८ वैशाख २०८१ शनिबार
कला

बेसीसहरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी

लमजुङ - बेसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तर्राष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ । मंगलबार काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा फिल्मसिटी निमार्णका लागि स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर भएसँगै बेसीसहरमा ‘वल्र्डस्काई सिने भिलेज’ नामको फिल्मसिटी बन्ने निश्चित भएको बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटा, नगरप्रमुख अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारीलगायतको रोहबरमा दुई कम्पनीका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

निर्माण कम्पनी दर्ता गरी नौ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अन्य काम प्रक्रियागत ढंगले गर्दै जाने नगरप्रमुख अर्यालले बताए । नगरले आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय र पर्यावरणीय महŒवले भरिपूर्ण सो क्षेत्रमा पार्क वा फिल्म सुटिङ पार्क निर्माण गर्ने सोचका साथ छलफल अघि बढाउँदै जाँदा अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी निर्माण हुने भएको हो ।

चारदेखि पाँच वर्षमा सम्पन्न गरिने फिल्मसिटी निर्माणका लागि पाँच अर्ब ९० करोड रुपैयाँ लाग्ने जनाइएको छ । फिल्मसिटी निर्माणसँगै अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त चलचित्र छायांकन र सम्पादन स्टुडियोको सुविधा उपलब्ध हुने स्काई इन्टरटेन्मेन्टका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सो क्षेत्रमा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधारसमेत निर्माण गरिनेछ । यसबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना हुनुका साथै सरकारलाई राजस्वसमेत प्राप्त हुने उनको भनाइ छ ।

मिलेको भौगोलिक अवस्थिति, अधिकांश भूभागमा जंगल, बीच–बीचमा फराकिला खर्क, खुला मैदान, त्यहाँबाट देखिने हिमाली दृश्य, स्थानीय जनजीवन, रहनसहन, परिवेश, वातावरणीय र पर्यावरणीय अवस्था सबै हिसाबले सो क्षेत्र फिल्मसिटी निर्माणका लागि उपयुक्त देखिएको प्रतिक्रिया पाएको नगरप्रमुखले बताए ।

प्रस्तावित सो क्षेत्र समुद्री सतहदेखि २०१६ मिटरको उचाइको आसपास पाँच सय रोपनी क्षेत्रफलमा फैलिएको फिल्मीसिटी निर्माण हुने भएपछि विश्वकै सर्वाधिक उचाइको फिल्मसिटी हुने भएकाले पनि आफूहरू थप उत्साहित भएको स्काई इन्टरटेन्मेन्टका अध्यक्ष अधिकारीको भनाइ छ । विश्व चर्चित् अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारमा रहेको, काठमाडौं, चितवन, पोखराजस्ता ठूला सहरबाट नजिकै रहेको, विश्वका अन्य फिल्मसिटीभन्दा फरक र मौलिक शैलीमा निर्माण गर्न सकिनेजस्ता कारणले पनि साथ दिएको उनको भनाइ छ ।

नेपालकै पहिलो, विश्वकै सर्वाधिक उचाइमा रहेको फिल्मसिटी, सरकार स्वयंको योजनाको क्षेत्रभित्र परेको, नगरपालिका, वडा तथा स्थानीय बासिन्दा सकरात्मक र उत्साहित रहेको जस्ता थुप्रै पक्षले साथ दिएको नेपाली र इटालियन कम्पनीका को–अर्डिनेटर राजेशकुमार पुरीले बताए । सरोकारवालासँगको सहकार्यमा नगरको ३, ४ र ५ नम्बर वडामा अवस्थित गाउँसहर–पुरानोकोट–बाख्रेजगत–शितलेश्वाँरा क्षेत्र समेट्दै अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी निर्माण गरिन लागेको हो ।

प्रकाशित: २० असार २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App