केही दिनयता आँखाहरू अनलाइन न्युज साइटतिर छन्, कान एफएमका घन्टे समाचारहरूमा। सर्वत्र चासो छ, अपहरणपछि बीभत्स हत्या गरिएकी कलेज गर्ल ख्याती श्रेष्ठका शरीरका भागहरू कहाँ-कहाँ पुर्याइए होलान्? बिहानै ढोका ढक्ढकाउन आइपुग्ने अखबारहरूले पनि यसैलाई मुख्य समाचार बनाएका छन्।
जसै रहस्यका पर्दा खस्दै गयो, हत्याबारे खुल्दै गयो, हत्यारा चिनिँदै गए र फरक-फरक ठाउँमा मिल्काइएका शरीरका भागहरू उत्खनन हुँदै गए।
बलात्कार पछि त्यस्तो क्रुर र बीभत्स हत्याका लागि तम्सिने अपराधीलाई कस्तो सजाय दिनुपर्ला ? यो प्रश्न मैले बुधबार बिहान बहसका लागि फेसबुकमा छोडेको थिएँ। मेरो स्ट्याटसमा कमेन्ट गर्ने धेरैले 'मृत्युदण्ड' लेखेका छन्। उनीहरूले ती अपराधीलाई दिनुपर्ने सजायमा मृत्युदण्डको विकल्पै नभएको जिकीर गरेका छन्। तर नेपालमा मृत्युदण्डको कानुन छैन।
ख्याती श्रेष्ठका हत्यारालाई पनि ख्यातीले पाएजस्तै कष्टकर सजाय दिनुपर्ने धारणा फेसबुक मित्रहरूले व्यक्त गरेका छन्। फेसबुक र अनलाइन समाचार संस्करणहरूमा पनि अपराधीलाई बीभत्स ढंगकै सजायको कल्पना गरिएको छ। अनलाइनमा सबैभन्दा बढी पढिएको समाचारका रूपमा पनि यही हत्या प्रकरणले स्थान जमाएको छ।
सन्तोष भट्टराईले 'हत्याराको पनि अंगप्रत्यंग छुट्याई नेपालका सिमानाहरूमा गाड्नुपर्छ' भनेका छन्। कल्पना भट्टराईले भनेकी छन्, 'टुँडिखेलमा झुन्ड्याउने वा आधा शरीर गाड्ने र बाटो हिँड्नेजति सबैले त्यसको प्राण रहुन्जेल ढुंगा हान्ने।' टुँडिखेलमा झुन्ड्याउने कुरामा गेहिनी जोशीले पनि सहमति जनाएकी छन्।
रोजिता अधिकारी, तारा भुसाल, सविना महर्जन र दिवाकर पन्तले एकै शब्दको कमेन्ट लेखेका छन्, 'फासी।'
मीना थापाले पनि मृत्युदण्ड नै उपयुक्त भएको धारणा दिएकी छन्। उनको तर्क छ, 'त्यसो भएमात्र अरू अपराधी निरुत्साहित हुनेछन् र अरू ख्यातीहरूले बित्थैमा ज्यान गुमाउनुपर्ने छैन।' लक्ष्मण कार्कीले फेसबुकमा भनेका छन्, 'नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था गर्न सके यस्ता अपराध दोहोरिन्न थिए कि !'
पार्वती आचार्यले भनेकी छन्, 'यस्ता अपराधीलाई आँखाको बदला आँखा, नाकको बदला नाक हुनुपर्छ।' ख्यातीले प्राण त्याग्दा जति कष्ट भोगिन्, हत्यारालाई पनि त्यो महसुस गराउनुपर्ने र त्यसको 'लाइभ टेलिकास्ट' गर्नुपर्ने आचार्यको धारणा छ। यसो गरेमात्र यसखाले अपराधी निरुत्साहित हुने उनको सुझाव छ।
गोपाल बुढाथोकीले हत्यारालाई तड्पाई-तड्पाई मार्नुपर्छ भनेका छन् भने प्रकाश शर्माले गोली ठोक्नुपर्ने लेखेका छन्। शिवप्रसाद अधिकारीले हत्याराका दुवै हात झिकिदिनुपर्ने लेखेका छन्। अधिकारी भन्छन्, 'उसलाई जीवनभर अपराधबोध भइराखोस्न !'
जोतारे धाइबाले नेपालको सडक पुगेजति ठाउँमा हत्यारालाई सास रहुन्जेल घिसार्दै लानुपर्ने उल्लेख गरेका छन्। धाइबा भन्छन्, 'यस्ता दानवलाई घोडाले पनि के घिसार्न मान्ला र !' सम्मी शाह श्रेष्ठले जोतारेकै भनाइमा सही थापेकी छन्। ख्याती श्रेष्ठ हत्या प्रकरणको विरोध गर्ने र आक्रोश व्यक्त गर्ने सिलसिला जारी छ।
अपहरण रोक्न सरकारहरूले जतिसुकै प्रतिबद्धता जनाए पनि त्यसको सिलसिला झन्-झन् बढिरहेको देखिन्छ। कस्तो कानुन ल्याउँदा अपहरण या हत्या जस्ता अपराधलाई रोक्न सकिन्छ ? यसबारे अब संविधानसभामै बहस गर्ने हो कि ?
sharmasantosh@gmail.com
प्रकाशित: ९ असार २०६६ १२:३० मंगलबार





