९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

चिनियाँ राष्ट्रपतिको युरोपमा

एम्सटरडाम(नेदरल्यान्ड्स), (एजेन्सी)– चीनका राष्ट्रपति सी चिनफिङ युरोपेली देशको भ्रमणमा शनिबार नेदरल्यान्ड्स पुगेका छन्।राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टीको नेता भएपछि सीको यो पहिलो युरोप भ्रमण हो। प्रथम महिला पेङ लियुनसहित एम्सटरडामको सिफोल विमानस्थलमा अवतरण गर्दा नेदरल्यान्ड्सका राजा विलेम अलेक्जेन्डर र रानी म्याक्सिमाले स्वागत गरेका थिए। 
राष्ट्रपति सी नेदरल्यान्ड्सपछि फ्रान्स, जर्मनी र बेल्जियमको भ्रमणमा जानेछन्। राष्ट्रपति सी बेल्जियमको राजधानी ब्रसेल्सस्थित युरोपेली संघको प्रधान कार्यालय पनि जाने कार्यक्रम छ। चिनियाँ राष्ट्रपतिको भ्रमण दलमा २ सय जना व्यापारी–व्यवसायीसमेत सहभागी छन्। राष्ट्रपति सीको भ्रमण खासगरी युरोपेली देश र युरोपेली संघसँग द्विपक्षीय व्यापार बढाउनमा केन्द्रित हुने अपेक्षा छ। 
उनले फ्रान्सेली विमान उत्पादक कम्पनी एयरबससँग करिब १ सय ५० जेट खरिद सम्झौता गर्नसक्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन्। युक्रेनको पूर्वी भूभाग क्रिमिया रुसमा गाभिएको विषयमा रुसको पक्षमा रहेकाले अमेरिका र युरोपेली देशले चिनियाँ राष्ट्रपति सीमाथि दबाब पर्नसक्ने अनुमान छ। पछिल्लो समय चीनले विदेश नीति र मामिलामा रुसको समर्थन गरे पनि युक्रेनी भूभाग क्रिमिया विलयमा भने पूर्ण समर्थन गरेन। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा क्रिमिया मामिलामा रुसविरुद्ध प्रस्तावको मतदानमा चीन अनुपस्थित भएको थियो। चीन–युरोप द्विपक्षीय सम्बन्ध सामान्यतया तनावपूर्ण रहँदै आएको छ।
युरोप र चीनबीच व्यापारमा विवाद उत्पन्न हुने गरेको छ। दुवैले एक अर्कालाई दबाउने प्रयास गर्ने गरेका छन्। चीनले फ्रान्सेली वाइनको आयातमा कडाइ गरेपछि युरोपेली संघले चीनमा निर्मित सोलार प्यानलमाथि कर लगाएको थियो। यो विवाद भने शुक्रबार मात्र समाधान भएको छ।
राष्ट्रपति सी द हेगमा आउने साता हुन लागेको जी–७ राष्ट्रको आणविक सुरक्षा सम्मेलनको पूर्वाद्धमा युरोप भ्रमणमा नेदरल्यान्ड्स पुगेका छन्। जी–७ को आणविक सुरक्षा सम्मेलनताका नै सीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग युक्रेनी भूभाग क्रिमिया मामिलाबारे छलफल गर्ने अनुमान छ। सीले युक्रेन मामिलामा शान्तिपूर्ण तरिका अवलम्बन गर्नमा जोड दिने सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ राष्ट्रपतिले युरोप भ्रमणमा फ्रान्सका राष्ट्रपति फ्राँस्वा हल्यान्ड र जर्मन चान्सलर एन्जेला मर्केलसँग पनि भेटवार्ता गर्नेछन्। 
उनको युरोप भ्रमण चैत १८ गते बेल्जियममा टुंगिनेछ। जर्मन सञ्चारमाध्यमका अनुसार सीको भ्रमण दलले हिटलरद्वारा मारिएकाको स्मारकस्थलको औपचारिक भ्रमणका लागि आग्रह गरेको थियो। तर जर्मनीले चीनद्वारा स्मारकस्थल भ्रमणलाई जापानविरुद्ध प्रचारमा उपयोग गर्नसक्ने आशंकाका कारण भ्रमण दलको आग्रह अस्वीकार गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जर्मन दैनिक डर स्पिगलका अनुसार जर्मनीले चिनियाँ भ्रमण दललाई राष्ट्रपति सीले उनलाई पायक पर्ने समयमा स्मारकस्थल भ्रमण गर्नसक्ने जानकारी दिएको छ।

प्रकाशित: ८ चैत्र २०७० २१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App