८ वैशाख २०७८ बुधबार
ब्लग

‘आँशु’ कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बराहाताल गाउँपालिका वडा नं.–६, स्थित एउटा इखेनी भन्ने गाउँ रहेछ । भेरी नदीले तयार पारिदिएको  फाँटमा आदिमकालको झल्को दिने केही केटाकेटीहरुले भरिएको एउटा गाउँ । हामी हिँड्दै गर्दा गाउँको गोठ जस्तै देखिने एउटा छाप्रो अगाडि पुग्यौं । त्यो छाप्रोको तल एउटा गोरु बाँधिएको थियो । हामीलाई त्यो छाप्रो गोठ हो भन्ने पक्का भयो । अचानक त्यहाँ एक तला माथिबाट तीन जना नानीहरु फुत्त देखा परे । त्यो छाप्रो उनीहरुको घर पो रहेछ । त्यहाँका प्रायजसो घरहरु त्यस्ता त्यस्तै थिए । एकै नासका । माथि मान्छेहरु बस्थे, तल गाईबस्तु । प्रायजसो घरका तल्ला भाग खालीखाली थिए । तिनीहरुसँग सायद अर्को गाई पनि थिएन ।  
अनुमित लिएर फोटो खिच्दा तिनीहरु खित्का छाडेर हाँसे । तर, हामीलाई थाहा थियो कि त्यो हाँसो केही समयको लागि मात्रै हो ।  

त्यही गाउँको अलिकती पर त्यो भन्दा अलि ‘भव्य’ अर्को घर पनि थियो । त्यो घरमा आधा नाङ्गो शरिरमा एकजना बृद्धबृद्धा बसेका रहेछन् । उमेरले झण्डै ६० भन्दामाथि देखिने ति वृद्धा सुल्पामा तम्बाकु तान्दै तिए । उनलाई देख्दा त्यहाँको औषत आयू सहजै अनुमान गर्न सकिन्थ्यो । उनी बसेको घरको ढोका झारहरु उनेर बाँसले बनाइएको ढक्कन जस्तै थियो । अनी घर पनि घर मालिक जस्तै नाङ्गो थियो । मैले दाई फोटो खिचम् भने । उनले सुल्पाको पोज दिए । सुल्पाको धुँवा हावामा भरुरु.... उड्यो । छाती फुल्यो । मानौ कि कुनै फिल्मको डन जस्तो । पछाडी पट्टी उनकी श्रीमतीले मुन्टो लुकाइन । ‘छि मलाई त लाज लाग्छ के !’ केही समय कुर्दा पनि उनको मुन्टो माथि उठेन । अनि फोटोमा पनि उनी आधाआधा हराइन् ।   

गाउँको अलि पर एउटा घरको तल्लो भागमा दुई जना बालबालिकाहरु मकै सोर्दै थिए । त्यो सोरिएको मकैको पिठो अव वर्षभरी छाक टार्ने अन्न हुनेछ । किनकी यहाँ गहुँ र धान फल्नलाई पानी छैन । अनी किन्नलाई पैसाको श्रोत पनि त छैन । नानीले मकै सोर्दै दुना रट्दै थिइन ।  

९ आठा ७२  

ल अब तेरो पालो ।  

बाबुले भने, ९ नवान ८१  

यिनीहरुको ताल देखेर मलाई मेरो बालापन याद आयो । तर मैले ९ को गुणा नआएर करिब १० पटक उठबस गरेको थिए ।  

दिनभरी गाउँमा डुलेर हामी भेरीको काखैमा पुग्यौं । एक जना बुढो बाजे ढुङ्गा माथि टुसुुक्क बसेका रहेछन् । वरपर नाङ्गै देखिने बुढा रुखहरु यिनका साथी थिए । त्यो गाउँका सबैभन्दा वृद्ध व्यक्ति तिनै थिए होलान सायद । गाउँको उत्पत्तीको कथा पनि उनैबाट सुनियो ।  
केही समय अगाडि नेपालमा ‘जनयुद्ध’ चलेको थियो रे । जनयुद्ध भोग्दा जोसँग सम्पत्ती हुन्थेन केवल ज्यान हुन्थ्यो । त्यस्ता मान्छेहरु धेरै ठाउँबाट भागेर यहाँ आएर बस्थे रे ! पछि बाढीपस्डितहरु र अनी पीडितहरु पनि आएछन् । सबैजना ज्यान जोगाएर यहाँ आउँदै बस्न थाले ।  
त्यहाँ आउने कसैसँग पनि न त जग्गा थियो न त पैसा नै । थियो त केवल उनीहरुसँग बाँच्नलाई शरिर  । बचाउनलाई नेपालको हावा, पानी र माटो ।  

बाजेबाट गाउँको उत्पत्तीबारे रोचक कुरा सुनियो । बजेलाई नमस्ते गरेर उनको चुकिलो कथालाई भेरीको चिसो पानीले पेटमा घुटुक्क धकेलियो । अनी उनीसँग बिदा लिए । दुलोबाट मुसो फुत्त निस्लेझैँ बाजेले बचेका दुइवटा दाँत देखाएर हाँसेरै पोज दिँदै बिदा दिए । यिनलाई जीवनभर सम्झिने छु ।  
गाउँ सकिनै लाग्दा तलका तीन जना नानीहरुले हात हल्लाए । उनीहरुको आफ्नो घर दिउँसो तातिन्थ्यो । खरको छानो भएकाले आगो लाग्ने डरले मानिसहरु सतर्कता अपनाउँथे । वरपरका थाकल जम्मा गरेर आफ्ना च्यातिएका कपडाले घरको आकार दिएर उनीहरु गर्मीयामको चर्को घाम छेकिरहेका थिए ।  
म डाक्टर भएको १२ वर्ष भयो । नयाँ घर बनाउने आँट अझै आएको छैन । बुवा आमाकै छाहारीमा बसेको छु । ति नानीहरुको घरभित्र एकैछिन पसे । एकछिन पल्टिए पनि । नानीहरु खुबै लजाए । अनी चकलेट खानु है त भनेर सय रुपैयाँ दिएर बाटो लागे । पछाडी उनीहरुको खुसखुस पनि सुनिन्थ्यो । उनीहरु भन्दै थिए, ‘यो त हजार रुपैयाँ हो कि क्या ।’ सहरमा तीन वर्षका बच्चाबच्चीले सय र हजार सहजै छुट्याउन सक्छन सायद । मलाई ती नानीहरुको निर्दोष सोचको मायाले अझै सुत्न दिएको छैन ।   

भूपी शेरचनले हल्लै हल्लाको देश नामक उनको कृतिमा किन र कस्को लागि यो लेखेका होलान जस्तो लाग्थ्यो । भेरीको छेउमा भेटिएको यो बस्ती होकी ? गाउँ हो की ? के हो के ? बराहातालको इखेनीमा भेटिने ती नेपालीहरुको राष्ट्रिय गान पो लेखेका रहेछन् उनले ।  
तर यो देश
तिम्रो जतिकै मेरो पनि देश हो
अंश बण्डा गर्ने हो भने पनि
यो देशका एक करोड टुक्राहरु मध्य
एक टुक्रा माथि
मेरो पनि छाप्रो हुने छ ।

इखेनी–२

दोस्रो पटक इखेनी पुगियो । भारत (कालापहाड) जाने पुरुषहरुको लर्को सकिँदा इखेनीमा महिला र बालबालिका मात्र बस्दा रहेछन् । इखेनीबासी सामाजिक विभेदले पिल्सिएका दलित समुदाय मात्रै हैनन्, राज्यले चुटुक्कै बिर्सिएका भूमिहिन सुकुम्वासी पनि हुन् । अझ आफ्नै सामाजिक भेदभावले धकेलिएका नारीहरु पनि हुन् । एक होइन्, दुई होइन्, धेरै पत्रैपत्राका विभेदहरुले थिचिएको चट्टान जस्तो छ यिनीहरुको सामाजिक जीवन । 
तर, मान्छेका पेटहरु भोकाई रहँदा । बालबालिका अकालमै खेर गैरहँदा । अनि हरेक समस्याको पहिरो हरेक पल गैरहँदा । मान्छेमा केवल दुःख मात्रै नबढ्ने रहेछ । दुःखले थिचिदाँ मान्छेका पनि जरा पलाउँदा रहेछन् । भावनाका लामालामा जराहरु । ति जराहरुमा आशा पलाउँदो रहेछ । निडरता उम्रदो रहेछ । कहिल्यै नथाक्ने बल पलाउँदो रहेछ । अनि त्यहीँ जराका त्यान्द्राहरुले ऊ जस्तोसुकै परिस्थितिमा पनि नढल्ने मुढो बन्दो रहेछ ।  
देश भित्रका पनि देशले भुलेको । भोकाउँदा भोकाउँदा भोकैले पेट भरेको । अनि पसिनाले प्यास मेटाएका मान्छेहरु । संसारको सबैभन्दा बलिया मान्छे हुँदो रहेछन् । अझ त्यसैमा एउटी नारी भए त हदै दह्रो ढुङ्गा बन्दो रहेछ ।  
संसारका सबैभन्दा पहलवान करिब १०५ जना नारीहरु चारवटा कृषक समुह बनाएर हामी सामु उभिएका थिए । केही आशाको दियो बालेर । मनमा केही गर्ने उत्साह बोकेर । हाम्रो उपस्थिति जम्मा भएका महिलाहरुकै भिडबाट एउटी महिलाले गीत गाइन् विरक्तिएको आफ्नो जिन्दगी बारे । अर्कीले पनि भारतको कालापहाडमा साहुले गरेको अभद्र व्यवहार पोखिन्, बाटोमा भारतीय प्रहरीले गरेको शारिरिक दुव्र्यवहार बढो निलो अनुहार लगाएर भनिन् र कहिल्यै दक्षिणतर्फ नफर्किन पाए हुन्थ्यो भन्ने भाव व्यक्त गरिन् । अरु महिलाहरुले पनि स्वरमा स्वर मिलाए ।  
बंगलादेशका एक बंगाली बाबुश्री अभिजिन बेनर्जीले इखेनीका जस्तै नागरिक रहेको बस्तीमा पुगेर त्यहाँका नागरिकको भोक मेट्न । उनीहरुको पसिना पुछ्न । एउटा जुक्ति निकालेका रहेछन् । ग्रामिण बैंक नामबाट यस्तै पछाडी परेका÷पारिएका नागरिकलाई भटाभट बिना व्याज ऋण र प्राविधिक सहयोग दिएछन् । त्यसले धेरै सानासाना उद्योगीहरुको निर्माण गरेछन् । विषेश गरेर ऋणी महिलाहरुलाई ‘साउनी’ बनाएछन् । जसले लगानी उतार्न सकेनन् ति समुहमा कुपोषण र भोकमारीको निर्मुलन भएछ । हामी सहयोगी हातले पनि बेनर्जीको जुक्ति सोच्यौ । सामुहिक रुपमा के गर्न सक्नुहुन्छ त भनेर चार समुहलाई सोध्यौं । सबैले एकै स्वरमा भने, कुखुरा पालन । सामुहिक कुखुरा पालन ।  
बच्चाहरु ‘क’बाट कलम, ‘ख’बाट खरायो भन्दा यस्ता यस्तै आवाज आउँथ्यो । उनीहरुले पनि त्यस्तै आवाज निकाले ।  
यि आमाहरुले हामीसँगै पुग्नु भएका एसओएस बालग्रामका निर्देशकज्यूले प्रेरणा थपिदिनुभयो । सहयोग गर्ने कुरा सुनाउँदा उनीहरुका आँखा रसाए ।  
बाबुआमा दुबै भारतर्फ हिँडेपछि तीन जना बच्चाबच्चीहरु स्कूल जानलाई कापी कलम नपाएर स्कूल गएछन् आज भेरीको तिरमा तीन जना बच्चाहरु कहिले वारी कहिले पारी गरिरहेका थिए टाइमपास गर्न । आफूलाई औंला डुकाउन पनि गाह्रो लाग्ने यो चिसो पानीमा कसरी यि माछा झैं पौडेका होलान् । म घोरिदै बसें । भेरी नदी तैरेर वारपार गर्ने पानीसँग बग्नेहरु हैन पानीको उल्टो दिशामा उमोउमो धकेलिनेहरु हुँदा रहेछन् । नदी तर्न नदीसँगै बग्ने हैन्, नदीको उल्टो पौडन सिक्नुपर्ने रैछ । इखेनीका सुकुम्बासीलाई सजिलो दान, चन्दा र सहयोग हैन् गरिवीसँग जुध्न, गरिवीको नदीको उल्टो पौडन सिक्नु थियो । 
अन्ततः यो दिनको सुरुवात भयो । अठ्ठाइस घरमा कुखुराका खोरहरु बने । चौध सय कुखुराहरु काठमाडौं गौशालाबाट गुडाउँदै त्यहाँसम्म पुगे । विश्वको सबैभन्दा परोपकारी संस्था एसओएसले केही सहयोग ग¥यो । हामीले आफ्ना बैंकका खाताका धुलो पनि टकटक्यायौं ।  

 चल्लाहरु खोरभित्र चिरचिर गर्दागर्दै सुकुम्बासीका मनमा थोरै भए पनि सम्पन्नताको आशाका चल्लाहरुले पनि चिरवीर गर्न थालें । अनि यो पटक खोर नभएका र चल्ला नभएका सुकुम्बासीहरु अर्काेपटक आफू पनि यो अभियानमा जुधिने अर्काे आशा बोकेर घर फर्किएँ । हामी फर्कदा गाडीमा एउटा गीत बज्यो ।  
‘‘म मरे पनि मेरो देश बाँचि रहोस्...,
हिमालको टाकुरामा,
नेपालीको पाखुरामा  
चन्द्र र सूर्य अंकित झण्डा फिरफिर नाँची रहोस्...” 
इखेनीका यी नेपालीका पाखुराहरुमा नेपाली न्यायको झण्डा चाँडै नाचोस् ।

यो यात्रामा कर्णाली आशा अर्थात् Hopes Karnali Project नामांकन गर्दै उकालो लागियो । डाँडा काटियो, इखेनी आँखाबाट हरायो तर, खोर र कुखुरा अनी यस पटक व्यवसायबाट बञ्चित सुकुम्बासीका अध्याँरा अनुहार हराएको छैन । अर्काे खेप सहयोग लिई फर्कने सपनासँगै परेली डुबेछन्, इखेनीको डाँडामा डुकेको घाम झैं भोलीको बिहान सुरु हुनेछ फेरि ।
                                                                                     -डा. के.सी. कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ हुन् ।

 

प्रकाशित: ३ पुस २०७७ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?