१ असार २०८२ आइतबार
image/svg+xml
प्रवास

अमेरिकाको टेक्सास संसद्‌मा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसदले गौतम बुद्धको जन्मभूमि नेपाल भएको उल्लेख गर्दै हरेक वर्ष मे १५ लाई ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेको यो प्रस्ताव सर्वसम्मत पारित भएको हो।  

टेक्सासका विभिन्न जिल्लाका सांसद डा. सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानीलगायतले ‘बुद्ध डे’ सम्बन्धी प्रस्ताव तयार गरी संसदमा दर्ता गरेका थिए। उक्त अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एसोसिएसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जनभन्दा बढी संस्था र नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायतका देशका ६० भन्दा बढी बौद्ध भिक्षु उपस्थित थिए।  

टेक्सास संसद नेपालमैत्री बन्दै गएको भन्दै यहाँको नेपाली समुदायले खुसी व्यक्त गरेको छ। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपालसम्बन्धी प्रस्तावमा सांसदहरूले उच्च महत्व दिएको बताए। टेक्सासमा नेपाली मूलका सांसदको प्रतिनिधित्व नभए पनि नेपालको पहिचान स्थापित गर्न यहाँको नेपाली समुदायले लामो समयदेखि पहल गर्दै आएको छ।  

टेक्सास नेपाली समुदायको बाक्लो बसोबास भएको राज्य हो। हालसम्म यहाँको संसदले नेपाल डे र लुम्बिनी डे सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ। ‘बुद्ध डे’ सम्बन्धी प्रस्ताव तेस्रो हो। ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष विदुर खतिवडाले यो प्रस्ताव नेपाल र नेपालीको पहिचानका लागि थप सफलता भएको बताए। उनले भने, ‘टेक्सास संसदले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी प्रस्ताव पारित गरेको छ। अब हरेक वर्ष मे १५ मा विभिन्न कार्यक्रम गरी बुद्ध डे मनाइनेछ।’ शङ्कर थापा/रासस

प्रकाशित: २ जेष्ठ २०८२ १६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App