आफ्ना सन्तानको खुसीनै आमाबाबुको खुसी हैन र? समाजमा बस्ने दाजुभाइ तथा दिदी बहिनीको खुसीनै हामीले हाम्रो खुसी मान्नु पर्ने हैन र ? समाज पनि कति अच्चमको छ। अरुको खुसी लुटिलुटी आफू हाँस्न खोज्ज। जातीयताकै नाममा अझै पनि अरुलाई रुवाउने काम गर्छ। भोटे, सार्की ,कामी, दमाइ, पोडे, मगर ,मुस्लिम, थारु, मधेसी, आदिवासी र जनजाति, सबै मानवजाति नै त हुन्। धनी र गरिब सबै सबै मानिस हैन र ?
खासगरी मानिसको सोचमा यस्ता पुरातनवादी विचारधाराले जबसम्म जरा गाडेर बस्छ तबसम्म यस्ता घटनाहरु बारम्बार दोहोरिन्छन्। असमानता, जातीय भेदभाव तथा छुवाछूतको अन्त्य, समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो। छुवाछुत र भेदभावको प्रथा पहिलेदेखि चलि आएको कुप्रथा हो। आजको आधुनिक युगमा विज्ञान र प्रविधिले धेरै कुरा बुझाईसकेको भए पनि अझै यस कुप्रथामा विश्वास गर्नेहरू धेरै छन्। यहाँ तल्लो जात माथिलो जात भन्ने कोही छैन। हामी सबैको नकारात्मक सोच अनि रुढीबादी परम्परा हो। धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन्।
अन्तरजातीय बिहे गरेकै कारण घर गाउँ निकाला अझै पनि भैरहेका छन्। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरे पनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। यसकै पछिल्लो उदाहरण हो – रुकुम पश्चिममा जातीय अहंकारले निम्त्याएको बर्बरता। चौरजहारी घटनाले प्रतिविम्बित गरेको जातीय असहिष्णुताको पराकाष्ठालाई समयमै सशक्त आवाज उठाउन अपरिहार्य छ। कुनै पनि बहानामा मान्छे मार्न पाइदैन। यो घटनाले नेपाली समाज आज पनि तेही सोचमा रहेछ जुन सोच बाजेको पालामा थियो।
केहि बर्ष अघि पनि झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या पनि। आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको खबरले अहिले हरेक जोडीहरुमा एक किसिमको त्रास फैलाएको छ। शदियौँदेखि उत्पीडनमा रहेका दलित समुदायलाई वास्तविक रुपमै कसरी मुक्त गराउन सकिन्छ भनेर अब गहिरो र विस्तृत छलफल चलाउन जरुरी छ। आफूभन्दा तल्लोजातकी केटीलाई विवाह गरेको भन्दै परिवार र आफन्तले गाउँ निकाला गर्नेक्रम अझै पनि रहेको पाइन्छ। राज्यका निकाय, राजनीतिक दल, मानवअधिकारवादी, अब ‘जीवन सुरक्षा र घरमा निर्धक्कसँग बस्न पाउने वातावरण बनाइ दिन जरुरी छ।
हो अब यस्ता प्रेमिल जोडीलाई निर्धक्कसँग जिउने वातावरण बनाइदिन यस सँग सम्बन्धित सबैपक्षले सोच्नुपर्ने समय आएको छ। समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने समय भैसकेको छ। प्रेम विवाह गरेका अन्तरजातीय जोडीलाई राज्यले प्रोत्साहन गर्नुको विकल्पमा छुवाछुत कसुर ऐन २०६८ विपरीत सुरक्षा निकायले समेत बेवास्ता गर्नु कति सम्मको लापरबाही हो ?
अझैपनि अन्तरजातीय विवाहित जोडीलाई घरबाट अमानवीय व्यवहार गरी गाउ निकाला गरेको दलित खबर बेलाबेलामा आइरहेकै छ। घर परीवार तथा छिमेकीले धर्म र संस्कार विपरीत भन्दै अमानवीय ब्यबहार गर्ने परम्पराको अब जरा उखेल्नै पर्छ । आखिर किन ? राज्य संयन्त्रहरु छुवाछूतका घटनालाई मलजल गरिरहेको छ किन दलितमाथिको थिचोमिचोमा राज्य संयन्त्र मुगदर्शक अवस्थामा छन् ।
प्रकाशित: १४ जेष्ठ २०७७ ०७:४७ बुधबार