रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ।
अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताए।
‘यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ। थप जानकारी प्राप्त हुँदै जाँदा यसको पुष्टि हुन बाँकी छ’, उनले भने।
यसैगरी इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट तहसनहस भएको त्यही क्षेत्र फेरि जोखिममा परेको बताए।
८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रमा भएको विशाल सुप्राग्लेसियल हिमतालको विस्फोटले चीन–नेपाल सीमापार विनाशकारी बाढी निम्त्याएको थियो। उक्त घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता भएका थिए।
यस्तै, नेपाल–चीन जोड्ने पूर्वाधारमा समेत ठुलो क्षति पुर्याएको थियो। यसले तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाको असर नेपालसम्म कति छिटो र विनाशकारी रूपमा आइपुग्न सक्छ भन्ने देखाएको थियो।
‘लेन्दे खोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ। नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ’, उनले भने।
बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ।
प्रकाशित: १० भाद्र २०८३ १७:४६ बुधबार





-600x400.jpg)