२३ फाल्गुन २०७७ आइतबार
ब्लग

सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू

सन्दर्भ : विश्व सिमसार दिवस

आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्नका लागि आह्वान गर्नु पनि हो। अब एकैछिन सिमसार भन्नाले के बुझिन्छ ? त्यसको बारेमा छलफल गरौँ। सामान्यतः सिमसार भन्नाले सधैँभरि पानीले ढाकेको र पानी जमेको धापिलो क्षेत्रलाई बुझिन्छ। राष्ट्रिय सिमसार नीति २०१२ (परिमार्जित) का अनुसार जमिनको सतहमुनिबाट निस्केको पानी वा वर्षात्को समयमा संकलित पानी जमेर बनेको बाह्रैमास पानी भएको जमिन जसमा पानी निरन्तर बगिरहने पनि हुन सक्छ वा पानी जमिरहने पनि हुन सक्छ। यस्ता भूभाग प्राकृतिक वा मानव निर्मित र स्थायी वा अस्थायी दुवै हुन सक्छन्। उक्त परिभाषालाई आधार मान्दा सिमसार क्षेत्रअन्तर्गत ताल तलैया, पोखरी, आहाल, पानीेले ढाकेर दलदल भएको क्षेत्र, पानीको मूल भएको भाग वा मुहान, धापिलो क्षेत्र, नदीतटीय ढाव र उक्त क्षेत्र वरिपरिको कृषि भूमिसमेत पर्छन्।  

तसर्थ पनि पानी र सिमसार क्षेत्रबीचको सम्बन्ध नङ र मासु जस्तै छ। पानी भएन भने सिमसार क्षेत्रको अस्तित्व नै धरापमा पर्छ। अर्कोतिर सिमसार क्षेत्र नै नरहे पानी जम्मा हुने ठाउँ नै हँुदैन। अनि सिमसार क्षेत्रबाट प्राप्त हुने विभिन्न वस्तु तथा पारिस्थितिकीय सेवाहरू नै समाप्त हुने र मानव सभ्यता नै खतरामा पर्न सक्छ। त्यसैले पनि सिमसार क्षेत्र र पानीको समुचित व्यवस्थापन गर्नु आवश्यक छ र यसो हुन सकेमा मात्र वातावरणीय प्रणाली हराभरा र स्वस्थ राख्न सकिन्छ। अन्ततोगत्वा यसले हाम्रो सामाजिक र आर्थिक प्रणालीलाई समृद्ध बनाउन महत्वपूर्ण टेवा पुग्नेछ। यस वर्षको सिमसार दिवसको नारा ‘सिमसार तथा पानी’ को मुख्य उद्देश्य पनि यहि महत्वलाई उजागर गरी सिमसार क्षेत्र र पानी दुवैलाई संरक्षण, समुचित र वैज्ञानिक व्यवस्थापन गर्न हामी सबैको अहं दायित्वलाई प्रष्ट्याउनु हो। त्यस मानेमा पनि यस वर्षको नारा अत्यन्तै सान्दर्भिक र मार्मिक छ।

सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को पूर्णरूपमा कार्यान्वयन गर्ने, समय–समयमा पुनरावलोकन गर्ने र आवश्यकताअनुरूप परिमार्जन गर्दै लैजानु आवश्यक छ।

यसको महत्व  

मानव जगत्, कृषि तथा जैविक विविधताका लागि सिमसार क्षेत्रहरू अति नै ऊर्वर भूमि मानिन्छ। यस्ता क्षेत्र असंख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण बासस्थान हुन्। कतिपय प्रजातिले आफ्नो प्रजनन कार्यका लागि पनि सिमसार क्षेत्र प्रयोग गर्छन्। खेतीपाती, वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा वन क्षेत्रभित्र वा बाहिर रहेका यस्ता सिमसारको महत्वपूर्ण योगदान छ। विभिन्न तालतलैया, पोखरीहरूले भलबाढीलाई सञ्चय गरी बाढीलगायत अन्य प्राकृतिक प्रकोपबाट संरक्षण गर्न, तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। साथै अध्ययन÷अनुसन्धान कार्यमार्फत प्राकृतिक अवयवसम्बन्धी जानकारी बढाउनसमेत सिमसार क्षेत्रको योगदान अतुलनीय छ।  

विभिन्न प्रतिवेदनले औल्याएअनुसार सिमसार क्षेत्रको पारिस्थितिकीय प्रणाली र यहाँको जैविक विविधता अन्य क्षेत्रको भन्दा धेरै गुनाले प्रचुर र समृद्ध छ। सिमसार क्षेत्रबाट माछालगायतका व्यवसाय सञ्चालन गरी विपन्न तथा खास समुदायका मानिसले जीविकोपार्जन चलाउने अवसर पाएका छन्। यसका अलावा यस्ता स्थानमा मनोरञ्जन र पर्या–पर्यटनसम्बन्धी क्रियाकलापहरू सञ्चालन गरेर असंख्य मानिसले आ–आफ्नो जीविकोपार्जन धान्ने मौका पाएका छन्।

चुनौती

सिमसार क्षेत्रबाट असंख्य फाइदा पाइने भए तापनि (अ) मानवीय गतिविधिले गर्दा सिमसार क्षेत्रहरू विभिन्न समस्याको चपेटामा परिरहेका छन्। जस्तै– सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ र जथाभावीरूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ। सिमसार क्षेत्र र यसको उपल्लो क्षेत्रमा प्रयोग गरिने विभिन्न रासायनिक पदार्थ तथा विषादीहरूको प्रयोगबाट त्यहाँ रहेका विभिन्न वनस्पति र जीवजन्तुलाई नराम्रो असर पुर्‍याएको छ।  

कैयन् सिमसार क्षेत्रहरूको अझै पनि स्पष्ट सिमाना निर्धारण गर्न नसकिएका कारण मानिसले उक्त स्थानहरूको अतिक्रमण गरी घर÷टहरा बनाउने र खेतीपाती गर्ने गरेका छन्। त्यस्तै विभिन्न किसिमका मिचाहा प्रजातिको फैलावट, विषादी तथा करेन्टको प्रयोग गरी माछा तथा जलीय जीवहरूको अवैध संकलन, सिमसार क्षेत्रमा पाइने वस्तुहरूको अधिक संकलन र अवैधरूपमा चोरी निकासी, अव्यवस्थित पूर्वाधार र बस्ती विकास, सिमसार क्षेत्रको वरिपरि जथाभावी सडक बाटोहरूको निर्माण र उपल्लो तटीय क्षेत्रबाट आउने बाढी÷पहिरोले ल्याउने ढुङ्गा–माटो, गेग्¥यान आदि थुप्रिने कारण सिमसार क्षेत्रहरू पुरिँदै जाने र अन्ततः लोप हुने अवस्थामा पुगेका छन्।  

साथै बाहिरबाट आयातित प्रजातिहरूका कारण त्यहाँ भएका रैथाने प्रजातिहरू लोप हुन थालेका छन्। जस्तै– विभिन्न तालतलैयाको वरिपरि पाइने जङ्गली धान, काहुनु, कमल जस्ता रैथाने प्रजातिहरू हाल लोप हँुदै गएको अवस्था छ। साथै शर, कत्ले, वाम जस्ता रैथाने माछाका प्रजातिहरू पनि लोप हँुदै गएका छन्। ठूला ठूला बाँधहरूका कारण पानीमा बस्ने जीवजन्तुहरूलाई तलदेखि माथिसम्म आवत्जावत् गर्न समस्या परेको छ। जसले गर्दा त्यस्ता प्रजातिहरूको जनसंख्या खण्डीकरण हुने र अनुवांंिशक विशेषतामा ह्रास आई उक्त प्रजातिहरू विस्तारै लोप हुन सक्ने खतरा हुन्छ।  

जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षामा भएको परिवर्तनले पनि सिमसार क्षेत्र निकै प्रभावित भएको पाइन्छ। सुक्खा र खडेरीका कारण पानीको मुहान सुक्दै जानाले उक्त क्षेत्रमा पानीको तह कम हुँदै गएको छ। त्यस्तै खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिका कारणले पनि पानीको मात्रा र उपलब्धतामा प्रभाव परेको छ। भूस्खलन र बाढी/पहिरोले गर्दा ढुङ्गा–माटो, गेग्¥यान आदि पदार्थ थुप्रन गई सिमसार क्षेत्रहरू पुरिँदै गएका छन् र उक्त क्षेत्रहरू क्षयीकरण हुँदै गएका छन्।  

सिमसार क्षेत्र र यसको वरिपरि भएका यस्ता प्राकृतिक तथा मानवीय गतिविधिहरूका कारण सिमसार क्षेत्रमा रहेको जलीय जैविक विविधता र परिस्थितिकीय प्रणालीको शृंखलामा नकारात्मक असर देखिन थालिएको छ। यसबाट त्यहाँको स्रोतमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेका छन्। यदि सिमसार क्षेत्रमा यस्ता गलत गतिविधिहरूको यही दरमा निरन्तररूपमा रहिरहने हो भने केही वर्षपछि सिमसार क्षेत्रको अस्तित्व नै खतरामा पर्ने र त्यहाँ रहेको विशिष्ठ सभ्यता नै बिलाएर जान सक्ने तथ्यलाई नकार्न सकिँदैन। साथै नेपाल सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्नु पनि महत्वपूर्ण चुनौतीका रूपमा लिन सकिन्छ।  

संरक्षणका उपाय  

सिमसार क्षेत्र व्यवस्थापनमा महसुस गरिएका उपयुक्त चुनौतीलाई समयमा निराकरण गर्नु अत्यन्त जरुरी छ। पहिलो कुरा त नेपाल सरकारले तयार पारेको राष्ट्रिय सिमसार नीति २०१२ र राष्ट्रिय रामसार रणनीतिक तथा कार्ययोजना (२०१८ देखि २०२४) को पूर्णरूपमा कार्यान्वयन गर्ने, समय–समयमा पुनरावलोकन गर्ने र आवश्यकताअनुरूप परिमार्जन गर्दै लैजानु आवश्यक छ। त्यसैगरी सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारण जनता र विभिन्न निकायका कर्मचारीमा जनचेतना जगाउनका लागि छलफल तथा तालिमहरू आयोजना गर्न सकिन्छ। साथै विभिन्न एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट नियमितरूपमा सिमसार क्षेत्रको महत्व र संरक्षणका उपायबारे सन्देशमूलक सूचनाहरू प्रवाह गर्न सकिन्छ।  

सम्बन्धित सिमसार क्षेत्रको वरिपरि वा उपल्लो तटीय क्षेत्रमा पूर्वाधारहरूको डिजाइन र निर्माण कार्य गर्दा वातावरणीय पक्षलाई ध्यानमा राखीे बायोइन्जिनियरिङ पद्धति अवलम्बन गर्नुपर्छ ताकि उक्त संरचना बनाउँदा पहिरो र माटो कम बगोस् र तल्लो तटीय क्षेत्रमा कम क्षति पुगोस्। साथै सिमसार क्षेत्रबाट विभिन्न प्रकारका पदार्थ, जस्तै– पानी, ढुङ्गा, गिट्टी र बालुवाको जथाभावी उत्खनन गर्ने कार्यमा रोक लगाइ वैज्ञानिक पद्धतिअनुसार संकलन र उत्खनन गर्ने नीतिगत व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ। उक्त व्यवस्थाका विपरित काम गर्ने जोकोहीलाई पनि नियामानुसारको दण्ड/जरिवाना गर्नुपर्छ ताकि अरूले पनि भविष्यमा त्यस्तै गलत मनसायले काम गर्ने आँट गर्न नसकोस्।  

त्यस्तै सिमसार क्षेत्रको राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्व तथा अन्य सर्वस्वीकार्य मापदण्डका आधारमा वर्गीकरण गरी महत्वपूर्ण ठानिएका सिमसार क्षेत्रहरूको एकीकृत व्यवस्थापन योजना तयार गरी त्यसको कार्यान्वयनमा संविधानले प्रदत्त हक अधिकारबमोजिम स्थानीय, प्रादेशिक र संघीय सरकारको जिम्मेवारीहरू स्पष्टरूपमा किटान गर्नु आवश्यक छ। जस्तै– उक्त कार्ययोजनाअनुसारका फिल्डस्तरका कार्यक्रमहरू तयार पारी सम्बन्धित स्थानीय सरकारले कार्यान्वयन गर्ने, सम्बन्धित प्रादेशिक सरकारले नियमितरूपमा अनुगमन गर्ने र प्राविधिक सरसल्लाह दिने साथै संघीय सरकारले उपर्युक्त नीति नियमहरू तयार गरी स्रोतको व्यवस्थापन र लाभको समन्यायिक वितरण गर्ने पद्धति तय गरी सोअनुरूप काम गर्ने परिपाटी बसाउने। साथै बहुसरोकारवाला निकायहरूको मञ्च तयार पारी वर्षमा कम्तीमा दुईपटक बृहत्तर छलफल गरी वार्षिक योजना तयार पार्ने र योजनाअनुरूप प्रगति, सिकाइ र बाधा–अड्चनको समीक्षा गर्ने परिपाटीले सबैको अपनत्व बढाउन र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ।

 

प्रकाशित: २० माघ २०७७ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App