लण्डन— तालिवानको आत्मघाती बम हमला अफगानिस्तानमा मारिएका १२ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएन) ले एक–एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एनआरएनको अन्तरार्ष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानवीय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागिएको हो।
एनआरएनए उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १३ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दु:खी भएको बताए।
'कमाउन गएका हाम्रा दाजुभाईहरुको शव बाकसमा फर्किएको छ। यस्तो दुखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै प्रारम्भिक रुपमा कम्तिमा एक एक लाख सहयोग गर्न निर्णय गरिएको हो', उनले भने।
यसअघि संघका अध्यक्ष शेष घलेले घटना लगत्तै शोक वक्तव्य जारी गर्दै आतंककारी हमलामा वैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदा संसारभर रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका थिए।
सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी १३ नेपाली सहित १५ जनाको मृत्यु भएको थियो। मृतकको शव सरकारले नेपाल लगेर परिवार तथा आफन्तलाई बुझाइसकेको छ।
प्रकाशित: ९ असार २०७३ ०७:०७ बिहीबार