सुनका कुरा धेरै सुनिए। इतिहासमा, मिथकमा, साहित्यमा। सुनले सधैं लोभ, शक्ति र समृद्धिको प्रतीक बनेर स्थान पाएको छ। बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले लेखेको एउटा वाक्य निकै अर्थपूर्ण छ, ‘हातले जे छोए पनि सुन बन्ने वरदान पाएका राजा मिदासहरू नेपालमा जिउँदै रहेछन्।’
राजा मिदासको कथा हामी सबैले सुनेका छौं। उनले देवताबाट पाएको वरदान हातले छोएका सबै वस्तु सुन बन्ने थियो। पहिलो दृष्टिमा आशीर्वादजस्तो लाग्यो तर त्यो वरदान चाँडै अभिशापमा परिणत भयो। खाना छोए, सुन बन्यो। पानी छोए, सुनै बन्यो। अन्ततः आफ्नै छोरीलाई छोए, त्यो पनि सुनै बन्यो। त्यसपछि उनले बुझ्न सके, सुन सबैभन्दा ठुलो धन होइन, जीवन, माया र सन्तुलन नै वास्तविक सम्पत्ति हुन्।
आजको नेपालमा पनि ‘आधुनिक मिदास’ हरूको चर्चा हुन थालेको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदा सुन, जग्गा, बैंक ब्यालेन्स र लगानीका अंकहरू देख्दा प्रश्न उठ्छ, के हाम्रो विकासका मापदण्ड यिनै हुन ?
के राज्य सञ्चालन गर्नेहरूको सफलताको मापन सुनका तोलाले गरिन्छ ? प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक सम्पत्ति विवरणले यही बहसलाई फेरि उठाएको छ।
कसैसँग सयौं तोला सुन छ, कसैसँग करोडौंको सेयर, कसैसँग विशाल जग्गाजमिन। यी विवरणहरू कानुनी पारदर्शिताको हिस्सा हुन्। तर नेपालजस्तो देशमा सुनको चमक कहिलेकाहीँ आँखामा बिझ्ने प्रकाशजस्तो लाग्छ। किनकि यो देशमा अझै पनि किसान मल नपाएर छटपटाइरहेका छन्। युवाहरू रोजगारीको खोजीमा खाडी देशतर्फ बगिरहेका छन्। स्वास्थ्य सेवाको अभावमा मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्।
सुन आफैंमा खराब होइन। यो श्रम, व्यापार र इतिहासको एउटा हिस्सा हो तर जब सुनको महत्व मानव जीवनको आधारभूत आवश्यकताभन्दा माथि पुग्छ तब समस्या सुरु हुन्छ। हामीले आफैंलाई सोध्नुपर्छ, के सुनको थुप्रोले भोक मेट्छ ? के सुनले शिक्षा दिन्छ ? अब भन्नुपर्छ, सुनका कुरा छाडिदेऊ, समयमा मल देऊ अनि पो किसानका खेतमा सुनौला धानका बाला झुल्ने छन्।
यो नेपाली किसानको आत्माको आवाज हो। हाम्रो देशको वास्तविक ‘सुन’ खेतमा फल्ने धान हो, पहाडमा बग्ने पानी हो र श्रम गरेर पसिना बगाउने किसान हो।
तर विडम्बना के छ भने किसान मल नपाएर उत्पादन घटाइरहेका छन्, बजारमा मूल्यको सुनिश्चितता छैन र कृषि पेसा छाडेर युवा विदेश जान बाध्य छन्।
राज्यले सही समयमा मल, सिँचाइ र बजार सुनिश्चित गर्न सक्यो भने नेपालले आयात होइन, निर्यातको सपना देख्न सक्छ। त्यो दिन सुनका गहना होइन, खेतका बाला नै हाम्रो गर्व बन्नेछन्।
अनि नेपालीको अर्को चाहना हो, सुनौलो भविष्य जोखिममा राखेर सुनको खोजीमा कोही खाडी जानु नपरोस्। नेपालमा दैनिक दुई हजारभन्दा बढी युवा खाडी मुलुक जान्छन्।
उनीहरूको सपना सरल हुन्छ, केही वर्ष कष्ट गरेर पैसा कमाउने, घर बनाउने, परिवारको भविष्य सुरक्षित गर्ने। तर वास्तविकता प्रायः फरक हुन्छ। असुरक्षित काम, न्यून तलब, मानसिक तनाव, र कहिलेकाहीँ मृत्युसम्म।
अब हामीले सोच्नुपर्छ, किन आफ्नै देशमा अवसर छैन। नेपालले शिक्षा, उद्योग र रोजगारीमा लगानी गर्न सके युवा बिदेसिनुपर्ने बाध्यता हट्न सक्छ।
त्यो बेला ‘सुन कमाउन विदेश जानु’ होइन, ‘सुनौलो भविष्य नेपालमै बनाउनु’ सम्भव हुने छ। त्यस्तै शिक्षाको अभावमा बालबालिकाको सुनौलो भविष्य नबिग्रियोस् भन्ने आम नेपालीको चाहना हो।
नेपालको भविष्य विद्यालयमा बसिरहेका बालबालिकाको आँखामा देखिन्छ। तर अझै पनि गुणस्तरीय शिक्षामा पहुँच असमान छ, ग्रामीण क्षेत्रमा शिक्षकको अभाव छ र डिजिटल विभाजनले नयाँ खाडल सिर्जना गरेको छ।
शिक्षा केवल प्रमाणपत्रमा सीमित भयो भने हामीले पुस्ता गुमाउँछौं। तर शिक्षा जीवनोपयोगी, समावेशी र व्यवहारिक भयो भने त्यही बालबालिकाले भोलि ‘सुनौलो नेपाल’ निर्माण गर्नेछन्।
त्यसैगरी स्वास्थ्य नै वास्तविक धन भनेर हामीले सानैमा रटेका हौं। उपचारको अभावमा अबदेखि सुनौलो शरीरले मृत्युवरण गर्नु नपरोस्। स्वास्थ्य सेवा कुनै विलासिता होइन, आधारभूत अधिकार हो।
तर नेपालमा अझै पनि मुलुकमा सामान्य उपचारका लागि मानिसहरू सहर धाउन बाध्य छन्, महँगा अस्पतालहरूले धेरैलाई पहुँचभन्दा बाहिर राखेका छन् र ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीहरू कमजोर छन्। जब एउटा गरिब परिवारले उपचारको खर्च जुटाउन घर बेच्नुपर्छ तब त्यो समाज कति न्यायपूर्ण छ ? राज्यले स्वास्थ्यमा लगानी नगरेसम्म कुनै पनि आर्थिक समृद्धि अधुरो रहन्छ।
समृद्धि भनेको केवल जिडिपी वृद्धि होइन। मानिसको जीवनस्तर, सुरक्षा, अवसर र सम्मान। जब नागरिक खुसी हुन्छन्, तब मात्र राष्ट्र समृद्ध हुन्छ। जब राज्यले जनताको विश्वास जित्छ तब मात्र लोकतन्त्र बलियो हुन्छ। राज्य र नागरिकबिचको सम्बन्ध केवल कर र सेवाको होइन, विश्वास र आशीर्वादको पनि हो। राज्यले जनतालाई दिए जनताले राज्यलाई आशीर्वाद दिन्छन्।
सत्ता बलले टिक्दैन, विश्वासले टिक्छ र विश्वास कमाउन पारदर्शिता, जवाफदेहिता र संवेदनशीलता आवश्यक हुन्छ।
हामीले राज्य सञ्चालनमा पनि यही कुरा बुझ्नुपर्छ। जनताको सानो अपेक्षा पूरा गर्नु, उनीहरूको पीडा बुझ्नु र साँचो सेवा गर्नु त्यही नै सबैभन्दा ठुलो ‘सुन’ हो।
अन्ततः प्रश्न एउटै हो, हामी सुन खोज्दै छौं कि सुनौलो भविष्य ? सुन थुपार्न सकिन्छ तर त्यो सीमित हुन्छ तर सुनौलो बिहानी, त्यो सामूहिक हुन्छ, साझा हुन्छ, दिगो हुन्छ। हामी यस्तो नेपाल चाहन्छौं, जहाँ किसानको खेतमा सुनौला बाला झुलुन्, युवा आफ्नै देशमा अवसर पाऊन्, बालबालिकाले गुणस्तरीय शिक्षा पाऊन्।
अबको नेपालमा कुनै पनि नागरिक उपचारको अभावमा मर्न नपरोस्। त्यो दिन हामीलाई सुनका गहना देखाएर समृद्धि प्रमाणित गर्नुपर्नेछैन। किनभने हाम्रो समाज, हाम्रो जीवन र हाम्रो भविष्य आफैं ‘सुनौलो’ हुनेछ। नयाँ वर्षसँग सुन होइन, सुनौलो बिहानी ल्याउने आशा गरौं।
प्रकाशित: ३० चैत्र २०८२ २१:०४ सोमबार





