८ वैशाख २०८१ शनिबार
प्रवास

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

विश्वभर २ सय ४६ जना नेपालीको कोरोनाबाट मृत्यु

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।  

हालसम्म विदेशमा अलपत्र रहेका ३७ हजार ४ सय २४ जना नेपालीलाई स्वदेश फर्काइएको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने नीति तय गरेपछि सिसिएमसीको अगुवाइमा उद्धार जारी रहेको छ । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।

साउन १६ सम्म २४१ वटा उडान भएका छन् । सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि थप ५४ उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार साउन २४ (अगस्ट ८) सम्म हुने अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा शहरहरूमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुवई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन् । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् । 

भारतसहित २९ मुलुकबाट उद्धार उडान भएको थियो । सबैभन्दा बढी नेपाली फर्किएको देश यूएई हो । यूएईबाट ८ हजार ५ सय ३८ नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट ६ हजार १ सय ७९ जना, साउदी अरेवियाबाट ५ हजार ६ सय ११, मलेसियाबाट ५ हजार ३ सय ८४,  कतारबाट ३ हजार ९ सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल फर्किएका मध्ये प्रदेश १ का ७ हजार ७ सय ६९, प्रदेश २ मा ६ हजार ८१ जना, बागमती प्रदेशका १० हजार ७ सय ३१, गण्डकी प्रदेशका ४ हजार ७ सय ७३, प्रदेश ५ का ६ हजार २ सय ५२, कर्णाली प्रदेशका ८ सय ६५ र सुदुरपश्चिम प्रदेशका ९ सय ५३ जना गरी ३७ हजार ४ सय २४ जना छन् ।

बहराइनबाट ९ सय ८०, बंगलादेशबाट ८ सय ४१, अस्ट्रेलियाबाट ७ सय ९५, जापानबाट ७ सय ५६, दक्षिण कोरियाबाट ७ सय २०, माल्दिभ्सबाट ७ सय ९, ओमानबाट ४ सय ९२, अमेरिका ४ सय २३, थाइल्यान्डबाट ३ सय २६, सिंगापुरबाट २ सय ९७, दक्षिण सुडान २ सय ५०, बेलायतबाट २ सय २९, चिनबाट २ सय ८, फिलिपिन्सबाट २ सय १ र इजराइलबाट १ सय २७ जनाको उद्धार गरिएको विमानस्थलले जनाएको छ ।

त्यस्तै हङकङबाट ८९, भारतबाट ८०, पाकिस्तानबाट ७२, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, टर्कीबाट ३४, अफगानिस्तानबाट ३३, म्यानमारबाट २६, स्विजरल्यान्डबाट १० र श्रींलकाबाट ५ जना रहेका छन् ।

यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय २६ वटा शव नेपाल पु¥याई परिवारलाई बुझाइएको छ ।

विदेशबाट घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने गरिन्छ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाडौंकै अल्पकालीन क्वारेन्टिनमा राखिने व्यवस्था भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको ५ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई अल्पकालीन अवस्थामा राख्नका लागि काठमाडौंमा पनि १५ सय क्षमताको क्वारेन्टिनको व्यवस्था गरेको छ । सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइने सिसिएमसीले जानकारी दिएको छ ।

विश्वभर २ सय ४६ जना नेपालीको कोरोनाबाट मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप ३० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको बताउँदै सापकोटाले भने,  अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । अफ्रिकाको जोहन्सबर्गमा पाँचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको निधन भएको हो। छाति दुखेपछि उनी अस्पताल पुगेका थिए। उपचारकै क्रममा उनको निधन भएको दक्षिण अफ्रिकाका लागि कार्यावाहक राजदूत घनश्याम लम्सालले जानकारी दिए।  

यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । आइतबार साँझ सम्म नेपालका ५७ सहित विश्वभर २ सय ४६ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित: १९ श्रावण २०७७ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App