४ वैशाख २०८१ मंगलबार
ब्लग

गठबन्धनको गलत ‘ग्राफ्टिङ’

फलफूलको नर्सरी संचालन गर्दै आएका क्षेत्रबहादुर लामा विभिन्न जातका विरुवालाई ग्राफ्टिङ (कलमी) गरेर उन्नत विरुवा उत्पादन गर्छन्। कलमीको उन्नत जातबाट हुने कमाइ घरखर्च र सन्तानको शिक्षामा खर्चिन्छन्।  

पछिल्लो समय नेपाली राजनीतिमा गठबन्धनको निकै चर्चा छ। विगतको समयमा राजनीतिमा आफैं पनि लागेकाले होला उनले अहिलेको गठबन्धन चाखपूर्वक हेरेका छन्। त्यसैले उनी गठबन्धनको जोडलाई पनि ‘ग्राफ्टिङ’ कोणबाट वर्णन गर्छन्।  

जस्तोकी आरुको हाँगामा चेरी जोडिन्छ। पँयूको हाँगामा ‘आलमोन्ड’ फलाइन्छ। त्यस्तै सुन्तलामा जुनार र कागतीमा सुन्तला जोडिन्छ। यो विधिमा विरुवाको प्रजाती मिलाएर जोड गरिन्छ र नयाँ फल प्राप्त हुन्छ।

अनुभवले होला कांग्रेस र माओवादीबीच भएको गठबन्धन फरक प्रजातीको विरुवाको जोड जस्तै लाग्छ उनलाई। ‘मैले सुन्तलाको बोटमा जुनार, कागती र भोगटेसमेत जोडेर फलाएको छु,’ उनी भन्छन्, ‘तर आरुको बोटमा सुन्तला जोडेर कहिल्यै फलाउन सक्दिनँ।’  

विगतमा नेकपा एमाले र माओवादीबीचको जोडलाई भने उनी सुन्तला र कागतीको जस्तै जोड ठान्छन्। ‘त्यसैले होला चुनावी नतिजा पनि मुन्तलाजस्तै मिठो रह्यो,‘ उनले हाँस्दै सुनाए, ‘अहिलेको ग्राफ्टिङ मैले बुझ्न सकेको छैन।’

योन्जनले जस्तो तर्क गरे पनि दलभित्रको आन्तरिक विवाद माँझ सत्ता गठबन्धनका दलहरु स्थानीय निर्वाचनमा पनि मिलेरै जान सहमत भएका छन्। ‘लोकतन्त्रको रक्षार्थ’ भन्दै चुनावी यात्रामा पनि मिलेरै जानुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड छ। कतिपयले त ‘रुखबाट कलम बन्छ तर कलमबाट रुख बन्दैन’ भनेर कांग्रेसलाई होसियार समेत गराएका छन्।  

आखिर के हो गठबन्धन? किन जरुरी थियो गठबन्धन। अनि एमाले गठबन्धनसंगै साच्चै नडराएको की नडराएजस्तो गरेको हो? के गठबन्धनको ग्यारेन्टी छ त? यस्ता प्रश्नहरुको प्रष्ट जवाफ छैन।  

कांग्रेसभित्रका केहीले गठबन्धन गर्न हुन्न एक्लै लड्नु पर्छ भन्दै आएका थिए। कांग्रेस सभापति देउवाले त ‘प्रचण्डले हार्ने चुनाव लड्छन र? भन्दै माओवादीले एमालेसंग मिलेर आफूलाई समस्यामा पार्नसक्ने तर्क सारे। अन्तत उनको तर्क हावी रह्यो।  

त्यसो त कांग्रेस र माओवादीबीचको यो पहिलो चुनावी गठबन्धन हैन। भरतपुरमा मेयरको लागि भएको गठबन्धन धेरैले बिर्सेका छैनन्। लामाले भनेजस्तै ग्राफ्टिङ सफल नदेखिएपनि भरतपुरमा मेयर पद जोडेरै छाडियो।

चुनावी गठबन्धनको चर्चा यहाँ मात्र हैन, छिमेकी मुलुक भारतमा पनि लामो समयदेखि चलेको हो। जब सत्तारुढ दल शक्तिसाली हुन्छन् तब विपक्षी एकजुट भएर चुनाव लडेको देखिन्छ। तर यस्ता गठबन्धन प्रायः सफल भएको देखिएन। ‘विहारमा भएको लालु र नितिशको महागठबन्धन बाहेक अधिकांस गठबन्धन असफल भएका छन्,’ भारतका चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर भन्छन्, ‘गठबन्धनको कुनै ग्यारेन्टी हुन्न।’  

दलहरुबीच गठबन्धन भएपनि जनता त्यसमा जोडिन्छन् भन्ने पक्का नहुने उनको बुझाई छ। प्रशान्त किशोरले भनेजस्तै नेपालको सत्तारुढ दलबीचको गठबन्धनमा के तिनका कार्यकर्ता र सुभेच्छुक मतदाता जोडिएका छन् त? छन् भने त ठिकै हो। नत्र गठबन्धन लामाले भनेजस्तै फरक प्रजातीका विरुवाका ग्राफ्टिङ जस्तो हुन्छ। जसलाई बाध्न त सकिन्छ तर जोडेर फल फलाउन सकिन्न।’

प्रकाशित: २२ चैत्र २०७८ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App