७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

अमेरिकामा नेपालीको भ्यालेन्टाइन

सानफ्रान्सिस्को– ‘भ्यालेन्टाइन डे' को सेरोफेरोमा अमेरिकाको सानफ्रान्सिस्को बे एरियामा आयोजित कार्यक्रममा विवाहित जोडीमात्र नभएर अविवाहितहरुले समेत आपसमा मायाको साटासाट गरेका छन्।
सन्नीभेलस्थित ग्रान्ड पार्क हलमा आयोजित कार्यक्रममा एकसय जोडीको जमघट थियो। नेपालमा असहाय र टुहुरा बालबालिकाका लागि शिक्षा र लालनपालनमा कार्यरत संस्था नेको फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा अध्ययनलाई छाडेर सानै उमेरदेखि मायाप्रेममा नलाग्न सन्देशमूलक नाटकसमेत मञ्चन गरिएको थियो।
‘नेपालीहरूलाई एकताबद्ध बनाएर सामाजीक क्षेत्रमा योगदान पुर्‍याउनका लागि कार्यक्रम आयोजना गरिएको हो,' आयोजक नेको फाउन्डेसनका अध्यक्ष विश्व भट्टले भने। नेको फाउन्डेसनले हरेक वर्ष ‘भ्यालेन्टाइन डे' को अवसरमा नेपाली जोडीको जमघट आयोजना गर्दै आएको छ।
‘नेपालमा द्वन्द्वपीडित बालबालिकाको पुनर्स्थापना, सडक बालबालिकाको शिक्षादीक्षामा ठोस रूपमा केही काम गर्ने योजनासाथ अघि बढ्ने तयारी छ,' भट्टले भने। नेको फाउन्डेसनले अहिले काठमाडौंमा केन्द्र स्थापना गरेर असहाय बालबालिकाका लागि शिक्षा र पुनर्स्थापना कार्यक्रम गर्दै आएको छ। काठमाडौंमा आफ्नै भवन निर्माण गरेर विद्यालयसमेत चलाउने तयारी संस्थाको छ।
बालबालिकाका लागि अन्तर्राष्ट्रियस्तरको र यातनारहित शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न लागिएको फाउन्डेसनले जनाएको छ। ‘नेपालमा केही काम गर्न विदेशीकै मात्र सहयोगका लागि मुख ताक्ने परिपाटीको अन्त्य गरी यस्ता कार्यक्रममार्फत सहयोग संकलन गरेर आफैंले नयाँ काम गर्ने हाम्रो लक्ष्य हो,' उनले भने।
अहिले काठमाडौंमा मात्र सञ्चालनमा रहेको ‘नेको होम'लाई भविष्यमा पोखरा र नेपालगञ्जमा समेत विस्तार गर्ने योजनामा संस्थाका पदाधिकारी छन्। संस्थाले अमेरिकामा रहेका नेपाली र भुटानीका बालबालिकाका निम्ति निःशुल्क नेपाली भाषाको कक्षा पनि सञ्चालन गरिरहेको छ।
कार्यक्रममा सहभागी २३ कलाकारलाई संस्थातर्फबाट नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। स्टेनफोर्ड विश्वविद्यालयका प्रोफेसर फर्मार एचदानीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: ६ फाल्गुन २०७० ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App