३० आश्विन २०७८ शनिबार
ब्लग

लालसाविहीन दुर्गमका मुहार

पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस्थामा छन्। निस्वार्थीहरूको बस्तीमा नजर नपुगेका कारण परिवर्तनले गोरेटो कोरेको छैन।  

२०५२ देखि २०६३ सम्म देशमा चलेको आन्तरिक द्वन्द्वले थिलोथिलो भएका बस्तीहरूमा आज पनि अभाव चुलिरहँदा पनि स्थानीयहरूमा ठूलो अपेक्षा केही छैन। मेहनत गरेर दुई छाकको जोहो मात्र गर्न पाए अन्य गुनासो देखिँदैन। प्रतिफलबिनाको मेहनतले अपेक्षित उपलब्धि नदेखिएको हो।  

भौगोलिक विकटताभित्र एकदमै दयनीय अवस्था रहे पनि भोको पेट रमाउन विवश उनीहरूसँग आम्दानीको स्रोत जुटाउने पर्याप्त जमिन छैन। मेहनत गर्छन् तर छाक टार्न पुग्दैन। भएको थोरै जमीनमा पनि गतिलो उत्पादन हुँदैन। स्थानीयहरू बिहानदेखि बेलुकासम्म मरेर काम गरे पनि छाकको गर्जो टार्न सकस हुने गर्दछ।  

रुकुममा द्वन्द्वले धेरैलाई एकल बनाएको छ। त्यसो त रुकुममा समयसमयका प्रकोप र रोगले पनि धेरैको घर उजाडेको छ। विशेष गरी महिलाहरू उमेरभन्दा पहिले बुढ्यौलीले छोएका जस्ता देखिन्छन्। लैङ्गिक हिंसा त झनै कहालीलाग्दो छ। सानो उमेरमा बिहे गर्ने गरेका कारण हिंसाको दर बढ्दो गतिमा छ।  

साँझबिहानको छाक टार्न मुिस्कल भएका कारण पोषणको कुरै देखिँदैन । बाला उमेरमा विवाह अनि त्यसपछिको आर्थिक विपन्नताले महिलाहरू शारीरिक र मानसिक रूपमा कमजोर बन्ने गर्दछन् । गाउँमा आज पनि बहुविवाह समेत उत्तिकै छ। अपराधका रूपमा स्वीकार नगरेका कारण बालविवाह र बहुविवाह घट्न सकेको छैन ।  

द्वन्द्वका कारण आज पनि स्थानीयहरू मानसिक रूपमा स्वस्थ्य छैनन्। नाङ्गो आँखाले हेर्दा अस्वस्थ्य नदेखिए पनि अधिकांशमा मानसिक समस्या छ। चिकित्सकका अनुसार बिरामी परेर अस्पताल आउनेहरू शारीरिक समस्या लिएर आए पनि भित्री समस्या मानसिक नै हुने गर्दछ। मानसिक समस्यालाई गम्भीरताका रूपमा लिने प्रचलन नहुँदा जहिल्यै सकस हुने गर्दछ।  

उत्पादनयोग्य जमीनन नहुनु र भएकोमा पनि उत्पादन नहुनु अर्को मुख्य समस्या हो। उत्पादन बढाउन र रोजगार बढाउन सरकारीतर्फबाट खासै चासो दिएको पनि पाइँदैन। रुकुमका बस्ती नियाल्दा अब दुर्गममा विकास भनेको सडक मात्र हो भन्ने मानसिकता त्याग्नुपर्ने देखिन्छ ।  

गाउँमा विद्यालय छोडेर भारत मजदुरी गर्नुको विकल्प देखिँदैन। जसका कारण आज पनि स्थानीयहरू कलिलो उमेरमा भारत वा अन्य मुलुकमा जाने दर व्यायापक छ। छाक टार्न  सकस पर्ने घरहरूमा पुरुषको अभाव पनि उत्तिकै छ ।

यहाँ अन्य समस्याका बिचमा प्रजनन स्वास्थ्यको समस्या झनै भरपुर छ । सानोमा बिहे गर्नु अनि स्वास्थ्यको ख्याल नगर्नु झनै ठूलो खतरा देखिन्छ । जसका कारण पाठेघर खस्ने समस्या व्यापक छ। दुर्गम गाउँमा शिक्षाजस्तै स्वास्थ्य पनि एकदमै कमजोर देखिन्छ ।  

रुकुममा द्वन्द्व र गरीबीका कारणले सबैभन्दा ठूलो समस्या मानसिक स्वास्थ्य देखिन्छ तर सरकारीतर्फबाट यसलाई समस्याका रूपमा लिएको देखिँदैन। मानसिक उपचार त परै जावस् मनोविमर्श र मनोपरामर्शतर्फ समेत कोही कसैको ध्यान गएको देखिँदैन।  

स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विद्यालय शिक्षा, सचेतनामुलक कार्यक्रमसंगै मनोविमर्श र मनोपरामर्शलाई व्यापक बनाउनुपर्ने बताउँछन्। मानसिक रूपमा स्वस्थ्य नभएसम्म व्यक्ति गतिशील हुन नसक्ने उनीहरूको ठहर छ।  

अबका दिनमा विगतको समीक्षा गर्दै ३ तहका सरकार यस्ता विषयमा संवेदनशील बन्नुपर्ने जरुरी देखिन्छ। त्यसो त स्थानीय सरकारले आफूसक्दो प्रयास गर्ने गरेको भए पनि विज्ञताको अभावका कारण गतिलोसँग गति लिएको भने देखिँदैन। भौतिक विकाससंगै मानवीय विकासलाई पनि समानान्तर रूपमा अगाडि लैजान सके मात्र रुकुमले मुहार फेर्ने देखिन्छ।  

(लेखक ओरेक रुकुमका जिल्ला संयोजक हुन्।)

प्रकाशित: २५ असार २०७८ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App