२९ माघ २०८२ बिहीबार
image/svg+xml
ब्लग

स्वाभिमान सुदृढ पार्ने सङ्कल्प

देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो। स्वाभिमान केवल राष्ट्रिय झण्डा ओढ्नु, असम्बन्धित ठाउँमा फहराउनु वा राष्ट्रगान गाउनु मात्र होइन, त्यसभन्दा चिन्तनशील कुरा हो। आफ्ना निर्णय अरूको दबाबमा होइन, आफ्नै हितअनुसार स्वेच्छाले लिन सक्ने क्षमता हो। आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउने भावनाको विकास हुनु हो। अन्य देशसँग सम्बन्ध राख्दा बराबरी र सम्मानको आधारमा राख्ने सोचलाई अगाडि बढाउनु र सोहीअनुरूप कुटनीतिक पहल गर्नु हो। देश कमजोर अवस्थामा हुँदा पनि ‘यो मेरो देश हो’ भन्ने भावनाको विकास गरी सुखदु:खमा चुनौतीको सामना गर्ने र जिम्मेवारी लिन सक्ने हिम्मत, आँट र साहसको अर्को नामहो, स्वाभिमान।

नेपाली बृहत् शब्दकोशमा स्वाभिमानको अर्थ– आफ्नो प्रतिष्ठा, महत्त्वमाथिको गरिमा;आत्मगौरव। आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान भनिएको छ। स्वाभिमान भएको; स्वाभिमान गर्ने व्यक्तित्वलाई स्वाभिमानी भनिएको छ। तर हाम्रोमा स्वाभिमान चर्को नारामा सीमित छ। स्वाभिमान नारा मात्र होइन, व्यवहारमा देखिनुपर्छ। भ्रष्टाचार नगर्नु, कानुनको पालना गर्नु, सार्वजनिक सम्पत्तिको सम्मान गर्नु र देशलाई कमजोर बनाउने कुकर्ममा चुप नलाग्नु स्वाभिमानका केही अंश हुन्। देशको स्वाभिमान आफ्नै खुट्टामा उभिन खोज्ने मनोबल हो। जहाँ कसैको गुलाम बन्नु पर्दैन र अरूलाई हेप्ने काम पनि हुँदैन। तर हामी नारामा अगाडि छौं र व्यवहार चाहिँ कमजोर भएको अवस्था छ। त्यसैले नेपालमा स्वाभिमान व्यवहारमा देखिने ठूला भाषणभन्दा साना तर निरन्तर कामबाट सुरु गर्न केही ठोस कुरा हुनु जरूरी छ।

मान्छेलाई स्वाभिमानी बन्ने बनाउने काम सरकारको मात्र जिम्मेवारी होइन, नागरिकस्तरको दायित्व पनि हो। हामी भ्रष्टाचार भयो भन्छौं, नागरिकले घुस नदिने र नलिने हो भने कसैले कसैप्रति आक्षेप लगाउनुपर्ने अवस्था रहँदैन। सबैको स्वाभिमान आकासिन्छ। नियम, कानुन पालना गर्ने बानीको विकास जनस्तरबाटै हुन सके राज्यप्रति गुनासो रहँदैन। सार्वजनिक सम्पत्ति ‘सरकारी होइन, हाम्रो हो’ भन्ने भावनाको विकास गरी संरक्षण गर्ने हो भने स्वाभिमान आफैँ जोगिन्छ। यस्ता स–साना कुराले देश कमजोर होइन, अनुशासित र आत्मसम्मानी बन्छ।

व्यक्ति पूजा गम्भीर विषय हो। व्यक्ति अथवा नेता होइन, नीतिलाई प्रश्न गर्ने संस्कार कति सान्दर्भिक हो ? यो निर्णय देशका लागि फाइदाजनक छ कि छैन ?आफ्नो व्यक्तिगत र राजनीतिक दलगत स्वार्थमा अल्झिनु राज्यका लागि कति हानिकारक वा फलदायि के छ ? आफ्नै पक्षको गलत काममा पनि आँखा चिम्लिने प्रवृत्तिले राष्ट्रिय नीतिमा कस्तो असर पार्छ ? यस्ता प्रश्नको उत्तर खोज्नुपर्छ। ‘आफ्नोलाई काखा अरूलाई पाखा’ भने जस्तै अहिले सामाजिक सञ्जालमा आफ्नाले गरेको कुसंस्कारको वकालत राम्रो लक्षण हो र ! त्यो राम्रो होइन, गलत काममा आफ्नोलाई पनि आलोचना गर्न सक्नु नै स्वाभिमान हो, राम्रो संस्कार हो।

आत्म सम्मान पाउन आत्मनिर्भर हुने इमानदार प्रयास हुनुपर्छ। सबै कुरा एकैचोटि आत्मनिर्भर हुन निश्चय पनि सकिँदैन। तर किसानलाई काम गर्न लाज नलाग्ने वातावरण, स्वदेशी सामानलाई प्राथमिकता, सीप र श्रमलाई सम्मान, देशले हात फैलाएर होइन, आफ्नै पसिनाले बाँच्न खोज्नुपर्छ। देशभित्र मात्र होइन, परराष्ट्र सम्बन्धमा भावनामा बहनेभन्दा हितका खाँतिर पाइला चाल्नुपर्छ। ठूला कुरा गरेर साना देशले स्वाभिमान पाउँदैन। सबैसँग मित्रताको धागोमा उनिनुपर्छ। कसैसँग दासता होइन, गलत कुरा चुप लागेर सहने होइन र चर्को बोलेर बिगार्ने पनि होइन। शान्त तर स्पष्ट कूटनीतिका साथ व्यावहारिक स्वाभिमान बँचाउन तल्लीन हुनु श्रेष्ठतम् उपाय हो।

अर्को तिर शिक्षा र चेतनामा लगानी हुन सक्यो भने देशले स्वाभिमानको पथमा हिँड्न सक्छ। नारा होइन, सोच बदल्ने शिक्षा चाहिन्छ। इतिहासलाई गर्वका लागि होइन, सिकाइका लागि पढाउने वातावरण हुनुपर्छ। ‘देशले के दियो?’ भन्दा पनि ‘मैले देशलाई के दिएँ?’ भन्ने नागरिक सोचको विकास गर्नुपर्छ। चुनावमा भोट दिएर मात्रै पुग्दैन, राज्यसत्ताका नकारात्मक कामलाई प्रश्न गर्न सक्ने सचेत नागरिक हुनुपर्छ।

स्वाभिमान भाषणको विषय होइन, दैनिकीको अभ्यास हो। सकारात्मक सोचका मान्छेहरू धेरै भए भने, ढिलो भए पनि देशको व्यवहार बद्लिन्छ। हामीकहाँ नागरिक, नेतावा प्रणाली कमजोर कडी हुन् जस्तो लाग्छ। व्यक्तिलाई जति दोष दिए पनि बिग्रेको प्रणालीले राम्रो मान्छेलाई पनि बिगार्छ। नेपालको यथार्थ यहीहो। अब ‘प्रणाली कसरी सुधार्ने र कडाइका साथलागू गर्ने ?’ भन्नेमा अलि गहिरिएर बहस गर्नु आवश्यक छ। हाम्रो समस्या नियम नहुनु होइन, धेरै भएर पनि लागू नहुनु हो। त्यसैले, नियम कम कार्यान्वयनमा कडाइ हुनुपर्छ। अनावश्यक ऐन–नियम हटाउने, प्रचलित नियम सबैलाई बराबरी लागू गर्ने, ठूलो–सानो, नेता–नागरिक नहेरी निष्पक्ष र पारदर्शी भएर काम गरेमा एउटा सकारात्मक बाटोतर्फ मुलुक डोरिन्छ। जब ठूला मान्छे पनि सजाय भोग्छन्, त्यही दिनबाट प्रणाली बाँच्न थाल्छ।

सरकारी सेवा डिजिटल र स्वचालित बनाउने, कर्मचारीलाई जवाफदेही बनाउने, इमानदार कर्मचारीलाई सम्मानदिने, भ्रष्टाचार वा लापरवाहीमा छिटो र कडा दण्डको व्यवस्था गर्न सक्नुपर्छ। ढिलो न्याय दिनू भनेको अन्याय हो भन्ने भाष्य निर्माण गरी न्याय प्रणाली छिटो र स्वतन्त्र बनाउन सक्नुपर्छ। मुद्दा टुङ्ग्याउने समयसीमा तोक्ने, राजनीतिक दबाबबाट जोगाउने, ठूला मुद्दा सार्वजनिक निगरानीमा राख्ने गरेमा शक्ति आफैं सन्तुलित हुन्छ। प्रणाली सधैं माथिबाट सुध्रिँदैन, तलबाट दबाब चाहिन्छ। यसका लागि सूचना पाउने अधिकारलाई लागू गर्ने, नागरिक, मिडिया, समाजलाई डर बिनाप्रश्न गर्न दिने वातावरणको सिर्जना गर्ने, भित्र लुकेको कुरा बाहिर ल्याउनेलाई कानुनी सुरक्षादिने र प्रणाली जनतासँग डराओस्, जनताले प्रणालीसँग होइन भन्ने आभाष दिलाउनुपर्छ।

साँच्चिकै स्वाभिमानी राज्य बनाउने हो भने राजनीति र प्रशासन छुट्याउनुपर्छ। नेपालमा यो ठूलो रोग बनेको छ। कर्मचारी सरुवा–बढुवा मापदण्डमा हुनुपर्छ। सरकार नीतिमा सीमित, कर्मचारी कार्यान्वयनमा स्वतन्त्र भएमा मात्र प्रशासन र प्रणाली दुवै स्थिर हुन्छ। यसले सुधार ल्याउँछ। सबै ठाउँ एकैचोटि सुधार्न नसकिने पनि एक दुई क्षेत्रमा कडाइ गरी उदाहरण पेश गरेमा अन्यत्र पनि प्रभाव पर्दछ। प्रहरी, भन्सार, स्थानीयतह जस्ता क्षेत्रमा शून्य सहनशीलता लागू गरी बिस्तारै अन्यत्र लागू गर्दै जानुपर्छ। तर प्रणाली सुधार्न जनतामा पनि सहने हिम्मत चाहिन्छ। कडा नियमको भार बोक्न सक्ने क्षमता चाहिन्छ।

निष्कर्षमा, स्वाभिमान नारा होइन, आत्म गौरव हो। देशको स्वाभिमान ठूला भाषण, चर्का शब्द वा भावनात्मक उफानले होइन, दैनिक व्यवहारले देखिन्छ। अनुशासन, इमानदारी र जिम्मेवारीमा स्वाभिमान अडिन्छ र उँचो बन्दै जान्छ। तर समस्या व्यक्तिमा भन्दा प्रणालीमा बढी छ। नेपालमा धेरै राम्रो मान्छे छन्, तर कमजोर र राजनीति प्रभावित प्रणालीले तिनीहरूको सद्भावनालाई निष्फल बनाइ दिन्छ। सबै प्रणालीको जरो राजनीति हो। न्याय, प्रशासन, शिक्षा सबैलाई राजनीतिले डोर्याइरहेको हुँदा सुधारको सुरुवात राजनीतिबाटै हुनुपर्छ। तर राजनीति जनताबाट अलग होइन, राजनीति माथिबाट मात्र होइन जनताको सहनशीलता, मौनता र पक्षपातबाट पनि बिग्रिएको छ। हामी जे सहन्छौँ, अन्ततः त्यहीबाट राजनीतिमा खराब तत्वले खेल्ने मौका पाउँछ। ‘सामान्य मान्छे’ले गर्न सक्ने कुरा पनि निर्णायक हुन सक्छ भन्ने हेक्का छैन।

यस्ता गहन कुरालाई हेक्का राखेर अनुशासित हुनु, जे गर्न सकिन्छ त्यही बोल्नु, सदैव स्वाभिमानी बन्नु यही नै व्यावहारिक देशभक्ति हो। यही नै प्रणाली सुधारको न्यूनतम तर शक्तिशाली आधार हो। नेपालमा स्वाभिमान सुदृढ पार्ने संकट सोचको होइन, अभ्यास र संकल्पको हो र त्यो अभ्यास र संकल्प सामान्य नागरिकबाटै सुरु हुन्छ। यही सोच नै देशको अन्तिम आशा हो।

प्रकाशित: २९ माघ २०८२ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App