१५ चैत्र २०८० बिहीबार
प्रवास

'त्यसपछि बाँचिएला जस्तो लागेन'

अप्रिल १४ तारिख बीहीबार रातको त्यस्तै साँढे नौ बज्न लागेको थियो। म आफू काम गर्ने आभासी करी रेस्टूरेण्टको किचेनमा काम गर्दै थिएँ। अरु दुईजना साथी पनि सँगै थिए। रात छिप्पिँदै गएकाले रेस्टूरेण्टमा ग्राहकहरू २ जना मात्र बाँकी थिए। उनीहरू नेपाली खाना खाँदै थिए। एक्कासि जमिन लचक-लचक हल्लिन थाल्यो।

किचेन र्‍याकबाट गिलास, प्लेट कसैले फालेझैँ गरी भुइँमा हाम्फाल्न थाले। एकै छिनमा ग्लास, प्लेट, काँटा, चम्चामा भुँइमा छरपस्ट भए। १० वर्षको मेरो जापान बसाइँ अनुभवअनुसार जापानीहरु भूकम्पदेखि हत्तपत्त डराउँदैनन्। यो पटक त्यस्तो स्थिति थिएन। खाना खाँदै गरेका जापानी ग्राहक 'याबाई जिसिन् दा' (भूकम्प आयो) भन्दै चिच्याउन थाले। भूकम्पको झट्काले यताउता हल्लाइदिँदा तिनीहरु आत्तिएर रेष्टुरेण्ट बाहिर निस्किन खोजेका थिए। बाहिर निस्किन खोज्दा तिनीहरु भुइँमै लडे। जापानीहरु सानोतिनो भूकम्प आउँदा भाग्दैनन्। उनीहरु नै आत्तिएपछि मैले निर्णय गरेँ अब रेष्टुरेण्ट बन्द गर्नुपर्छ, खतरा टरेको छैन। यही सोचेर म घर फर्किने निर्णयमा पुगेँ।

बाटोमा एम्बुलेंस, दमकल लगायतका साधनहरूको ओहोरदोहोर बाक्लो देखियो। अरुबेला रमाइलो गर्ने पार्क र खुल्ला स्थानहरूमा मानिसहरु त्रसित मुद्रामा जम्मा हुँदै थिए। बालकदेखि वृद्धसम्म त्रसित मुद्रामा देखिन्थे। भुइँचालो जापानका लागि नयाँ चिज होइन। सामान्यतया काठमाडौंमा आकाश गड्याङगुडुङ गरे जति भाउ पनि यहाँ भूकम्पलाई दिए जस्तो लाग्दैन। अर्थात् धेरै वास्ता गर्दैनन्, डराउँदैनन्। त्यसैले मैले पनि ठानेँ भुइँचालो आयो गयो, सकियो।

यो सोचेर म पार्कहरुमा रोकिइनँ। सरासर कोठातिर लागें। मोबाइल निकालेर हेरेँ। केही मानिसको मृत्यु भएको र केही घाइते भएको भन्ने खबरहरु अनलाइनहरुमा आइरहेका थिए। भूकम्प ६.५ रेक्टर स्केलको गएको रहेछ। नजिकका साथीभाइ कहाँ छन् भनेर सोधीखोजी गरेँ। सबै साथीभाइ तथा कुमातो क्षेत्रमा बसोबास गर्ने नेपालीहरु सुरिक्षत रहेको भन्ने जानकारी पाएँ। ढुक्क लाग्यो।

त्यतिबेलासम्म झन्डै मध्यरात भइसकेको थियो। म आफ्नो कोठामा फर्किएर सुतेँ।

स-सना परकम्पले हल्लाइरहेको थियो। मैले खासै वास्ता गरिनँ। भोलिपल्ट पनि स्थिति सामान्य भइसकेको थिएन। ठूलो भूकम्प नफर्केला भनेर मैले सामान्य रुपमै लिएँ। आफूलाई मनोवैधानिक रुपमा सामान्य पार्न खोज्दै घर फर्किएँ।

अघिल्लो दिन राम्रोसँग सुत्न नपाएकोले होला। छिटै निदाएँछु। राति साढे १ बजेतिर एक्कासि ठूलो भूकम्पको झट्का जाँदा पो मेरो सातोपुत्लो उड्यो। कतिखेर निद्राबाट ब्युँझेछु पत्तो पाइनँ। म ठूलो घरको तेस्रो तलामा सुतेको थिएँ। घरनै ढलेर थिच्ला जस्तो बनायो। अब बाँचिँदैन झै लाग्यो। हतारहतार केही बाक्लो कपडा र हल्का ब्लाङ्केट टिपेर बाहिर निस्किएँ। यो झट्का अघिल्लो दिनको भन्दा शक्तिशाली थियो, ७.४ रेक्टरस्केलको। मान्छेहरु ठूलो कोलाहल गर्दै कराएको सुनेँ।

जापान सरकारले सुनामी जाँदैछ, सुरक्षित र अग्लो स्थानमा बस्नुहोला भन्ने अलर्ट सार्वजनिक गर्योब। २०११ को भूकम्पयता यस्तो स्थिति जापानमा देखिएको थिएन। सुनामी आउँदैछ भन्ने माइकिङ हुन थालेपछि सर्वसाधारण अझ भयभित देखिए। मलाई पनि असाध्यै डर लाग्यो।

रातभरि साना-साना झट्काहरू आइरहे। मैले नजिकैको खुला स्थानमा जापानीहरुसँगै रात बिताएँ। निदाउन सक्ने कुरा थिएन जाग्राम बसियो। बिहान भएपछि अरु साथीहरू पनि जम्मा भए। अहिले हामी ८ जना नेपाली सँगै छौं। यहाँ नज़िकैको स्थानीय इजुमि स्कूलमा बसिरहेका छौं। यहाँ अरु १ हजारको हाराहारीमा जापानी नागरिक पनि छन्। खाने कुराको भाव हुन थालेको छ। यहाँका सुपरमार्केट, छेउछाउका कम्बिनियन्स मा केही पनि छैन। नगरपालिकाले जूस, पाउरोटी र पानी दिनको दुईपल्ट बितरण गरिरहेको छ। हामी त्यही खाएर बसिरहेका छौं। १-२ दिनलाई त खासै फरक नपर्ला तर यस्तै भैरह्यो भने समस्या पर्छ। फेरि परकम्प जाने क्रम नरोकिँदा स्थिति त्रसित छ।

यहाँ रहेका नेपालीहरू समूह समूह विभिन्न स्थानका शिबिरमा बसिरहेका छन् भन्ने सुनेको छु। सबैको हालत लगभग मेरै जस्तो छ। भूकम्पपछि यहाँ बिजुली, ग्याँस र पानीको आपूर्ति बन्द भएको छ। सडक, घरका साथै अन्य संरचनाहरू भत्किएका छन्। एनआरएनका मान्छेहरूले सम्पर्क गरेका थिए। गारो, अप्ठ्यारो के कसो छ भनेर सोधे। अप्ठ्यारो पर्‍यो भने सम्पर्क गर्नुहोस् भनेका छन्। जापान बसाईको १ दशक यात्रा पहिलो पल्ट यस्तो अनुभव गरें। कुमातोको यो चउरमा बसेर म सम्झिँदैछु, नेपाल। भूकम्प प्रतिरोधका लागि सबैभन्दा विकसित देशमा त भुँइचालोले यस्तो हालत बनायो। पोहोर बैसाखमा गएको त्यत्रो ठुलो भूकम्पले नेपालमा कस्तो भयो होला? यो कुरा सम्झेर अहिले पो मन गह्रौं भएर आउँछ।

(नागरिकन्युजका जापान संवाददाता नारायण रिमालले जापानमा शनिबार बिहान गएको भूकम्पको केन्द्र कुमातोमा बसोबास गर्ने बाग्लुङ बिहुँकोटका शिव कँडेलसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ४ वैशाख २०७३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App