१५ चैत्र २०८० बिहीबार
ब्लग

घुम्नै पर्ने ठाउँ मुगु रारा

तस्बिर: अनिल भण्डारी/नागरिक

रारा पुग्ने रहर धेरैको हुन्छ। तर पूर्वबाट सुदूरपश्चिममा रहेको रारा पुग्न सहज भने छैन। मलाई पनि रारा घुम्ने असाध्यै रहर थियो। साथीभाइले रारा घुमेको फोटो फेसबुकमा राखेपछि औधी रारा घुम्ने इच्छा जाग्थ्यो तर एक्लै घुम्न जान सक्ने आट थिएन। खाने मुखलाई जुगाले छेक्दैन भनेझैँ पत्रकार महासङ्घको साधारण सभा मेरा लागि रारा जाने अवसर बन्यो। २०७९ सालको पौष ८ र ९ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा सुर्खेत जिल्लामा तय भएको खबर पाए।

पत्रकार महाँसघ सिन्धुली जिल्ला शाखाको कोषाध्यक्ष भएकाले पत्रकार महासँघका केन्द्रीय परिषद् सदस्यलाई सुर्खेत जिल्लामा आयोजित केन्द्रीय साधारण सभामा सहभागी हुन आर्थिक व्यवस्थापन सहित पूर्ण जिम्मेवारी मेरै भयो। मन एक किसिमले हर्षित थियो किनकि मेरा लागि सुर्खेत यात्रा नै पहिलो पटक थियो सुर्खेतमा देशभरका पत्रकारहरूसँगको भेटघाट हुने साथमा मौका परे त्यहाँबाट रारा सम्म यात्रा गर्ने मनसायले खुसी थिए भने अर्कोतर्फ चुनौती पनि उत्तिकै थपिएको महसुस भएको थियो। सहज, सुरक्षित र शान्त वातावरणमा सहकर्मी तथा अग्रज पत्रकारलाई सुर्खेत पुर्‍याएर ल्याउनु मेरा लागि चुनौती नै थियो।

चुनौती र भ्रमणको अवसरका बाबजुद हामी पौष ६ गते दिउसो २ बजे सिन्धुलीबाट सुर्खेतका लागि यात्रा तय गर्‍यौ। नेपाल पत्रकार महासँघ सिन्धुलीको तर्फबाट केन्द्रीय परिषद् सदस्य श्यामहरि अधिकारी केन्द्रीय परिषद् सदस्य राधिका बुढाथोकी पत्रकार महासँघ सिन्धुलीका सचिव पुस्कर थापा र म कोषाध्यक्ष अनिल भण्डारी यात्रामा सहभागी थियौ।

सिन्धुलीबाट पश्चिम तर्फ मदन भण्डारी राजमार्ग हुँदै हामी हेटौडा पुग्यौ त्यहाँ खाजा खाएर यात्रा तय गरियो। हेटौडा पुग्दा नै साँझ परिसकेको थियो तर बाटो छोट्याउन यात्रालाई निरन्तरता दिने निर्णय गरियो। मकवानपुर चितवन हुँदै नवलपरासी पुग्दा रातको ११ बजिसकेको थियो हामीले नवलपरासीको सुनवल भन्ने स्थानमा बास बस्ने निधो गरियो। तर सुनवल पुग्दा त्यहाँका सबै होटल बन्द भइसकेका थिए। त्यसपछि बुटवल बस्ने निर्णय भयो। बुटवल पुग्दा रातीको १ बजेको थियो। त्यहाँ पनि उचित लजको व्यवस्था गर्न सकिएन हामीले रातभर यात्रा गर्ने निधो गरियो।

पौष ७ गते बिहान ६ बजेसम्म यात्रा गर्दा हामी लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ नजिक लमही भन्ने स्थानमा पुगेका थियौ। गाडी चालकले निन्द्रा लागेको बताएपछि केही बेर त्यहाँ आराम गर्न हामी त्यहाँको एक होटलमा लज खोज्नतिर लाग्यौ। त्यहाँको मन्त्र गेष्ट हाउस छिर्‍यौ हामी त्यहाँ जाँदा बेलुका बास बसेका उठेर गन्तव्य तर्फ जान तयारीमा थियौ त्यसपछि भने हामी सुत्ने कोठाको व्यवस्थापनमा लाग्यौ। त्यो होटलमा हामी करिब बिहानको १० बजेसम्म सुतेर केही निन्द्रा र थकान मेटायौ र पुन यात्रा तय गरियो। त्यहाँबाट हामी निरन्तर यात्रामा लाग्यौ बाटोमा भेटिएका बबई नदी, भेरी नदी लगायतका नदीमाथिको पुलमा हामीले सम्झनाका लागि फोटो भिडियो खिच्दै हामी साँझपख सुर्खेत पुग्यौ। त्यहाँ पत्रकार महासँघलेनै बागमती प्रदेशका केही जिल्लाका पत्रकारका लागि डिएफसी होटलमा बस्ने व्यवस्था मिलाएको रहेछ हामी त्यही होटलमा बास बस्यौ र भोलिपल्ट बिहान पौष ८ गते सुर्खेतको सीटि हलमा आयोजित साधारण सभा कार्यक्रममा सहभागी भयौ। साधारण सभा उद्घाटन पश्चात् केही बेर कार्यक्रममा बसेर सोही दिन सुर्खेतको काँक्रेविहार र बुलबुल ताल अवलोकन भ्रमण गयौ।

त्यो दिन हामी अघिल्लो रात बसेकै होटलमा बस्यौ। साँझ खाना खाने समय हामीले रारा पुग्ने निधो गर्यौ। केही साथीहरूसँग रारा जाने बाटो सोध्यौ। निकै कठिन रहेको बताए। चिसो धेरै हुने बाटो जोखिमपूर्ण रहेको जस्ता आतेश लाग्दा कुरा सुनाए। एक जना अग्रज पत्रकारले रारा जाने कर्णाली राजमार्ग भन्दा काल मार्ग भएको बताएपछि हामी निक्कै आत्तियौ। तर पनि यात्रा तय गर्ने निधो गरियो। पौष ९ गते बिहान ८ बजे हामी सुर्खेतबाट मुगु जिल्लाको रारा भ्रमण गर्न यात्रा तय गर्यौ। दैलेख जिल्लाको दुल्लु सम्म जानका लागि एउटा राजमार्ग र अर्को छोटो सहायक मार्ग रहेछ साँघुरो तर राजमार्ग भन्दा कम दुरीमै दुल्लु पुगिने भएपछि हामी बाटो सोध्दै साँघुरो मार्गबाटै दैलेख जिल्लाको दुल्लु खोला पार गर्‍यौ।

दैलेख जिल्लाको आठबिस नगरपालिका भएर अगाडी बढ्दा हामी कर्णाली नदीको तिरैतिरको बाटो भएर कालिकोट तर्फ लाग्नु पर्ने रहेछ। कञ्चन बगेको कर्णालीले हामी सबैको मन लोभ्यायो। हामीले बेला बेला कर्णालीको तस्बिर र भिडियो खिच्यौ। 

जब हामी दैलेख बाट अगाडी बढ्न थाल्छौ अनि महसुस गर्न सकिन्छ नेपालको पहाडी भूभाग कतिसम्म विकट हुन्छ भन्ने। कर्णाली किनारै किनार यात्रा गर्दा दैलेख अछाम र कालिकोटका ठुला ठुला सुन्दर पहाड देख्न सकिन्छ। 

बिहान सुर्खेतमै सामान्य खाजा खाएर यात्रा निरन्तर गरेका हामीलाई यति बेलासम्म निकै भोक लागिसकेको थियो। घडीमा करिब १ बजेपछि हामी खाना खाने स्थानको खोजीमा लाग्यौ। राजमार्गमा साना साना बजार प्रशस्तै छन्। अनौठो लाग्ने नाम गरेका साना बजार यात्रा अवधिमा धेरै भेट्न सकिन्छ। हामीले दैलेख जिल्लाकै आठबिस नगरपालिकाको ३ नम्बर वडामा रहेको शाही डारमिन अछामी होटलमा कर्णालीको माछासँगै खाना खायौ। त्यस बजारमा अछाम जिल्लाको मिठो सुन्तला पनि पाइने रहेछ हामीले थोरै सुन्तला किनेर गाडीमा राख्यौ। बाटोमा भेटिएको एउटा पम्पमा गाडी भरी तेल हाल्यौ त्यति मात्र नभएर साही गाउँ भन्ने स्थानमा रहेको त्यो पम्पबाट अगाडी अरु पम्प नपाइने भनेपछि २० लिटरको डम्ममा डिजेल बोकेर हामी अगाडी बढ्यौ।

दैलेख र अछाम जिल्ला जोड्ने गरी मध्य पहाडी राजमार्गमा बनेको पुलले दैलेख जोडेको भेट्न सकिन्छ। कर्णाली नदीको तिरैतिरको यात्रा निकै रमणीय छ। कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका २ हुम्लबजार पुग्दा हामीले दैलेख छोडिसकेका छौ। हुम्लबजार भन्दा अलि अगाडीबाट कालिकोटको मान्मा बजार निकै रमणीय देखिन्छ। भिरालो भौगोलिक बनावट भएको स्थानमा रहेको उक्त बजार राजमार्गबाट हेर्दा निकै सुन्दर देखिन्छ। हामीले त्यो सुन्दर बजारको फोटो कैद गर्‍यौ। सुर्खेतबाट यति बेलासम्म हामी झन्डै डेढ सय किलोमिटर बढी यात्रा गरिसकेका थियौ।  खाडाचक्र नगरपालिका १ मा पुगेपछि भने कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुगिन्छ। 

मान्मा निकै रमणीय बजार छ। सिधै रारा जानेलाई बाटोमा अन्यत्र बैक तथा एटिएम सुविधा छैन। त्यसैले पकेट खाली भए खातामा भएको पैसा निकाल्न मान्मा बजार नै उपयुक्त हुने रहेछ हामीले पनि केही पैसा निकालेर पकेटमा जोहो गर्‍यौ। फेरी यात्रालाई अगाडी बढायौ। अब हामी निकै सुन्दर र ठुला ठुला पहाड देखिने स्थानमा पुगिसकेका थियौ। केही स्थानमा भत्किएर सडक जोखिम देखिएपनि साना गाडीका लागि धेरै स्थानको बाटो सहज छ। साँघुरो भएपनि कालोपत्रे बाटो नै धेरै छ। पहाडको बाटो उग्रिएको मौसम उकालो भिरालो अनि सुन्दर पहाडको दृश्य अवलोकन गर्दै मनै रमाउँदै हामी निरन्तर यात्रामै लाग्यौ।

हामी कालिकोट जिल्लाका तिलागुफा नगरपालिका पुग्दा झमक्क साँझ परिसकेको थियो। त्यसैले हामी बास बस्ने तरखर गर्दै अगाडी बढ्यौ। तिलागुफा नगरपालिकाकै १ को नाग्म बजार पुगेपछि हामी बास बस्ने निधो गर्‍यौ र त्यहाँको छायानाथ मुगु होटलमा बास बस्यौ। नाग्म बजारबाट जुम्ला सदरमुकाम जाने र मुगु जाने बाटो छुटिन्छ। रारा जाने यात्रुका लागि सुर्खेतबाट यात्रा गर्दा यही स्थान बास बस्न उपयुक्त हुन्छ। यहाँ केही सुविधा युक्त होटल पनि भेट्न सकिन्छ। सोही ठाउँमा बसेर हामी भोलिपल्ट बिहान पुन यात्रामा निस्कियौ। त्यहाँबाट करिब ७ किलोमिटर जति अगाडी बढेपछि जुम्लाको जुगडा भन्ने स्थानमा आउँछ जहाँ ऐतिहासिक राज परिवारका सालिकका नमुनाहरू राखिएको छ। त्यस स्थानमा पुग्दा निकै चिसो बढेको हामीमा महसुस भएको थियो। 

सडकको तिरैतिर भएर बगेको तिला खोला र त्यसमाथि बनेको काठे पुलसँगै राज परिवार झल्कने सालिक देखेपछि हामी जाडो महसुस गर्दै फोटो खिच्न तम्सियौ र फोटो कैद गरेर पुन यात्रालाई निरन्तरता दियौ।

पौष महिनाको मध्य चिसोमा रारा यात्रा गर्न आट गर्नु नै ठुलो कुरा हो भन्ने हामीलाई बढ्दै गएको चिसोले महसुस गरायो। कर्णाली सहित विभिन्न उच्च पहाडी जिल्लामा जाडो मौसममा पानी जम्ने गरेको धारा कुवा खोला सबै स्थानको पानी जमेर पिउने पानीको अभाव भएको समाचारमा सुनेको थिए तर फ्रिजमा जमेको बरफ बाहेक पानी जमेको कहिल्यै देखेको थिइन तर त्यस समयमा भेटिएका साना तिना खोला कुलाका पानी तथा धारा र झरना सबैतिर पानी जमेर स्थिर भएको देख्दा साँच्चै मलाई निकै अचम्म लाग्यो। घर आँगन नजिक भएर बग्ने कुलाको पानी जमेर ढुङ्गा झैँ साह्रो हुँदो रहेछ मानिसहरू गलको सहायताले जमेको पानी फुटाएर कुलो बनाइदिँदा रहेछन्। घर आँगनमा पानी जम्दा निकै चिप्लो हुने र लडिने डरले निश्चित कुलो बनाएको मानिसहरू बत्ताउँथे। नाग्मबाट मुगु रारा जाने बाटो पूर्ण रुपमा कच्ची रहेछ। ठाउँ ठाउँमा झरेको पहिरो र साँघुरो सडक अनि सडक छेउछाउमा स्याउका पात पनि नभएका नाङगा बोटहरू हेर्दै हामी यात्रा गरिहर्‍यौ।

तिला पछि जुम्लाको हिमा गाउँपालिकाको बाटो हुँदै हामी यात्रा गरिरहेका हुन्छौ। भिरालो जमिनमा कसरी अडियएका होलान् चिटिक्क परेका घर हामी जिज्ञासु भयौ। तर बाध्यता निकै ठुलो पहाड भएको भूभागमा समथर जमिन भेट्न असम्भव नै रहेछ त्यसैले त्यहाँ भिरालो जमिनमै घरहरू निर्माण हुँदा रहेछन्।  बाटोमा साना साना बजार धेरै छन्। बजारका रोचक नामहरू छन्। खस आर्य जातिको उद्गम स्थल सिञ्जा जुम्ला हुँदै यात्रा गर्नुपर्ने हुन्छ। ठाउँ ठाउँमा प्रहरी चेकपोस्ट नेपाल आर्मीको चेकपोस्ट हुँदै हामी मुगु जिल्लाको छायानाथ रारा नगरपालिका पुग्छौ। जहाँ नेपाल आर्मीको संरक्षणमा रहेको रारा ताल छ ताल नजिक हराभरा जङ्गल छ। हामी त्यही जङ्गल नजिक रहेको सानो गाउँबाट गाडी छोडी घोडाको यात्रामा लाग्यौ। तालसम्म पुग्न घोडा चढ्नुको मञ्जा छुट्टै छ। जीवनमै पहिलो पटक घोडा चढ्दा सुरुवा खसीयला कि लडिएला कि भन्ने डर लाग्यो तर सुरुवातीमा डर लागे पनि एक छिनको यात्रा गरेपछि घोडामा सवार गर्न निकै रमाइलो लागेको थियो। घोडे यात्रा मार्फत हामी रारा ताल आसपास भएर झमक्क साझा मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको स्थित मुर्मु होमस्टेमा पुग्यौ।

होमस्टेमा हामी बेलुकाको बास बस्न पुगेका थियौ। रारा ताल नजिकै रहेको होमस्टे बताइए पनि होमस्टेको भन्दा पनि आधुनिक होटलकै सुविधामा त्यहाँ बस्न सकिन्छ। निकै चिसो भएकाले झन्डै आधारात सम्म हामी आगो ताप्दै मिठा मिठा गफ गरेर राराको विशेषता बुझ्दै गयौ। राराको तापक्रम निकै चिसो भएकाले भोलिपल्ट बिहान धारा बाथरुमको बाल्टिनमा रहेको पानी सबै जमेको थियो।

धारा जमेर लौरी टेकेझै भएर बसेको देख्दा हामीलाई निकै अचम्म लाग्यो। अर्को अचम्म बाथ रुममा रहेको बाल्टीको पानी पुरै जमेर ढुङ्गा जस्तै भएछ। हामीत्यही रमाइलोका बिच बिहान करिब ८ बजे त्यहाँबाट रारा ताल तर्फ पैदलै यात्रामा लाग्यौ करिब आधा घण्टाको हिँडाइपछि सुन्दर रारा ताल पुग्यौ।

सिन्धुलीबाट सुर्खेत हुँदै रारा तालसम्मको यात्रा गर्दा जति कठिन र समस्या महसुस हुन्छ त्यो सबै सुन्दर रारा ताल पुगेपछि बिर्साउँछ र आनन्दित महसुस हुन्छ। हो रारा निकै सुन्दर छ।

नेपाली सेनाको संरक्षणमा रहेको रारा तालको सुन्दरता बयान गरेर नसक्ने रहेछ। रारा ताल लाई महेन्द्र ताल पनि भन्ने चलन रहेछ। २९९० मिटरको उचाइ, ५००० मिटरको लम्बाई ३००० मिटरको चौडाइ १६७ मिटर गहिराईको उक्त रारा ताल निलो देखिन्छ मध्यान्ह १२ बजेतिर रारा निकै सुन्दर देखिन्छ। हामी रारा तालमा गएर रमाइलो गर्दै बोटिङ गर्‍यौ र फोटो भिडियो सहित पुन हामी फर्कियौ फर्किदा गाडीसम्म आउनलाई हामीलाई अघिल्लो दिनकै घोडाहरू लिएर तयारी अवस्थामा घोडा धनी आइपुगेका थिए।

घोडामा चढेर राराको ताल नजिक फोटो खिचेपछि हामी फर्कियौ। फर्किदा पश्चिमेली देउडा भाकाहरू गीत गाएर घोडा धनीहरूले हामीलाई निकै रमाइलो यात्रा बनाए। 

यसरी मैले रारा घुम्ने इच्छा पुरा गरे। रारा निकै रमणीय र घुम्नै पर्ने ठाउँ भित्र पर्ने रहेछ। नेपालगजंबाट प्लेनको यात्रा मुगु सदरमुकाम गमगढी गएर रारा जान सकिन्छ तर गाडीमा जाँदा देखिने सुन्दर बस्ती पहाड र जोखिम युक्त बाटोको अवलोकन गर्न गाडीमै यात्रा गर्नुपर्ने मलाई लाग्यो।

प्रकाशित: ११ माघ २०७९ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App