बेलायतको न्युजविस्किट वेबसाइटले व्यंगात्मक रुपमा मजाकस्वरुप प्रकाशन गरेको टाइसनको समाचारले अफ्रिकामा सनसनी फैलियो। यो समाचार सुन्ने जो कोही विस्मित हुन्छ भने अफ्रिकाका अखबारहरू पनि छक्क पर्नु अस्वाभाविक होइन।
न्युजविस्किट वेबसाइटको ठट्टालाई अफ्रिकी अखबारले सत्य ठानेर फटाफट आफ्ना वेबसाइटमा हालिहाले। न्युजविस्किटले मजाकस्वरुप माइक टाइसनले आफ्नो लिंग परिवर्तन गरी महिलामा रुपान्तरण भएको वेबसाइटमा उल्लेख गरेको थियो। टाइसनले लिंग परिवर्तनपछि नाम समेत फेरेर मिशेल राखेको वेबसाइटमा प्रकाशित गरेको थियो।
न्युजविस्किटको यो मजाकलाई साँचो ठानेर अफ्रिकाका थुप्रै अखबारले आफ्ना अनलाइन संस्करणमा टाइसनले आफ्नो लिंग परिवर्तन गरेको समाचार प्रकाशन गरे। अखबार जिम्बाब्बे स्ट्यान्डर्डले आइतबार यो समाचार आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मंगलबार घानाको स्पाइघाना वेबसाइटले समेत साभार गर्यो।
जिम्बाब्बे स्ट्यान्डर्डको वेबसाइट अनुसार टाइसनले महिनावारिको पहिलो अनुभव उनको सपना भएकाले नाम फेरेर मिशेल राखेको उल्लेख गरेको थियो। समाचारमा मजाक उडाउँदै टाइसनले आफ्नो बक्सिङ करियरमा समेत महिनावारीको सपना बिर्सिन नसकेको उधृत गरिएको थियो।
प्रकाशन हुनासाथ हजारौंले फेसबुकमा समाचार 'लाइक' गरेका थिए। यसपछि त अधिकांश अफ्रिकी न्युज वेबसाइटबीच यो समाचार प्रकाशनको होडबाजी नै मच्चियो।
गएको महिना चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक अखबारको अनलाइन संस्करणले पनि एउटा व्यंग्यात्मक अमेरिकी वेबसाइटलाई उधृत गर्दै एउटा यस्तै समाचार दिएको थियो। समाचारमा उत्तर कोरियाली नेता किम जोंग ऊनलाई सन् २०१२ को विश्वकै सबैभन्दा सेक्सी जीवित व्यक्ति भनिएको थियो। यो समाचार पनि टाइसनको जस्तै गलत थियो।
जिम्बाब्बे स्ट्यान्डर्डले पनि टाइसनको लिंग परिवर्तनको समाचार बेलायतको व्यंग्य आधारित वेबसाइट न्युजविस्किटबाट सक्कल बमोजिम नक्कल गरेको थियो। व्यंग्यात्मक अनलाइन न्युजबिस्किटले आफ्नो वेबसाइटमा टाइसनले नोभेम्बरमा आफ्नो लिंग परिवर्तन गरेको उल्लेख गरेको थियो।
न्युजबिस्किटमा टाइसनको लिंग परिवर्तनबारे लेख्ने जन अफरेलका अनुसार यो समाचारले न्युजबिस्किटको अफ्रिकामा व्यापक प्रचार भएको छ।
प्रकाशित: २८ मंसिर २०६९ २२:०५ बिहीबार





