सानफ्रान्सिस्को– ९ दिनअघि क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा मृत्यु भएका बुटवलका यमनाथ भण्डारीको नेपालीहरूकै सक्रियतामा दाहसंस्कार गरिएको छ।
उनको परिवारका कोही पनि सदस्य अमेरिका आउन नसकेपछि स्थानीय नेपाली सामाजिक संस्थाहरू सन्नी सगरमाथा समाज, नेपाली जनसम्पर्क समितिको सक्रियतामा सहयोग संकलन गरी अन्त्येष्टि गरिएको हो।
अफ्रिकाका विभिन्न मुलुक हुँदै १४ वर्षअघि भण्डारी अमेरिका छिरेका थिए। ४० वर्षे भण्डारी तीन महिनादेखि सेक्रामेन्टोको ...स्पाइस अफ लाइफ' रेस्टुरेन्टमा सेफ थिए। विद्युतीय दाहसंस्कार मेसिन सिमेट्रीमा मंगलबार बिहान १० बजे उनको दाहसंस्कार गरिएको थियो। उक्त कार्यक्रममा झन्डै चार दर्जन नेपाली उपस्थित थिए।
सन् १९९७ मा नेपाल छाडेका भण्डारी अफ्रिकी मुलुक केन्याको नैरोबी, नाइजेरिया, कंगो, युगाण्डा हुँदै सन् २००० मा अमेरिका आइपुगेका थिए। सन्नी सगरमाथा समाजका अध्यक्ष हरिहर दाहालका अनुसार उनले नेपाल छाड्दा उनकी पत्नी कृष्णकला बस्याल गर्भवती थिइन्। तर उनले कान्छी छोरी युनिषालाई भेट्नसमेत पाएनन्।
पारिवारिक स्रोतका अनुसार उनकी पत्नी र दुई छोरी १७ वर्षसम्म उनलाई पर्खेर आनन्दवन–५ रुपन्देहीमा बसिरहेका थिए। दाहसंस्कारमा परिवारको तर्फबाट कोही पनि उपस्थित हुन नसकेपछि अस्तु पठाउने तयारी भइरहेको अध्यक्ष दाहालले बताए। स्वर्गीय भण्डारीका ६ दाजुभाइ छन्। दाजुभाइमध्ये यमनाथ माइला हुन्। भण्डारीको परिवार स्याङजाको कुवाकोट गाविसबाट २०५८ सालमा रुपन्देही बसाइँ सरेको थियो।
प्रकाशित: ७ फाल्गुन २०७० ०२:५८ बुधबार





