२५ पुस २०८२ शुक्रबार
image/svg+xml
ब्लग

जेठमै भैली

तीन साताअघि मोवाइल रिसिभ गर्नु भनेको टाउको दुखाउनुजस्तै बन्यो। फोन उठायो कि प्रश्नको ओइरो। उल्याउने उत्तिकै। खित्का छोडेर हास्नेहरु पनि कम भएनन्।

कारण केही थिएन सिवाय टेलिकमको 'सेवा'। मोवाइल मेरा लागि छाटो कुराकानी गर्ने माध्यमभन्दा बढी कहिल्यै भएन। कहिलेकाहीँ औपचारिक एसएमएसबाहेक यसको थप उपयोग गरिन। संगीत मन परे पनि त्यो सुन्न मोवाइल मेरो विकल्प बनेन र बन्दैन पनि। एसएलआर क्यामरा बोक्छु मोवाइलको क्यामराले छुने कुरै थिएन।

मोवाइलको नयाँ प्रयोगकर्ता हुँदा यसलाई नेपाली नामाकरण गर्ने रहर थियो। 'वेतारे फुसफुस' केही साथीसँगको चिया गफमा यस्तै न्वारन गरिदिएका थियौं छ वर्षअघि। यो बीचमा व्यक्तिगतरुपमा मोवाइप्रति गुनासो रहेन।

नेटवर्क नलाग्नु गफ्फिदा गफ्फिदै वेतारको तार टुट्नु नेपाल टेलिकमको विशेषता नै भइगो। २ मिनेट मोवाइलमा च्याट्टिन १० मिनेटको डायल र रिडायल सबैले भोगेकै हुन। यसमा पनि मेरोमात्र टाउको दुख्नुको अर्थ छैन।

"के हो यस्तो लाजमर्दो ?" आवाज चिनेजस्तै लाग्यो, श्रीमती रहिछिन्।

ममाथि दया गरेर हो या किन हो नेपाल टेलिकमले मेरो वेतारे फोनमा निःशुल्क रिङ ब्याक टोन  राखिदिएछ। एउटा टोन राखेवापत १० रुपैयाँ कमाउने टेलिकमले ममाथि माया गरेको हो कि सताएको हो बुझ्न सकिन।

"...पोइल जान पाम....."

मेरो वेतारे फुसफुसमा कसैले डायल गरे यही गीत सुनिन थालेको थियो तीन साता अघि। टेलिकमलको यो दयाले मलाई नै दया गरेन। कोमल ओलीको यो गीतलाई सरकारले प्रतिवन्ध समेत लगाएको थियो कुनै बेला। मलाई पनि भड्किलो र अश्लिल नै लाग्छ यो गीत। अझ 'पोइल' शव्दकोशका नराम्रा शब्दमध्येको एउटा हो। घृणा र अपहेलना गरेर बोलिने शब्द हो यो। शब्दका खेती गर्नेले यसलाई जसरी व्याख्या गरुन्।

"सर पनि यस्तो ?" - यो बोली आफ्नै छात्राको थियो। "तिमी पनि पोइल जान खोज्ने हिहिहि....." यो बोली चाहीँ नागरिककै सहकर्मीको। संकेत 'उही' समलिङ्गी।

मोवाइलमा जति फोन आए ती सबैका मुखबाट चुहिने बोली एउटै "के राखेको यस्तो ?" टाउको नदुखोस् किन जव साथीहरु रिङ ब्याक टोनलाई हिन्दी सिनेमा 'दोस्ताना' सँग तुलना गर्दै सुनाउन थाले।

भो अव अति भयो। दुरसन्चारको रिपोर्टिङ गर्ने सहकर्मी रामचन्द्र भट्टलाई सोधे, 'टेलिकमको यो के चाला ?"

"खोइ किन हालेको त ?," उल्टै प्रश्न। भनिसके मैले मोवाइलको थोरै 'फिचर' मात्रै चलाउँछु। मेरा लागि अरु कुराको मतलव छैन। टेलिकमको वेभसाइटमा गए। आफ्नो मोवाइलको पुक नम्बर एसएमएसबाट मांगे। अनि रिङ टोन व्याक छाने 'न विर्से तिमीलाई..... न पाएँ तिमीलाई....."

अब अर्काखाले प्रतिक्रिया सुरु। नेपाल टेलिकमले मैले यो गीत छाने वापत १० रुपैयाँ मेरो विलमा थपिसकेको छ। चाहेर नचाहेर मैले त्यो तिर्दैछु। यो रिङ टोनपछि आएका प्रतिक्रिया दुखद् थिएनन्। "कति राम्रो गीत राखेको नि !" धेरैका यस्तै प्रतिक्रिया थियो। श्रीमतीको भने फरक, "अल्ली राम्रो छानेको भए हुन्थ्यो।"

प्रतिक्रियाको दौड चलिरह्यो। हरेक कुराकानीको सुरुवात यसैबाट थालिन्थ्यो। २ मिनेट कुराकानीमा १५ सेकेन्डमात्रै रिङ टोनमाथि गफिन थालियो।

मेरो बिल आउँदा अव हरेक कलका १५ सेकन्ड समयको थप शुल्क आउने भए। त्यसमा पनि केही भएन। तिरौला भन्ने छ। गीत राखेको १५ दिनपछि यसको म्याद गुज्रिएछ। संकेत दिइहाल्यो टेलिकमले ।

मुक्त भइयो। अव मैले अर्को गीत हाल्दिन। मलाई फोन गर्नेलाई मैले मनोरन्जन दिनु नै छैन भने किन अर्को गीत राख्‍ने ? ठिकै छ । राखिन ।

बिहान उठ्दा बत्ती निभिरहेके थियो। उठे। मोवाइल खोजे। भेटिन। टेलिफोन सेटसम्म पुगे र डायल गरे ९८५१०७९६४५ सुने। "हरियो गोवरले लिपेको ...।"

जेठ २० गते मैले भैली सुन्दैछु । जय नेपाल टेलिकम।

प्रकाशित: १९ जेष्ठ २०६६ २३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App