विपन्नताले घर बनाएको दुर्गमका महिलाको पाठेघरको पीडाले मानव समुदायको मनोदशा कति कमजोर छ भन्ने देखाउन थालेको छ। मानवीय संवेदनशीलता माथि प्रश्न उठाउन बाध्य पार्ने प्रसव पछिको पाठेघरको पीडाका कथाले स्वास्थ्य परिवर्तन गरेका छौ वा गर्छौ भन्नेहरुलाई गिज्याईरहेको देखिन्छ।
यौनी बाहिर पाठेघर झुण्ड्याएर त्यहाँ बनेको घाउबाट झम चुहाएर कष्टकर दैनिकी गुजारा गरिरहेका निर्दोष महिलाको समस्याका बारेमा तीनै तहका सरकारहरु मौन बसिदिँदा समस्या समाधान भएको छैन। लाजका कारण श्रीमान्, सासु वा साथीसँग समेत आफ्नो समस्या सुनाउन नसक्के सयौँ महिलाहरु आज पनि नारकीय जीवन जीउन बाध्य छन्।
घटना न. १
उमेर नपुग्दै १५ वर्षमा बिहे गरेकी तृष्णाको (नाम परिवर्तन) २० वर्ष उमेर पूरा नहुँदै २ बच्चा जन्मिए। दोस्रो बच्चा जन्मेको ३ महिना मै पाठेघर खसेपछि पनि उनले अरु ३ सन्तानलाई जन्म दिइन्। छोराको लालसामा ५ सन्तान जन्माउन बाध्य उनको पाठेघर बाहिर निस्केर घोटिए पछि घाउ बन्न थाल्यो। फेरि गर्भ रहन सक्ने एउटा चिन्ता अनि झरेको पाठेघर साप्रोमा घोटिएर बनेको घाउले तृष्णालाई दिनु सम्मको पीडा दियो।
अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिनदिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटे पछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्। छिमेकीले घरछेउको मेडिकलमा लगे। सामान्य उपचारपछि नेपालगञ्ज पुर्याइएकी उनको शल्यक्रियापछि पाठेघर फालिएको थियो। यतिबेला तृष्णा पाठेघर फालेपछि सुकुनले जीवन बाँचिरहेकी छिन्।
घटना न. २
बाला उमेरमा बिहे रोजेकी रजनीले (नाम परिवर्तन) २० वर्ष नपुग्दै ३ सन्तान जन्माईन्। डाँडाँ माथिको घर अनि तल पानी पधेँरो। सुत्केरी अवस्थामा पानी भर्न उकाली-ओराली गर्दागर्दै पाठेघर झर्न सुरु भएपछि उनको अँध्यारो भविष्य सुरु भयो।
पाठेघर झर्न थालेपछि थप तीन बच्चा जन्माएकी रजनीका श्रीमानले यौन सन्तुष्टीमा कमी आएको भन्दै अर्को बिहेको तयारी सुरु गरे। सौता भित्रिने त्रासले उनले प्लाष्टिकको बल योनी भित्र छिराएर पाठेघर अड्याउने प्रयास गरिन्। प्लाष्टिकको बलले रजनीलाई हुनुसम्मको पीडा दियो। एकदिन साथी सल्लाहमा पहिलो पटक लाज मानीमानी अस्पतालको दैलोमा पुगेपछि उनलाई चिकित्सकले प्रयोग गरिदिएको रिङ प्रेसरीले नयाँ जीवन दिएको अनुभव भएको छ।
घटना न. ३
१६ वर्षको उमेरमा बिहे गरेकी ताराले (नाम परिवर्तन) ३६ वर्षको उमेर पुग्दासम्म ७ सन्तान जन्माईन्। २५ वर्षको उमेरबाट पाठेघर झर्न सुरु भएपछि उनको जीवन नारकीय बन्न थालेको थियो।
परिवारलाई छोराको चाहाना अनि श्रीमानलाई दैनिक लाग्ने यौन प्यासले ताराको प्रजनन स्वास्थ्यले हुन सम्मको दुःख पायो। पाठेघर झर्न थालेपछि उनले साथीहरूसँग सल्लाह लिन थालिन्।
छिमेकी साथीले गोठालो गएका बेला पल्लो गाउँमा ३ हजारमा चुरी राख्छ। मैले चुरा हालेर आएपछि सजिलो भएको छ भनेको सुनिन्। उनको कुरा सुनेपछि ताराले पनि आफैँ काचको चुरा यौनीभित्र राखिन्। केही समय सजिलै भयो तर पछि पछि धेरै रगत बग्न थाल्यो। असाध्यै दुख्यो। गाह्रो भयो।
तारा चिकित्सककाेमा आउँदा पाठेघर अड्याएको काचको चुरा फुटेको थियो। अप्रेशन गरेर पाठेघर फालेपछि तारालाई नयाँ जीवन पाएको अनुभूति भएको छ।
माथिका प्रतिनिधि घटना गाउँघरतिर वर्षौदेखि निरन्तर घटिरहेका छन्। देशमा आएको राजनीतिक परिवर्तनले महिलाको स्वास्थ्यमा नयाँ गोरेटो कोर्न नसकेको देखिन्छ। महिलाको प्रसव र त्यसपछिका पीडाका बारेमा सरोकारवालाले नजर पुर्याउन नसक्दा आज पनि धेरै आमाहरु पाठेघर झुण्ड्याएर घास दाउरा गरिरहेका छन्।
धेरै ठूलो लगानीको आवश्यकता नपर्ने पाठेघरको शल्यक्रिया शिविर र रिङ प्रेसरी लगाउने सम्मको सेवा नपाउँदा महिलाहरुले हैरानी बेहोर्नु परेको हो। हुन त सरकारले सेवा सुरु गरेका केही ठूला अस्पतालहरुमा निःशुल्क शल्यक्रिया हुने गर्दछ तर त्यहाँसम्म आमनागरिकको पहुँच पुग्ने गरेको छैन।
जिल्ला जिल्लामा स्वास्थ्यका नाममा वर्सेनी खर्च हुने ठूलो रकम महिलाको पाठेघरसम्म कहिले पुग्दैन। बजेट बनाउने केन्द्र, प्रदेश र स्थानीय तहहरुले ग्रामीण क्षेत्रका महिलाको समस्या सम्बोधन गर्न नसक्दाको परिणाम हो प्रजनन र पाठेघरको समस्या ।
लेखक ओरेक रुकुमका जिल्ला संयोजक हुन् ।
प्रकाशित: ५ भाद्र २०७८ ०७:१४ शनिबार


-600x400.jpg)


