इटालीविरुद्धको खेलमा सम्हालिएको प्रदर्शन गरिरहेको नेपालले अकस्मात् दोहोरो झड्का व्यहोरेको छ। राम्रो साझेदारी गरिरहेका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ४ बलको अन्तरमा आउट भएपछि नेपाल केही दबाबमा परेको हो।
पावरप्लेको अन्तिम ओभरमा कप्तान रोहित पौडेल आउट भए। क्रिशन कालुगामेगेको बलमा स्टिवर्टको हातबाट क्याच हुनुअघि रोहितले १४ बलमा २ छक्कासहित २३ रनको योगदान दिए।
कप्तान आउट भएको लगत्तै अर्को ओभरको दोस्रो बलमा अर्का सेट ब्याटर आसिफ शेख पनि पेभेलियन फर्किए। बेन मनेन्टीको बलमा विकेटकिपर मिडद्वारा स्टम्पिङ भई आउट हुँदा आसिफले २० बलमा २ चौकासहित २० रन बनाएका थिए।
४९ रनको स्कोरमा नेपालले लगातार दुई विकेट गुमाएको हो। ७.४ ओभरको खेल सकिँदा नेपालको स्कोर ५१ रन रहेको छ।
अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।
प्रकाशित: २९ माघ २०८२ १५:५१ बिहीबार





