हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक पलेंटीमा यसपालि गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन्।
कार्यक्रममा शाहका झण्डै डेढ दर्जन गीत समावेश गरिएका छन् जसलाई पलेँटीका कण्ठ-सिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन्।
पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो।
नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन्। उनको कलाकारितामा गीति सिर्जनाको पनि महत्वपूर्ण भूमिका छ।
शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन्।
उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी', 'कहिलेकाहीँ म हाँस्छु' 'गहिराइमा डुब्दै नडुब', अधरको मुस्कान त केही होइन', 'बादल बनाइदेऊ', 'हिउँभन्दा चिसो' लगायतका अनेक गीत छन्।
शाहले गैरफिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन्। शाहले रचना गरेका फिल्मी गीतहरूमा 'आँखैमा कसैको तस्वीर बसेछ', 'जति निर्मल', 'छोरी मलाई भागीभागी', 'यो साँझ यो सुवास' लगायतका गीतहरू लोकप्रिय छन्।
यसपालि पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन्।
पलेँटी निम्ति तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार नीर शाह आउँदाे कार्यक्रमबारे टिप्पणी गर्दै भन्छन्- 'संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ। पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ; गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ। गौरवशाली इतिहास हो यो। उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु।'
आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्, ' नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ। त्यो मेरो दायित्व थियो। त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्त्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु।'
कार्यक्रमबारे पलेँटीका संयोजक आभास भन्छन् - 'साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपालि गीतकार नीर शाहलाई निम्त्याएका छौँ। संचार र चलिचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान छ। सिर्जनात्मक अनुभवसहितको यसपालििको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु।'
पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार; २८ र २९ तारिखका दिन आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको 'आर' शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ।
'आर'शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ। त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रकाशित: १० भाद्र २०८३ ०९:३२ बुधबार





