केही अघिसम्म सदरमुकाम बेसीसहर वा नजिकैका बजारहरु खुदी, भुलभुले र ङादीबाट हरिया तरकारी र फलफूल किनेर उपभोग गर्दै आएका उस्ता गाउँका बासिन्दा हिजोआज गाउँबाटै त्यस्ता वस्तु बिक्री गर्न सक्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिका–७ उस्ता गाउँका बासिन्दाले गाउँमै सामूहिक रुपमा हरिया तरकारी फलाउन थालेपछि उनीहरु बिक्री गर्न सक्ने अवस्थामा पुुगेका हुन् । उस्ता र उस्ताबेंसी क्षेत्रका जनजाति, दलित, बिपन्न परिवारका २१ जना कृषकले समूह बनाएर सामूहिक खेती गरेका छन् । गाउँबेंसी पौरखी कृषक समूह गठन गरेर ३५ रोपनी क्षेत्रफलमा मौसम अनुसारका तरकारी फलाउन थालिएको समूहकी अध्यक्ष उमा घले बताउँछिन् । उनका अनुसार, कृषकले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा, बोडीलगायत तरकारी र फलफूल खेती गरिएको छ ।