११ असार २०७८ शुक्रबार
ब्लग

बाबा! मलाई दाइजो चाहिँदैन

दाइजो अर्थात् दहेज भन्नासाथ तराई सम्झनु स्वभाविक हो। अहिलेको समयमा पनि यो प्रथाको चलन रहदै आएको छ। विवाहको नाममा चाहिनेभन्दा बढी मात्रामा पैसा तथा सामानको माग नै दाइजो हो। जति धेरै दाइजो त्यति धेरै छोरीले खुसी  पाउँछन् भन्ने कति मातापिताको सोच रहेको पनि देखिन्छ। आफ्नो छोरीले उनको श्रीमानको घरमा दुःख नपाऊन् भनेरै सकेकोभन्दा पनि बढी मागअनुसार दाइजो दिने चलन रहेको छ।  

यो चलन आफैंमा राम्रो होइन। प्रथा सबै नराम्रो हो। तराईको चेली भन्नासाथ धनीले शानका रुपमा दाइजो दिन्छन् भने गरिबको लागि यो एक अभिशाप नै बन्न पुग्छ। धेरै घटनाहरु दाइजो सम्बन्धमा बाहिर आएता पनि यसमा कमी आउन सकेको छैन। एक गरिब परिवारले आफ्नो गर्भमा नै रहेकी छोरीको हत्या गरिएको कारण पनि यस विषयलाई जोड्दा सायद् राम्रो होला। किन ? छोरो जन्माउनका लागि तराईजस्तो क्षेत्रमा दशौं छोरी जन्माउँछन्। यस घटनालाई कसरी लिन्छ समाजले। कसले गरिबको पीडा बुझ्ने?  

विवाह गर्दा छोरीपट्टिको परिवारलाई बढी नै धपेडी पर्ने गर्छ। चिन्ता भने दाइजोको रहन्छ नै। सायद यसै कारणले होला केही परिवारले छोरीलाई शिक्षा होइन, दाइजो दिन्छन्। कहिले सकिन्छ यो प्रथा? सानैदेखि राजधानीमा बसेकोले होला सायद्, मलाई पनि यो प्रथाजस्तो लाग्ने गरेको छ। त्यसैले भन्छु, बाबा मलाई दाइजो चाहिदैँन।  

दाइजो कुरिति बनेको छ। यसलाई महिला हिंसाका कारकका रुपमा बुझन सकिन्छ। यस हिंसामा महिला होइन परिवारले नै दुःख पाउने गरेको छ। करले दिनुपर्ने दाइजोको रकमका लागि कैयौं चेलीहरुको सपना दबिन्छ। दाइजो दिन नसके मण्डपबाटै बिहे रद्द हुने, विवाह मण्डपमा नै बेहुलीलाई छोडेर जानेजस्ता गरेको घटना पनि सुनिँदै आएको छ। यो पनि एक किसिमको अपराध हो। तर यस अपराधले अन्य अपराधहरुलाई जन्म दिइरहेको छ। महिला हिंसा, आत्महत्या, कुटपिट, धम्की आदि दाइजोका कारण विकसित भइरहेका घटना हुन्। छोरी जात अर्काको घरमा जाने जात हुन् त्यसैले नेपाली समाजमा अरुको घर जाँदा दाइजोको निहुँमा धेरै कठिन परिस्थति आउने गरेको छ। कैयौं महिलाहरु जल्छन् त केही आफ्नो मनमा आगोको राप लिएर बसेका हुन्छन्।  

यदि दाइजो लिनु अपराध हो भने दिनु पनि अपराध। विवाह दुई व्यक्तिबीचको जीवनभरको पवित्र सम्बन्ध भएता पनि कसैको जीवन बर्वाद नै गरिदिने हतियार बनेको छ, दाइजोे। माग अनुसार दाइजो नपुगेको खण्डमा कैयौं मानिसले शारिरीक तथा मानसिक पीडासमेत दिने गरेको सुनिन्छ।  

केही दिनअघि भारतमा  दाइजोसँग सम्बन्धित एक अनौठो घटना घट्यो। सो घटनामा भारतको गाजियावादमा एक पतिले आफ्नी पत्नीलाई ३ गोली हाने। २०२० को फ्रेबुअरीमा उनीहरुको विवाह भएको थियो। तर दाइजोका कारण उनकी २४ वर्षीया पत्नी सोफियालाई गोली हानी हत्या गरे। सोफियाका परिवारले दाइजोमा ५० लाख नदिएको भन्दै उनीहरुबीच दैनिक झगडा हुने गरेको सोफियाका परिवारले प्रहरीलाई बताए। उनीहरुबीच यति धेरै तनाब दाइजोकै कारण बढेको थियो। सोफियाका परिवारले उनको हत्यापश्चात् दाइजोको निषेध कानुनअन्तर्गत एफआईआर दर्ता गराएका छन्। तर कुनै कानुनले उनको छोरी फिर्ता गर्न सक्दैन। यो घटनाले दाइजोका कारण केसम्म हुन सक्छ भन्ने कुरा झल्काएको छ। यो सानो र प्रतिनीधि उदाहरण हो। प्रत्येक दिन सोफियाहरु मरिरहेका हुन्छन्। कोही देह त्यागेर मर्छन् भने कोही जिउँँदै।

भारत र नेपाल दुवै देशमा दाइजोको चलन रहेको छ। विगतदेखि चलिआएको यो प्रथा अझै पूर्ण रूपमा हट्न सकेको छैन। वर्षौंअघि पुरुषप्रधान देशमा महिलालाई शिक्षा नदिई विवाहमा दाइजो दिने चलन थियो। नेपाल र भारतमा दाइजोको चलन चलिआएको भारतमा पनि दाइजोसँग अनेक घटना घट्ने गरेको छ। अहिले नारी शिक्षालाई पनि उतिकै प्राथमिकता दिइने गरिएको छ। महिला पनि पुरुष सरह नै शिक्षितसंगै सबै काममा अब्बल हुने गरेको छ। घरबाहेक बाहिर कार्यालय, ब्यावार आदिमा महिला पनि अब्बल छन्। तर दाइजो प्रथा भने झनै गम्भीर भइरहेको देखिन्छ।    

समाज अब दाइजोमुक्त हुनु पर्दछ। समय परिवर्तनशील छ। म तराईकी एक चेलीका नाताले भन्न चाहन्छु,कि ‘बाबा! मलाई दाइजो चाहिँदैन।’

प्रकाशित: २६ जेष्ठ २०७८ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App