''ह्युमन कनेक्टुमी प्रोजेक्ट'' (एचसीपी) नाम गरिएको यो परियोजना अमेरिका तथा युरोपका १० अनुसन्धान केन्द्रमा सञ्चालन गरिएका थिए। यसमा स्वस्थ वयस्क व्यक्तिको मस्तिष्कको व्यापक तथ्याङ्क प्राप्त भएको छ र यसलाई विश्वभरका अनुसन्धानकर्ताहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
सेन्ट लुइस वासिङटन विश्वविद्यालयका चिकित्सा विद्यालयका डेविड भान इसेनले यसबाट स्वस्थ वयस्क मानवको मस्तिष्क बुझ्न सहयोग पुग्ने बताउनुभयो। उहाँले वैज्ञानिक समुदायले मानव मस्तिष्कको तन्तुसञ्जाल तथा व्यक्तिको व्यवहारबीच सम्बन्धका विषयमा अध्ययन गर्ने बताउनुभयो।
यसले यस्ता तन्तुसञ्जालमा देखिने परिवर्तन, त्यसले मानवको मस्तिष्कमा पर्ने प्रभाव तथा त्यसले मानवको आचरणमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न सहयोग गर्ने बताइएको छ।
मङ्गलबार ६८ स्वस्थ व्यक्तिको मस्तिष्कमा गरिएको स्क्यानको तस्विरहरू प्रकाशन गरिएका छन्। यसका साथमा ती व्यक्तिका व्यवहारका सूचना, उनीहरूको व्यक्तित्वमा भिन्नता, बुझ्नसक्ने क्षमता, उनीहरूको आचरण तथा अवधारणात्मक क्रियाकलापका विषयमा जानकारी दिइएको छ।
'म्याग्नेटिक रिजोनेन्स इमेजिङ' प्रविधिबाट यी चित्र लिइएका हुन्। अनुसन्धानकर्ताहरूले हरेक चित्रमा सीमा भए पनि मस्तिष्कमा के हुन्छ भन्ने कुरालाई यसमा देखाइएको गरेका छन्। अनुसन्धानकर्ताहरूले मस्तिष्कको यस्तो तस्बिर लिँदा व्यक्तिमाथि परिक्षण पनि गरेका थिए।
यस अनुसन्धानका तथ्याङ्क दुई टेराबाइट कम्प्युटर मेमोरी बराबर रहेको छ। यसको अर्थ करिब ४०० डीभीडी बराबरको तथ्याङ्क यस अनुसन्धानबाट प्राप्त भएको छ। अनुसन्धानकर्ताहरूले आउँदा पाँच वर्षमा करिब एक हजार २०० व्यक्तिको यस्तै प्रकारको मस्तिष्कको तथ्याङ्क प्राप्त गर्ने योजना बनाएका छन्।
प्रकाशित: २३ फाल्गुन २०६९ १३:५० बुधबार





