजिल्यान्ड २ जना, युक्रेन २, क्यानाडाका २ तथा रुस, इटली, ताइवान, नेदरल्यान्ड र अस्ट्रियाका १/१ जना यात्रु जहाजमा थिए। थाइल्यान्डमा चोरी भएको अस्ट्रिया र इटालीको राहदानीमा दुईजनाले यात्रा गरिरहेको पनि खुलासा भएको थियो। यसले सुरुमा आतंकवादी हमलाको शंका गरिएको थियो। पछि ती अवैध कामदार मात्र भएको फेला पर्यो।
जहाज मुख्य पाइलट (क्याप्टेन) ५३ वर्षे मलेसियाली जहरी अहमद शाह थिए। सन् १९८१ मा मलेसिया एयरलाइन्सका जहाज उडाउन थालेका शाहले १८ हजार ३ सय ६५ घन्टा उडान गरेका थिए। फर्स्ट अफिसर (को–पाइलट) २७ वर्षे मलेसियाली फारिब अब्दुल्ला हमिद थिए। २००७ मा एयरलाइन्स प्रवेश गरेका उनले २ हजार ७ सय ५३ घन्टा उडान गरेका थिए।
प्रकाशित: १० चैत्र २०७० ०८:१८ सोमबार




-600x400.jpg)
