५ वैशाख २०८१ बुधबार
अन्य

विद्युत् सेवा स्तरीय नहुँँदा पश्चिम लमजुङका उपभोक्ता आक्रोशित

मध्यनेपाल नगरपालिका केन्द्र भोर्लेटार बजार। तस्बिरः किसान संगीत/नागरिक

भोर्लेटार (लमजुङ)– पश्चिम लमजुङ विद्युत् उपभोक्ता समितिले उपलब्ध गराउँदै आएको विद्युतीय सेवा नियमित, गुणस्तरीय र प्रभावकारी हुन नसक्दा उपभोक्ता आक्रोशित भएका छन्।

पटक–पटक बत्ती आउने–जाने, सामान्य हावाहुरी चल्दासमेत तीन–चार दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने, विद्युत् वितरणमा उत्पन्न समस्याको तुरुन्तै समाधान नगरिने जस्ता समस्याले सास्ती भोग्नु परेको भन्दै उपभोक्ता आक्रोशित भएका हुन्।

समस्याका बारेमा पटक–पटक समितिलाई आग्रह गरिएकोमा कुनै सुनुवाइ नभएपछि भोर्लेटार बजारका आक्रोशित उपभोक्ताले उपभोक्ता समितिको कार्यालयमा सोमबार तालाबन्दीसमेत गरेको लमजुङ उद्योग वाणिज्य संघ भोर्लेटार एकाइका सचिवसमेत रहेका उपभोक्ता सरोज पौडेलले बताए।

उपभोक्ताका समस्याप्रति समितिका पदाधिकारी र कर्मचारीहरूले चासो नदिएपछि बाध्य भएर कार्यालयमै तालाबन्दी गरिएको उनी बताउँछन्। ‘दिनमा १५/२० पटकसम्म बत्ती आउने–जाने भइरहन्थ्यो, सुधार होला भन्दै बस्यौं,’ पौडेलले भने, ‘सहनुको पनि हद हुन्छ नि, शुक्रबार साँझ हावाहुरी चलेपछि गएको बत्ती सोमबारसम्म पनि बनाउने खोजी गरिएन र हामीले तालबन्दी गरिदियौं।’

बलिया पोलहरू गाडेर व्यवस्थित तरिकाले विद्युत् वितरण गर्नुपर्नेमा त्यस्तो नहुँदा ठाउँ–ठाउँमा पोल ढल्ने, तारहरू लत्रिने, वितरण लाइनमा धेरै ठाउँमा अवरोध उत्पन्न हुने र पटक–पटक बत्ती आउने–जाने समस्या भएको उपभोक्ताको गुनासो छ। विद्युत् सेवा नियमित हुन नसक्दा छिटो–छिटो बत्ती आउने–जाने हुँदा विद्युतीय दुर्घटनाको जोखिम बढ्नुका साथै बिजुलीको बल्ब, टिभी, फ्रिज, राइसकुकर, पंखालगायतका विद्युतीय सामग्री सर्ट हुने समस्या भोग्नुपरेको गुनासोसमेत उपभोक्ताले गरेका छन्।

नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा विद्युत् निर्भर सेवा प्रदायक संस्था र व्यवसायीलाई समेत निकै मर्का परेको बताइएको छ। फर्निचर उद्योग, ग्रिल उद्योग, इन्टरनेट वितरक संस्था, होटल व्यवसाय, माछा–मासु बिक्रेता, दुग्धजन्य वस्तु, चिसो पेय पदार्थ बिक्रेता तथा विद्यालयमा समेत विद्युत् सेवा उपलब्ध नहुँदा सास्ती भोग्नु परेको बताइएको छ। गर्मीको समयमा बत्ती नहुँदा पंखा चलाउन नपाउँदा विद्यार्थीले दुःख पाएको र पठनपाठन सामग्रीको समेत प्रयोग गर्न समस्या भएको त्यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालय प्रशासनको भनाइ छ।

भोर्लेटार बजारका आक्रोशित उपभोक्ताले पश्चिम लमजुङ विद्युत् उपभोक्ता समितिको कार्यालयमा सोमबार तालाबन्दी गरेका छन्।


विद्युत् सेवा स्तरीय र प्रभावकारी नभएपछि विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र सर्वसाधरण उपभोक्ताले विद्युत् समितिलाई विभिन्न १२ बुँदे मागपत्र पेस गरेका छन्। मागपत्रमा एचटी लाइनको मर्मतसम्भार गर्नुपर्ने, प्राविधिकलाई व्यवस्थित गरी परिचालन गर्नुपर्ने, कर्मचारीलाई चौबिसै घण्टा परिचालन गर्नुपर्ने, एलटी लाइनमा फलामे पोलको व्यवस्था गर्नुपर्ने, लत्रिएको तार तन्काएर जीर्ण पोलहरू फेर्नुपर्ने, मिटर रिडिङसमेत नियमित नभएकाले नियमित गर्नुपर्ने, वितरण लाइनआसपासका रूखपातका अवरोध हटाउनुपर्ने, आवश्यक स्थानमा ‘थ्री फेज’ लाइनको व्यवस्था गर्नुपर्ने र समुदायले स्तरीय सेवा दिन नसके समिति भंग गरेर पुनः प्राधिकरणलाई जिम्मा लगाउनुपर्ने जस्ता मागहरू समेटिएको बौद्ध सेवा समाज भोर्लेटारका सचिव नरबहादुर दुराले जानकारी दिए।

लमजुङ उद्योग वाणिज्य संघ भोर्लेटार एकाइ, बौद्ध समाज, भोर्लेटार खानेपानी तथा उपभोक्ता समिति, दि युनाइटेड युवा क्लब, बाघमारे, रानी रिङ्ने, रानीवन फलामे डाँडा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिलगायतका संस्था र सर्वसाधारण उपभोक्ताले हस्ताक्षर गर्दै समिति समक्ष गुणस्तरीय र प्रभावकारी विद्युतीय सेवाको माग गरेका हुन्।

मागपत्रका सम्बन्धमा मंगलबार विद्युत् उपभोक्ता समिति, मध्यनेपालका नगरप्रमुखलगायत जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र उपभोक्तालगायत सरोकारवालाबीच सर्वपक्षीय बैठक गरी सुनुवाइको प्रयास गरिएको पश्चिम लमजुङ विद्युत् उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर दुराले बताए।

मागपत्रमा समेटिएका सबै बुँदाहरू उपभोक्ता र स्वयं समितिको हितमा रहेको बताउँदै विद्युत् वितरण, मर्मतसम्भार, संरचना निर्माण तथा व्यवस्थापन, कर्मचारी परिचालन सबै पक्षलाई व्यवस्थित बनाउन भरपुर प्रयास गर्ने प्रतिबद्धता समितिले जनाएको अध्यक्ष दुराले जनाए। ‘उपभोक्ताले जे गरेका छन्, त्यसलाई हामीले अन्यथा लिएका छैनौं,’ दुराले भने, ‘तालबन्दी नै समस्याको समाधान त होइन तर जनप्रतिनिधि, संघसंस्थाका जिम्मेवार व्यक्ति र उपभोक्ताकै सहयोग अनि सहकार्यबाट विद्युत् सेवालाई प्रभावकारी बनाउँछौं।’

सर्वपक्षीय बैठकमा सहभागी मध्यनेपाल नगरपालिका प्रमुख रमेश पाण्डेले समितिले गरेको प्रतिबद्धताप्रति सबै पक्ष विश्वस्त भएको बताउँदै अत्यावश्यक सेवालाई प्रभावकारी बनाउन आवश्यक परे नगरले सहयोग उपलब्ध गराउने वचन दिएको समेत बताए।

सर्वपक्षीय बैठकपछि मंगलबार दिउँसोदेखि भने समितिको कार्यालयमा गरिएको तालाबन्दी खुलाइएको समितिका कार्यालय प्रमुख एवं लेखापाल धु्रवकुमार पराजुलीले बताए। उनका अनुसार सो समितिले मध्यनेपाल नगरपालिकाका भोर्लेटार, करापु, बाँग्रे र नेटा, सुन्दरबजार नगरपालिकाका धुसेनी र सिन्दुरे अनि बेसीसहर नगरपालिकाका पुरानोकोट र नाल्मा गरी साविक आठ गाविसका तीन हजार ६ सय ५० परिवारका झन्डै पाँच हजार बढी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ। सवारी साधनलगायत अन्य आवश्यक स्रोतसाधन र दक्ष प्राविधिक कर्मचारीको अभावमा स्तरीय कार्यसम्पादन गर्न नसकिएको पराजुलीको भनाइ छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App