युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको शुभकामना सन्देशप्रति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धन्यवाद दिएका छन्।
पौडेलले सोमबार युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका थिए। सन्देशमा उनले जेलेन्स्कीको व्यक्तिगत स्वास्थ्य र खुसीका साथै युक्रेनी जनताको प्रगति र समृद्धिको कामना गरेका थिए।
पौडेलको सन्देशपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत नेपालले युक्रेनलाई गर्दै आएको समर्थनप्रति आभार व्यक्त गरेका हुन्।
जेलेन्स्कीले लेखेका छन्, ‘युक्रेनको स्वतन्त्रता दिवसमा न्यानो शुभकामनाका लागि धन्यवाद, राष्ट्रपति पौडेल। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सीमाभित्र युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताका लागि नेपालको समर्थन तथा दुई देशबिचको मित्रतालाई हामी उच्च मूल्य दिन्छौं।’
युक्रेनले यस वर्ष आफ्नो ३५औं स्वतन्त्रता दिवस मनाएको हो। सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको युक्रेनले २४ अगस्टलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ। युरोपेली संघले पनि यस वर्षको स्वतन्त्रता दिवसमा युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति समर्थन दोहोर्याएको छ।
रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले स्वतन्त्रता दिवसका अवसरमा अन्तर्राष्ट्रिय समुदायबाट समर्थन पाएको छ। स्वतन्त्रता दिवसका दिन युक्रेनमा विभिन्न युरोपेली नेताहरू समेत पुगेका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेन शान्ति चाहने भए पनि आत्मसमर्पण नगर्ने बताएका थिए।
प्रकाशित: १० भाद्र २०८३ ०९:१० बुधबार





-600x400.jpg)