६ चैत्र २०८० मंगलबार
प्रवास

युएई र म्यानमारबाट १९४ स्वदेश फर्किए

कोभिड १९ को महामारीबिच विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने सरकारी तयारीअन्तर्गत शुक्रबार युएई र म्यानमारबाट १९४ जना स्वदेश फर्किएका छन् । शुक्रबार बिहान म्यानमारबाट एयरफोर्सको विमानबाट २६ जना स्वदेश फर्किएका थिए । तीमध्ये १७ जना बाग्मती प्रदेशका, चारजना गण्डकी प्रदेशका र चारजना १ नम्बर प्रदेशका हुन् ।  

त्यस्तै शुक्रबार साँझ ६ बजे युएईबाट एयर अरेबियाको विमान हुँदै एक सय ६८ जना फर्किका छन् । विमानमा एकजना शिशु पनि रहेको सैनिक स्रोतले जानकारी दिएको छ । युएईबाट फर्किएकामध्ये १ नम्बर प्रदेशका ४०, प्रदेश २ का २०, बाग्मती प्रदेशका ५१, गण्डकी प्रदेशका २५, प्रदेश ५ का २०, कणार्ली प्रदेशका २ र प्रदेश ७ का १२ जना रहेका छन् । उनीहरूमध्ये १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उक्त विमानमा एकजना नेपालीको शवसमेत आइपुगेको छ ।  

सरकारले प्राथमिकताका आधारमा नागरिकलाई स्वदेश फर्काउने योजना बनाए पनि शुक्रबार फर्किएकाहरू भने सरकारले तयार पारेको सूची अन्तर्गतका नभएर युएईका दुई सुरक्षा गार्डसम्बन्धी कम्पनीमा कार्यरत कामदार रहेका छन् । सरकारको योजनाअनुसार युएईबाट स्वदेश फर्किने नागरिकको सूची त्यहाँ रहेको नेपाली कूटनीतिक नियोगले तयार पारेको थियो । तर, शुक्रबार फर्किएकाहरू भने सरकारी सूचीभन्दा बाहिरका रहेको पाइएको छ । सरकारले सुरुमा गर्भवती, छोटो अवधिका लागि गएका र अलपत्र परेकालाई स्वदेश फर्काउने तयारी गरेको थियो ।

शुक्रबार स्वदेश फर्किएकामध्ये त्यहाँ रहेको ट्रान्स गार्ड सेक्युरिटी र इजादामा कार्यरत नेपाली रहेका छन् । इजादामा कार्यरत ६७ र ट्रान्स गार्ड सेक्युरिटीमा कार्यरत ७९ स्वदेश फर्किएका हुन् । उनीहरूलाई कोरोनाको प्रभावसँगै युएईमा लकडाउन सुरु भएपछि कम्पनीले रोजगारीबाट निकालेको थियो । उनीहरू सम्बन्धित कम्पनीकै पहलमा स्वदेश फिर्ता भएका हुन् । सरकारले विदेशबाट फर्काउन बाँकी नागरिक कहिले फर्काउँछ भन्ने अझै निश्चित नभएको सिसिएमसीले जनाएको छ ।  

सरकारले कोरोनाको प्रभावका कारण विदेशबाट फर्किने नेपालीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विमानमा हेल्थ डेक्सको व्यवस्था गरेको छ । त्यहाँ उनीहरूको स्वास्थ्य विवरण चेकजाँच तथा ज्वरो जाँचेपछि उनीहरूलाई अध्यागमन डेक्स हुँदै आफ्नो सामान लिएर आगमन पार्किङमा जाने व्यवस्था गरिएको हुन्छ । विमानस्थलको पार्किङ स्थलमा प्रत्येक प्रदेश अनुसारका गाडी तयारी अवस्थामा राखिएको हुन्छ । उनीहरूलाई प्रदेश अनुसारका गाडीमा राखेर सम्बन्धित प्रदेशकै होल्डिङ क्षेत्रमा पुर्याइन्छ ।  

होल्डिङ क्षेत्रमा कागजातको प्रक्रिया पूरा गरेपछि उनीहरूको मोबाइलमा एप्स डाउनलोड गरिन्छ । उनीहरूको सबै विवरण अध्यावधिक गरेपछि प्रदेश सरकारका सम्बन्धित मन्त्रीमार्फत गाडीको व्यवस्था गरेर सम्बन्धित प्रदेशका क्वारेन्टिनमा पठाउने व्यवस्था गरिएको छ । प्रदेश क्वारेन्टिनमा लगेपछि त्यसको सबै जिम्मा प्रदेश सरकारले लिने सिसिएमसी अप्सका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित: २४ जेष्ठ २०७७ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App